शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काकाकुल काठमाडौँको तिर्खा मेट्न आइपुग्यो मेलम्चीको पानी (फोटो/भिडियो)

पानी सिधै पिउन सकिने, मूल्य पछि निर्धारण हुने
आइतबार, १५ चैत २०७७, १९ : ४९
आइतबार, १५ चैत २०७७

काठमाडौँ चुच्चेपाटीमा सुमित्रा भण्डारीले मेलम्चीको पानी काठमाडौँको पाइपलाइनमा छोडिएको थाहा पाएपछि हत्तपत्त धारातिर दौडिइन् । धारा खोलेर पानी पिउँदै गर्दा उनको मुहारमा खुसीयाली स्पष्ट देखिन्थ्यो । उनले सधैँभरी यसरी नै घरको धारामा पानी आए धेरै राम्रो हुने बताइन् । ‘यसरी सधैँ पानी आए त बाहिर दुःख गरेर लिन जानुपर्दैन थियो,’ उनले आफ्नो दुःख बिसाइन्, ‘पहिले दुई तिन दिन बिराएर दिनमा २ घण्टा पानी आउँथ्यो । अब मेलम्चीको पानी आएपछि त दिनहुँ आउँला नी ?’ अब पानीको समस्या नहोला भन्ने उनले आशा व्यक्त गरिन् ।

चुच्चेपाटीकै माधव डङ्गोल पनि मेलम्चीको पानी धाराबाट झर्दा खुसी ब्यक्त गरे । उनले भने–‘यसरी पानी झर्दा त खुसी नै लागिरहेको छ । सधैँभरी यसरी नै पानी आइरहे त राम्रै हो । पहिलेजस्तो नहोस ।’ पहिले ३ दिनमा २ घण्टा पानी पानी आउँदा समस्या भएको बताउँदै उनले ड्रममा पानी भरेर राख्नुपर्ने अवस्था रहेको बताए । उनले भने–‘अब सधैंभरी यसरी नै पानी आयो भने ड्रममा भरेर राख्नुपरेन । समस्याको हल भयो ।’

सन्तोष थापा महाङ्कालको सडक छेउमा रहेको धारामा होली खेलेपछि हातमुख धोइरहेका थिए । आधा घण्टा अगाडि मात्रै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीबाट आएको पानी वितरणका लागि पाइपलाइनमा पानी छोडेको थियो । सिन्धुपाल्चोक थाङ्पालधापका स्थानीय र हाल काठमाडौं बस्ने सन्तोष थापाले आफ्नो गाउँको पानी काठमाडौँबासीले खान पाउने भएकाले खुसी लागेको बताए ।

यसरी उपभोक्ताको धारामा पानी छोड्नुअघि केयुकेएल महाङ्काल शाखाले पानी ट्याङ्कीमा मेलम्चीबाट आएको पानी जम्मा गरेर बितरण प्रणालीमा पठाउने कार्यक्रम गरेको थियो ।

होली पर्वका दिन पारेर महाङ्कलस्थित पानी ट्याङ्कीबाट भल्भ खोलेर केयूकेयलका कार्यकारी निर्देशक मिलन कुमार शाक्य, काठमाडौँ खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीव विक्रम राणा, महाङ्कल चौर शाखा प्रमुख उमेश मरहट्टा र खानेपानी सञ्चालन विभाग प्रमुख सतिश दत्तले एकैसाथ भल्भको साँचो घुमाएर ट्याङ्कीमा भण्डारण गरिएको पानी वितरण प्रणालीमा पानी पठाएका हुन् ।

दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म चाबहिल, मित्रपार्क, बत्तीसपुतली, सरस्वती, मैजुबहाल, एयरपोर्ट, जय बागेश्वरी क्षेत्रमा पानी पठाइएको छ भने राती ८ बजेदेखि १२ बजेसम्म अनामनगर, घट्टेकुलो, डिल्ली बजार क्षेत्रमा पानी वितरणको तालिका बनाइएको छ ।

मेलम्चीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र हुँदै काठमाडौंका विभिन्न पानी संकलन तथा प्रशोधन केन्द्र हुँदै उपभोक्ताको धारमा पुगेपछि वर्षौदेखि मेलम्चीको पानी पिउने काठमाडौंबासीको प्रतिक्षाको घडी समाप्त भएको छ ।

शुरुमा प्रतिदिन ४ करोड लिटर, चौथो चरणमा १७ करोड लिटर

मेलम्चीको पानी काठमाडौं प्रवेश गरेपछि पानी वितरण गर्ने निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आलोपालो प्रणाली अनुसार पानी वितरण गर्ने भएको छ ।

आइतबारदेखि पानी उपभोक्ताको घरमा पठाउन थालेसँगै प्रतिदिन ४ करोड लिटर पानी वितरण हुँदैछ । सकेसम्म दैनिक रुपमा र नसके तालिका अनुसार पानी वितरण गरिनेछ । कुनै ग्राहकको घरमा पानी नपुगेमा वा कुनै स्थानमा समस्या भएमा ¥यापिड रेस्पोन्स टिम तयार पारिएको छ ।

पहिलो चरणमा चावहिल महाङ्कलमा रहेको पुरानो पानी पोखरी, अनामनगरमा रहेको ओभरहेड ट्याङ्की, मिनभवनको ओभरहेड ट्याङ्की र खुमलटारको नयाँ पानी पोखरीमा पानी जम्मा गर्न सुरु भएको छ । यस्तै खुमलटारको पोखरीबाट पनि पानी वितरण थालिएको छ । आजदेखि परिक्षण गर्दै हेर्दैै जाने र पर्सीदेखि साँढे ६ करोड लिटर पानी वितरण गर्ने योजना रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक मिलन कुमार शाक्यले जानकारी दिए । त्यसका लागि बालाजुमा रहेको पानी पोखरीमा पानी भण्डारण गरिने छ । यस्तै साँढे ८ करोड लिटर पानी ल्याउँदा बाँसबारी र महाराजगञ्जको पोखरीमा पानी राख्ने योजना रहेको छ ।

मेलम्चीको पानी आउँदा पनि दैनिक १८ करोड लिटर पानी अभाव

यतिबेला काठमाडौं उपत्यकाबासीको दैनिक पानीको माग ४३ करोड लिटर रहेको छ । अहिले केयूकेयलले वितरण गरिरहेको दैनिक ८ लाख लिटर र त्यसमा १७ करोड लिटर थपिँदा २५ करोड लिटर मात्र हुनेछ । यो हिसावले मेलम्चीको पानी आउँदा अझैपनि १८ लिटर पानी अपुग हुने देखिन्छ । केयूकेयलका कार्यकारी निर्देशक शाक्य भन्छन्–‘हामीले चाहेर पनि अहिले २४ सै घण्टा पानी वितरण गर्न सक्ने अवस्था छैन । चाहेर पनि हामीले काठमाडौंका सबै ठाउँमा पानी वितरण गर्न सक्ने अवस्था छैन् । पुरानो पोखरीबाट निस्किएका पाइपलाइनहरु साना र पुराना भएका कारण पनि पानी वितरणमा समस्या छ । त्यो लाइनमा हामीले दिनभरी नै पानी दिँदा पनि घरका सबै धारामा पुग्न समस्या छ ।’

छिट्टै नै मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । दोश्रो चरणमा याङ्ग्री र लार्केको ३४ करोड गरी ५१ करोड लिटर पानी ल्याइने योजना छ । तर अहिले पहिलो चरणमा प्रतिदिन ४ करोड लिटर प्रतिदिन, दोश्रो चरणमा ६ करोड लिटर प्रतिदिन तेश्रो चरणमा साँढे ८ करोड र चौथो चरणमा १७ करोड लिटर पानी वितरण गर्ने योजना रहेको छ । 

समस्या आएमा तत्काल समाधानका लागि टिम

केयूकेएलले पानी वितरण थालेसँगै हरेक पानी सङ्कलन केन्द्रका लागि छुट्टा–छुट्टै टोली बनाएको छ । पानी वितरण केन्द्रका सबै क्षेत्रका शाखा प्रमुखसँग छलफल गरेरकहाँ–कहाँ के समस्या छ त्यो हेरेर अगाडि बढ्ने शाक्यले जानकारी दिए ।

हरेक शाखाको छुट्टा–छुट्टै फेसबुक एकाउन्ट खोलेर त्यसबाट पानी वितरणको विवरण सार्वजनिक गर्ने योजना बनाइएको छ । यस्तै केयूकेएलको एप्लिकेशनबाट पनि पानी वितरणबारे जानकारी दिइने र कुनै ठाउँमा पानी लिकेज भएको छ भने फोटो खिचेर अपलोड गरेमा तुरुन्तै मर्मत गरिने उनले बताए ।

पानी सिधै पिउन सकिने, मूल्य पछि निर्धारण हुने

मेलम्चीबाट आएको पानी सिधै पिउन सकिने बताइएको छ । पानी प्रशोधन गर्ने र  ल्याब टेष्ट मात्र वितरण प्रणालीमा पठाइने केयूकेएलले जनाएको छ । यस्तै पानी वितरणको परिक्षण सफल भएपछि मात्रै शूल्क निर्धारणको तयारी गरिएको छ ।

केयूकेयलका कार्यकारी निर्देशक शाक्यले भने–‘अहिले १० हजार लिटरका लागि १ सय ५० रुपैयाँ महशुल साह्रै सस्तो भयो भन्ने कुरा पनि आएको छ । पैसा तिर्न आउन मात्रै पनि २ सय रुपैयाँ खर्च हुन्छ । तपाईहरुले १ सय ५० रुपैयाँमा कसरी सेवा दिइरहनुभएको छ ? बरु तपाईंहरु पैसा बढाउनुस्, सेवा सुविधा छिटो छरितो गर्नुस् भन्ने कुरा आएको छ ।’

शाक्यले न्यून आय हुनेहरुका लागि कम हुनेगरी न्यायोचित र प्रगतिशील ढंगले शूल्क निर्धारण गर्ने जानकारी गराए । 

उनले भने–‘सबैभन्दा पहिला हाम्रा उपभोक्तालाई राम्रोसँग पानी दिउँ त्यसपछि शुल्कमा पुनर्विचार गरौँला भन्ने हाम्रो सोच छ । लामो समयसम्म पानी नआएकोले सबैभन्दा पहिला ग्राहकलाई पानी पठाएर उहाँहरुलाई खुसी बनाएर मात्र पानीको शूल्क तोक्ने कि भन्ने विचारमा रहेका छौँ ।’

 


 

अनामनगरमा २४ सै घण्टा पानी

पाइलट प्रोजेक्टका रुपमा अनामनगर क्षेत्रमा २४ सै घण्टा पानी छोडिन लागिएको कार्यक्रममा शाक्यले जानकारी दिए । पुरै दिन पानी छोड्दा खेरी त्यहाँ कस्तो किसिमको चुहावट हुन सक्छ । उपभोक्ताहरूले पनि त्यसलाई कसरी उपभोग गर्न सक्छन् त्यसको अध्ययन गर्नका लागि यो योजना अघि सारिएको उनले बताए ।

उनले भने–‘वर्षौ वर्षदेखि पानी नआउँदा हाम्रो आदत नै अर्कै भइसकेको छ । अब २४ सै घण्टा पानी दिँदा त्यो आदत नै परिवर्तन हुन्छ र खपत कस्तो हुन्छ भन्ने कुरा त्यहाँबाट देखिने हुँदा पाइलट प्रोजेक्टका रुपमा ५ सय १० वटा नयाँ धारा सहित १६ सय धारा राखिएको छ ।’

यो योजनाका लागि कार्यान्वयन इकाईले नयाँ पाइपलाइन राखेर नयाँ धारा जोडेको छ । यसबाट कति चुहावट हुन्छ कति खपत हुन्छ त्यसको अध्ययन गर्न सकिने शाक्यले जानकारी दिए ।

अहिले एउटा धारामा दैनिक १ हजार लिटर पानी छोड्ने योजना रहेको छ । एउटा धारामा १० जना आश्रित रहन्छन् भने एकजनाले प्रतिदिन १ सय लिटर पानी पाउनेछन् ।

यस्तै मेलम्ची आयोजना कार्यान्वयन इकाईले विस्तार गरेको पानी वितरण प्रणालीको पनि परिक्षण गर्दै जाने योजना रहेको छ ।

मेलम्चीबाट अब छिट्टै दैनिक १७ करोड लिटर पानी आउनेछ । दोश्रो चरणमा याङ्ग्री र लार्केको ३४ करोड गरी ५१ करोड लिटर पानी ल्याइने योजना छ । याङ्ग्री र लार्के परियोजनाको काम कहिले सकिने भन्ने टुङ्गो छैन । अहिले पहिलो चरणमा प्रतिदिन ४ करोड लिटर प्रतिदिन, दोश्रो चरणमा ६ करोड लिटर प्रतिदिन तेश्रो चरणमा साढे ८ करोड र चौथो चरणमा १७ करोड लिटर पानी वितरण गर्ने केयूकेयलको योजना छ ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप