शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको भत्केको ‘बल्खु दरबार’ (फोटो/भिडियो)

मदन भण्डारीको शालिक अलपत्र, व्यापारीको घरमा एमालेको अलमल
आइतबार, १५ चैत २०७७, २१ : ३०
आइतबार, १५ चैत २०७७

नेकपा एमालेको बल्खुस्थित चिरपरिचित पार्टी कार्यालय अहिले भग्न अवस्थामा छ ।  २०७२ सालको भूकम्पले कार्यालय भत्केपछि एमाले नेताहरु व्यापारीको सहारामा कहिले धुम्बाराही त कहिले थापाथलीमा कार्यालय खोज्दै हिँडेका छन् । तर, पाँच वर्षसम्म सत्तारुढ दलको पार्टी कार्यालय पुनर्निर्माण हुन सकेको छैन ।

रातोपाटीकर्मी बल्खु पुग्दा कार्यालयको गेट छेउमा रहेको एकतले सानो भवनभित्र कुर्सी टेबलहरू धुलाम्मे देखिए । कार्यालयमा दैनिक एक/दुईजना कर्मचारी आउने गरेको हेरविचारमा खटिएका कर्मचारीले बताए ।

 


बितेको पाँच वर्षमा भूकम्पले क्षति पुगेका धेरै पुरातात्विक एवं ऐतिहासिक स्थलहरु तथा व्यक्तिका घरहरु पुनर्निर्माण भए । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा, काष्ठमण्डप लगायतका भूकम्पले भत्काएका भौतिक संरचनाको शिलान्यास गरे । पुनर्निर्माण सम्पन्न भएपछि वसन्तपुरको ग्यालरी बैठक, रानीपोखरी, सिंहदरबार लगायतका संरचनाको उद्घाटनसमेत गरे । तर, भूकम्पपछि दुई–दुई पटक प्रधानमन्त्री बनेका ओलीले आफ्नै पार्टी कार्यालय बनाउनेतर्फ भने अहिलेसम्म ध्यान दिएनन् ।

भूकम्प प्रभावित क्षेत्रमा भत्किएका लगभग सम्पूर्ण घरहरु पुनर्निर्माण भइसक्दा पनि एमालेले आफ्नै घर पुनर्निर्माण गर्न भने चासो दिएन । भूकम्पपछि बल्खुमा पार्टी कार्यालय पुनर्निर्माणतिर नलागेर एमालेले धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवन भाडामा लिएर कार्यालय सञ्चालन ग¥यो । ५ वर्षपछि सो भवन छोडेर थापाथलीमा रहेको सञ्जय अग्रवालको घरमा एमाले प्रवेश गर्न लागेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीमा भवनको अवलोकनसमेत गरिसकेका छन् । सोही भवनमा छिर्ने निश्चित भएपछि कम्युनिष्ट पार्टीले किन व्यापारीको घरमा पार्टी कार्यालय खोल्न लाग्यो भन्ने जस्ता विभिन्न समाचारहरु आइरहेका छन् । सोमबारदेखि धुम्बाराहीबाट थापाथलीमा कार्यालयका सामान सार्न थालिने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले रातोपाटीलाई जानकारी दिए ।

मदन भण्डारीको शालिकले गिज्याइरहेको बल्खु

बल्खुमा रातो रंगको कार्यालय भवन अगाडि सेतो मार्बलद्वारा निर्मित मदन भण्डारीकोे शालिक अहिले अलपत्र अवस्थामा छ । विगतमा जस्तो वरिपरि सूर्य चिन्ह र हँसिया हथौडा अंकित झण्डाहरू देखिँदैनन् । दैनिक सयौं नेता–कार्यकर्ताको चहलपहल र भेटघाटको थलोका रुपमा रहेको बल्खु कार्यालय अहिले सुनसान छ । लालसलाम कमरेड भन्ने अभिवादनका ध्वनी यहाँ गुञ्जिँदैनन् । यहाँ भातृ संगठनहरुका भेला, कार्यक्रम पनि हुँदैनन् ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पअघिका दिनहरुमा बल्खुमा रहेको एमाले मुख्यालयमा एमालेजनको बाक्लो चहल–पहल देखिन्थ्यो । अहिले बल्खुको अवस्था फेरिएको छ । त्यतिबेला र अहिलेको एउटा दृश्यको भने समानता छ, त्यो हो मदन भण्डारीको मार्बलले बनाइएको शालिक ।

करिब ९ रोपनी क्षेत्रफल रहेको एमालेको तत्कालीन मुख्यालय हाता अहिले सुनसान छ । तत्कालीन एमाले कार्यालयको ठीक अगाडि रहेको भण्डारीको शालिक भने अहिले पनि जस्ताको त्यस्तै छ । त्यो शालिकको ठीक पछाडि रहेको रातो रंगको कार्यालय भवनको सम्पूर्ण भौतिक संरचना हटाइएपछि त्यो ठाउँ खाली मैदानमा परिणत भएको छ ।

बितेका ५ बर्षमा झाडी बनेको त्यो ठाउँमा २ साताअघि झाडी फाँडेर सफा बनाइएको छ । झन्डै एक महिनाअघि झाडीले ढाकिएको यो स्थानलाई ३ दिन लगाएर सफा गरिएको एमाले कार्यालयको हेरविचार गर्ने एक कर्मचारीले बताए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा नेता पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाल पुस ९ गते बल्खु पुगेर मदन भण्डारीको यही सालिकमा माल्यार्पण गर्दै पार्टीको मूलधार आफ्नो पक्ष रहेको दाबी गरेका थिए ।

कहिले बन्छ बल्खुमा एमालेको आफ्नै कार्यालय ?

बल्खुमा रहेको पार्टी कार्यालय २०७२ साल वैशाख १२ को भूकम्पले भत्काएपछि धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा सोही वर्ष साउन २३ गते सारियो । मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालमा प्रतिष्ठान बनाउन शेर्पा समूहलाई सो जग्गा दिएको थियो । धुम्बाराहीमा पार्टी कार्यालय सारिएपछि एमाले ब्यापारिक घराना यति समूहको प्रभावमा परेको भनेर आलोचना थालिएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको सन्दर्भ पारेर आगामी बैशाख ९ गते बल्खुमा पार्टी कार्यालय स्थापनाको शिलान्यास गर्ने तयारी गरिएको छ । तर, हालसम्म कस्तो भवन बनाउने भन्नेबारेमा नक्सा, डीपीआरको काम सुरु नभएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । उनले भने, ‘नयाँ प्रविधि प्रयोग गरेर आवश्यकता अनुसारको नयाँ कार्यालय भवन बनाउने तयारी छ । अहिले डीपीआर बनिसकेको छैन । छिट्टै डीपीआर नक्सा बनाउने काम अघि बढ्छ ।’

२०७५ जेठ ३ गते माओवादी केन्द्र र एमालेबीच एकीकरण भए पनि धुम्बाराही र कोटेश्वरका पार्टी कार्यालयमा नेकपा नामको साइनबोर्ड परिवर्तन भए पनि ती व्यवहारिक रुपमा नेकपाको कार्यालयको रुपमा अभ्यास गरिएको थिएन ।

अहिले एमालेका अधिकांश बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र केही बैठक धुम्बाराहीमा हुने गरेका छन् । तर, एमालेकै माधव नेपाल पक्षले भने कार्यालयको अभावमा पार्टी प्यालेसहरुमा बैठक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

सर्वोच्च अदालतले गत फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेले धुम्बाराहीबाट थापाथलीस्थित व्यापारीको घरमा कार्यालय सार्दैछ ।

तथापि आगामी वैशाखदेखि आफ्नै कार्यालय भवन बनाउन सुरु गरिने  सो पार्टीका नेताहरु बताउँछन् ।

भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप