बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारः १ सयभन्दा बढी प्रदर्शनकारी मारिएको रात सैनिक जनरलहरु पार्टीमा मस्त

आइतबार, १५ चैत २०७७, २१ : ४२
आइतबार, १५ चैत २०७७

म्यानमारमा भएको सैन्य ‘कू’को विरोधमा शनिबार प्रदर्शनमा उत्रिएका १ सयभन्दा बढी सर्वसाधारणको हत्याको सर्वत्र विरोध भइरहेको छ । विश्वका १२ देशका रक्षामन्त्रीहरुले वक्तव्य नै जारी गर्दै उक्त घटनाको भत्सर्ना गरेका छन् । फेब्रुअरीमा गरिएको ‘कू’ यता शनिबार हालसम्मकै हिंसात्मक दिन बनेको थियो ।

यता, ‘कू’ को नेतृत्व गरेका मिन आउङ ह्लाइङ र अन्य जनरलहरूले भने सो रात भव्य पार्टी आयोजना गरेको बीबीसीले जनाएको छ । शनिबार राति वार्षिकरुपमा मनाइने एनुअल आर्म्ड फोर्सेस डे को अवसरमा भव्य पार्टीको आयोजना गरिएको थियो । सन् १९४५ मा जापानले देशमा कब्जा जमाएपछि शुरु गरिएको सैन्य विद्रोहको सम्झनामा यो दिनलाई मनाउने गरिन्छ ।

राज्यद्वारा सञ्चालित टेलिभिजनबाट साभार गरेर सामाजिक सञ्जालमा सेयर गरिएका तस्विरहरुमा सैन्य अधिकारीहरु उक्त पार्टीमा भाग लिइरहेको देख्न सकिन्छ । जनरल मिन आउङ ह्लाइङलाई सेतो युनिफर्ममा रेड कार्पेटमा मुस्कुराउँदै हिँडिरहेको पनि देख्न सकिन्छ । त्यस्तै, भव्य डिनर कार्यक्रमका दृश्यहरु पनि समाजिक सञ्जालमा ब्यापक सेयर भएका छन् । सेनाको उक्त कार्यको ब्यापक आलोचना भइरहेको छ ।

शनिबार बिहान सैन्य परेडको पनि आयोजना गरिएको जसमा जनरल मिनले आफूले प्रजातन्त्रको रक्षा गर्न चाहेको उल्लेख गर्दै हिंस्रक गतिविधि गर्नेहरुलाई चेतावनी दिएका थिए । उक्त कार्यक्रममा रुस, चीन, भारत, पाकिस्तान, बंगलादेश, भियतनाम, लाओस र थाइल्याण्डका प्रतिनिधिहरुले भाग लिएका थिए ।

आइतबार एक दिनअघि मारिएका प्रदर्शनकारीहरुको अन्त्येष्टि आयोजना गरिएको थियो । सैनिकहरुले उक्त कार्यक्रममा समेत हस्तक्षेप गरेको खबरहरु प्रकाशित भएका छन् । हालसम्म विरोध प्रदर्शनमा मारिनेको संख्या ४ सय नाघिसकेको छ ।

दक्षिण पूर्वी एसियाली राष्ट्रमा गत वर्ष भएको निर्वाचनमा आङ सान सूचीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले बहुमत हासिल गरेको थियो । तर, सेनाले उक्त निर्वाचनमा धाँधली भएको भन्दै शासन सत्ता आफ्नो हातमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप