बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चैतमा पनि चिसो, मौसमविद् भन्छन्– ठुलै हुरी वा पानी नपरेसम्म मौसम सुधार हुँदैन

सोमबार, १६ चैत २०७७, १२ : ५९
सोमबार, १६ चैत २०७७

काठमाडौं । केहीदिन यता काठमाडौं उपत्यकाको अधिकतम तापक्रममा कमी आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँच दिन अघि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियस पुगेकोमा अहिले घटेर अहिले घटेर २५ देखि २७ डिग्री सेल्सियसको हाराहारीमा सीमित छ ।

महाशाखाका मौसमविद् वरुण पौडेल काठमाडौं उपत्यकाको वायुमण्डलको तल्लो भागमा तुवाँलो, त्योभन्दा माथि बादल र केही धुलोका कणसमेत रहेका कारण घाम राम्ररी लाग्न नसक्दा तापक्रम घटेको बताउँछन् । उनका अनुसार तराई तथा हिमाली क्षेत्रमा खासै समस्या नदेखिए पनि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा भने वायुमण्डल धुम्मिएका कारण तापक्रम घटेको हो । ‘मुख्यतया वायुमण्डलको तल्लो तहमा धुवाँ छ, त्योभन्दा माथि बादल र भारतबाट आएका केही धुलोका कण छन्,’ उनले भने, ‘त्यसले गर्दा घामलाई छेकिएको छ । घाम छेकिएपछि स्वाभाविक रुपमा तापक्रम घटेको हो ।’

मंगलबारबाट यो अवस्थामा केही सुधार आउने भए पनि पूर्ण रुपमा सुधार आउन समय लाग्नेछ । ‘यो अवस्थामा पूर्ण सुधार आउन कि त ठूलै हुरी चल्नुपर्छ, कि त ठूलै पानी पर्नुपर्छ,’ उनले भने, ‘उपत्यकामाथिको वायुमण्डल एकप्रकारले जाम भएको छ, त्यसलाई हुरीले हटाएमा वा ठूलै वर्षा भएर बादल तथा धुलोका कणलाई हटाएमा मात्र पूर्ण रुपमा सुधार हुने देखिन्छ ।’

उनका अनुसार अहिलेसम्म ‘प्रि–मनसुन’ सक्रिय भएको छैन । अहिले वायुमण्डलमा देखिएको समस्या प्रि–मनसुन सक्रिय भएपछि मात्र पूर्ण रुपमा हट्ने उनको भनाइ छ । यसका लागि चैत अन्तिम वा वैशाख नै लाग्नसक्ने समेत उनले बताए ।

डढेलोले बढायो समस्या

केहीदिन यता देशमा डढेलोको संख्या निकै बढेको छ । गत वर्ष डढेलो कम हुँदा वन जंगलमा थुप्रिएका पात–पतिङ्गरलाई लामो खडेरीले इन्धनसरह तुल्याएको र आगोको सानो झिल्का भेट्नासाथ ती पात–पतिङ्गर जलेर ठुलो डढेलोको रुप धारण गर्ने अवस्थामा पुगेका कारण पनि यो वर्ष डढेलोको संख्या बढेको डढेलो नियन्त्रण विज्ञ सुन्दर प्रसाद शर्मा बताउँछन् ।

ठाउँठाउँमा डढेलो लागेका कारण धुँवा रुमल्लिएर उपत्यकाको वायुमण्डलको तल्लो सतहमा जम्मा भएपछि केहीदिन यता काठमाडौं उपत्यकामा राम्ररी घाम लाग्न सकेको छैन ।

हावाको बहावसमेत नहुँदा वायुमण्डलमा बादल, धुवाँ र धुलोका कण स्थिर भएर बसेका कारण राम्रोसँग सूर्यको प्रकाश छिर्न नसक्दा केहीदिन यता उपत्यकाको तापक्रममा गिरावट आएको मौसमविद् पौडेल बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप