शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी कम्पनीको सेयर मूल्य किन हुन्छ सर्वाधिक महँगो ?

आइतबार, १५ चैत २०७७, २१ : ३४
आइतबार, १५ चैत २०७७


सेयर बजारमा अहिले कुनै कम्पनीको सेयर मूल्य सर्वाधिक महँगो छ भने त्यो हो युनिलिभर कम्पनी । बहुराष्ट्रिय कम्पनी युनिलिभरको सेयर मूल्य अकस्मात बढेर सर्वाधिक महँगो भएको भने होइन । सेयर बजारमा महँगो सेयर भएको कम्पनीको सूचीमा लामो समयदेखि युनिलिभर रहँदै आएको छ । हाल यसको सेयर मूल्य १९ हजार ९ सय रुपैयाँ छ । कुनै समयमा यसको सेयर मूल्य ३५ हजार पार गरेको थियो । नेपाल स्टक एक्सचेन्जमा युनिलिभरको ९ लाख २० हजार सात सय कित्ता सेयर सूचीकृत छ । यसको बजार पुँजीकरण १८ अर्ब ३२ करोड १९ लाख ३० हजार रुपैयाँ पुगेको छ । सिमित सेयर भएकाले यसको प्रतिफल खानका लागि पनि लगानीकर्ताले बिक्री गर्दैनन् ।

अहिले कम्पनीको प्रतिसेयर आम्दानीमा भने ठूलो गिरावट आएको छ । गत वर्ष ९ सय ७२ रुपैयाँ (वार्षिक) रहेको यसको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको दोस्रो  त्रैमासमा घटेर १ सय ३७ रुपैयाँ (वार्षिक) मा झरेको छ । यसले गत वर्षको नाफाबाट आफ्ना सेयर धनीलाई प्रतिकित्ता सय रुपैयाँ दरले नगद लाभांश दिएको छ ।

यता, राष्ट्रिय बिमा कम्पनी पनि महंगो सेयर भएको कम्पनी हो । यो दोस्रो महँगो सेयर हो । हाल यसको सेयर मूल्य १८ हजार सात सय रुपैयाँ छ । हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो दोस्रो त्रैमाससम्मको अवस्था हो । यसको प्रतिसेयर आम्दानी १ सय ३ रुपैयाँ ८६ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १ हजार २ सय ३९ रुपैयाँ १ पैसा छ ।

नेप्सेमा राष्ट्रिय बिमा कम्पनीको २६ लाख ६६ हजार ३ सय ३५ कित्ता सेयर सूचीकृत छ । यसको बजार पूँजीकरण ४९ अर्ब ८६ करोड १० लाख २५ हजार ५ सय रुपैयाँ छ ।

अर्को महँगो सेयर भएको साल्ट ट्रेडिङ कम्पनी हो । यसको सेयर मूल्य अहिले १३ हजार २ सय ३५ रुपैयाँ प्रतिकित्ता छ । यसले लगानीकर्तालाई अघिल्लो वर्ष ३५ प्रतिशत लाभांश दिएको थियो । साल्ट ट्रेडिङको  १९ लाख २० हजार २ सय ४६ कित्ता सेयर सूचीकृत छ । २५ अर्ब ४१ करोड ४४ लाख ५५ हजार ८ सय १० रुपैयाँ बजार पुँजीकरण छ ।

यता बोटलर्स नेपाल तराईको पनि सेयर मूल्य साढे ९ हजार प्रतिकित्ता छ । यो कोकाकोला उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो । हिमालयन डिस्टिलरीको सेयरको बजार मूल्य ४ हजार १ सय ५०  रुपैयाँ छ । चालु आर्थिक वर्षको ६ महिनासम्मको वित्तीय अवस्थालाई हेर्दा यसको वार्षिक प्रतिसेयर आम्दानी ९१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ५६ रुपैयाँ ८३ पैसा रहेको छ । नेप्सेमा यसको ८६ लाख ७ठ हजार कित्ता सेयर सूचीकृत छ । महँगा सेयर भएपनि यी कम्पनीहरुले दिने प्रतिफल भने आकर्षक देखिदैन ।

सिमित लगानीकर्ताको हातमा महँगो सेयर, मूल्य आफै बढाउँछन् : विज्ञ डा. श्रेष्ठ 

यी कम्पनीको सेयर सिमित लगानीकर्ताको हातमा मात्र भएकाले उनीहरुले मूल्य आफै बढाउने सेयर बजारका जानकार डा. केशव श्रेष्ठ बताउँछन् ।  राष्ट्रिय बिमा कम्पनी  र साल्ट ट्रेडिङ कम्पनी सरकारी स्वामित्वका कम्पनी हुन् । यसको सप्लाइ सिमित छ । यता साल्ट ट्रेडिङको पनि सिमित सप्लाइ छ ।

साल्ट ट्रेडिङ र बिमा संस्थानको सेयरको माग र आपूर्तिको सन्तुलन मिल्न नसकेको डा. श्रेष्ठको बुझाइ छ । सप्लाइ कम हुँदा आर्कषण बढी भइ मूल्य बृद्धिमा सधै महँगो सेयरमा यी कम्पनीको सेयर गणना हुने गरेको उनको तर्क छ ।

हुन त नराम्रो कम्पनीको पनि लाभांश नदिएकै कारण उसको सेयर मूल्यमा खासै गिरावट आउँदैन । लगानीकर्ताले अर्को वर्ष दोब्बर लाभांश पाउने आश गर्छन्  । बोनस सेयर र हकप्रदका कारण पनि सेयरको मूल्य खासै घट्दैन ।

बोटलर्स नेपाल तराईको पनि सप्लाई कम छ र लाभांशको तालमेल छ । युनिलिभर​को सेयर मानिसले धेरै किन्न सक्दैनन् । यसको सेयर पनि सिमित मानिसको हातमा छ । मूल्यको कारणले सप्लाई कम छ । युनिलिभर मूल्य हल्लाहल्लामै नजानीकन बढेको विज्ञ श्रेष्ठ बताउँछन् । यी कम्पनीहरुको सेयर खासै किनबेच पनि हुँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप