बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट आएको ८ लाख डोज खोप कसले लगाउन पाउँछन् ?

सोमबार, १६ चैत २०७७, २१ : २०
सोमबार, १६ चैत २०७७

काठमाडौं । चीन सरकारले नेपाललाई अनुदान सहयोगस्वरुप प्रदान गरेको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोप नेपालले ८ लाख डोज प्राप्त गरेको हो । बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट खोप लिएर नेपाल एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा आइपुगेको छ ।

चीन सरकारले फागुन १७ गते नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’को १० लाख डोज खोप नेपालले भारत सरकारको अनुदान सहयोगमा प्राप्त गरिसकेको छ ।

भेरोसेल खोपको दोस्रो मात्रा कति दिनको फरकमा लगाउने ?

चिनियाँ सरकारी कम्पनी सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल खोप २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारी बताउँछन् ।

कोभिसिल्ड खोपझैं भेरोसेल खोप पनि दुई डोज लगाउनुपर्छ । पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र भेरोसेल खोपको अर्को मात्रा लगाउनुपर्ने हुन्छ ।

नेपालले अहिलेसम्म कति खोप प्राप्त ग-यो ?

सरकारले पहिलो चरणमा भारत सरकारको अनुदानमा १० लाख डोज, नेपाल सरकार आफैले किनेर १० लाख डोज र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज गरी कुल २३ लाख ४८ हजार डोज खोप प्राप्त गरिसकेको छ ।

यस्तै, चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको ८ लाख डोज खोप पनि आइसकेको छ ।

 


अब कस्तालाई खोप लगाइन्छ ?

गत माघ १४ गतेदेखि सरकारले नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको हो । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरुका लागि खोप लगाइएको थियो ।

पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई यो खोप लगाइयो । त्यसपछि पनि पटकपटक गरी हालसम्म करिब १६ लाख जनाले कोभिसिल्ड खोप लगाइसकेका छन् ।

दुई डोज लगाउनुपर्ने कोभिसिल्ड खोप पहिलोपटक लगाएको ८ देखि १२ साताभित्र अर्को डोज लगाइदिने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप वैशाख ७ गतेदेखि १४ गतेसम्म दिने भएको छ । 

चैत ४ गतेदेखि ५५ देखि ६५ वर्ष उमेर समूहका मानिसलाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप दिने भने पनि सरकारले  खोप अभाव देखाउँदै पछाडि हट्यो ।

सोमबार चीनबाट प्राप्त भेरोसेल खोप कुन समूह र कस्ता व्यक्तिलाई लगाउने भन्नेबारे मन्त्रालयले अझै निर्णय गरिसकेको छैन । मन्त्रालयका अनुसार चिनियाँ खोप कुन वर्गलाई कसरी लगाउने भन्नेबारे चाँडै निर्णय गरिनेछ ।

कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपभन्दा भेरोसेल खोप प्रभावकारी भएको विभिन्न अध्ययनहरूले देखाएको छ । कोभिसिल्ड खोप हाल नेपालले एजेन्टमार्फत खरिद गर्दा प्रतिडोज ६ डलर पर्न आउँछ भने भेरोसेल खोप झण्डै ५० डलर पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप