आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

किन फरक छ तराई र पहाडको होली ?

आइतबार, १५ चैत २०७७, २१ : ००
आइतबार, १५ चैत २०७७

काठमाडौँ । नेपाल साँस्कृतिक विविधता भएको देश हो । यहाँ भूगोल, जात, धर्म, समुदायका अनुसार फरक–फरक सँस्कृति पाइन्छ । यसमध्ये होली एउटा यस्तो पर्व हो, जुन देशैभरि मनाइन्छ । तर, पहाडमा एकदिन अघि र मधेसमा एकदिन पछि ।

कतिपय यस्ता पर्वहरू छन् जुन फरक भुगोल, जात, धर्म, समुदायका भएपनि साझा रुपमा एकै दिन मनाइन्छ । जस्तै–दशैं, तिहार, छठ, रक्षाबन्धन, तीजलगायतका पर्वहरु हिमाल, पहाड तराईमा एकै दिन मनाइन्छ । तर, होलीचाहिँ देशैभरि मनाइने पर्व भएपनि तराई र पहाडमा फरक–फरक दिन मनाउने गरिन्छ । तराई र पहाडमा फरक–फरक दिनमा मनाइने होलीका आ–आफ्नै दन्त्यकथा, मान्यता एवं परम्परा छन् ।


‘विष्णुपुराण’ अनुसार, ‘दैत्यराज’ हिरण्यकश्यपुले आफ्नो राज्यमा ‘भगवान् विष्णु’ को पूजापाठमा प्रतिबन्ध लगाएर आफूलाई भगवान घोषित गरी प्रजालाई आफ्नो पूजा गर्न निर्देशन दिएपछि उनका आफ्नै छोरा प्रल्हादले त्यसको अवज्ञा गरेर भगवान विष्णुको पूजा गरिरहे । आफ्नै छोरा प्रह्लादले आज्ञा नमानेपछि हिरण्यकश्यपुले रिसले बहिनी ‘होलिका’ को माध्यमबाट प्रल्हादलाई जलाएर मार्ने प्रयास गरे । ‘ब्रह्मा’ बाट आगोमा नजल्ने ‘बरदान’ पाएकी ‘होलिका’ ले प्रल्हादलाई काखमा राखेर आगोमा बसिन् । तर, आगोमा उल्टै ‘होलिका’ नै जलेर भष्म भइन्, प्रह्लाद जीवितै रहे । त्यसैलाई होलिका दहन भनिन्छ र होलिका दहनको भोलिपल्ट रंग अबीर लगाएर होली खेल्ने गरिन्छ ।

यता, वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि होली पर्व सुरु हुन्छ । भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रुखको हाँगालाई विशेष पूजा गरी चीर ठड्याइने गरिन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकापसमा अबीर लगाएर हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ । असत्यमाथि सत्यको विजय हुने मान्यताका साथ चीर उठाउने र एकसातापछि पूर्णिमाका दिन चीर ढलाएर टुँडिखेलमा पु¥याई त्यसलाई दहन गर्ने गरिन्छ । र, त्यही दिन हर्षोल्लासका साथ होली पर्व मनाइन्छ ।

यही पर्व भक्तपुरमा फरक ढंगबाट मनाउने गरिन्छ । भक्तपुरमा लिङ्ग घुमाएपछि होलीको सुरुवात हुन्छ । भीमसेनको मन्दिरमा रहेको लिङ्गको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ । फागुन शुक्ल अष्टमीको दिन मन्दिरमा राखिएको लिङ्ग टोल–टोलमा घुमाएर पूजा गरी पुन मन्दिरको पाटीमा राखिने चलन छ ।

काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इञ्च मोटाइको हुन्छ । यसलाई भीमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीका रूपमा लिने गरिन्छ । होलीभरि भीमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्छ । होलीको दिन साँझमा भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ ।

पहाड र मधेसमा किन फरक ?

सँस्कृतिविद रामभरोस कापरी ‘भ्रमर’ ले पहाडमा नेपाली पञ्चाङ्ग र मधेसमा मिथिला पञ्चाङ्ग अनुसार होली मनाउने भएको हुनाले फरक देखिएको बताए ।पहाड र मधेसको सँस्कृति फरक–फरक भएको हुनाले चाडपर्व मनाउने कुरामा फरक हुने बताउँदै कसको पालामा कुन पर्वको सुरुवात भयो, त्यसले पनि मनाउने समय फरक देखिने गरेको उनले बताए ।

कापरीका अनुसार मिथिलाका राजा हर्षवर्द्धनका पालादेखि परम्परागत रुपमा होली मनाउन सुरु गरिएको हो । तर, पहाड मध्यकाल अर्थात मल्लकालका राजाका पालादेखि मनाउन सुरु गरिएको हो । फरक– फरक समयमा सँस्कृतिको सुरुवात भएका कारण चाडपर्व मनाउनेदिन फरक परेको हो ।

फागुन शुक्ल पक्ष अष्टमीको दिन काठमाडौंको वसन्तपुरमा होलीको चीर खडा गरेपछि पहाडमा विधिवतरुपमा होलीको सुरुवात भएको मानिन्छ । फागुन शुक्ल पक्ष अष्टमीको दिनदेखि सुरु भएको होली पूर्णिमाका दिन सम्पन्न हुन्छ ।

तर, तराई मधेसमा वसन्त पञ्चमीका दिनदेखि नै होलीको सुरुवात हुन्छ र १५ दिनसम्म मनाइन्छ । अर्थात फागु पूर्णिमाको दिन होलिकाको दहन गरेपछि त्यसको खुसीयालीमा त्यसको भोलिपल्ट रंग अबीर खेलिन्छ र होली सम्पन्न हुन्छ ।

अर्का संस्कृतिविद् रामदयाल राकेशले भने तराई र पहाडमा फरक–फरक दिनमा किन होली मनाइन्छ भन्ने कुराको तुलनात्मक अध्ययन कहीँ नभएको बताउँछन् । फरक भुगोल र सँस्कृतिका कारण फरक फरक दिनमा मनाउने गरिएको उनी बताउँछन् ।

प्रत्येक संस्कृतिको आफ्नै महत्व, मौलिकता र सौन्दर्य हुने भएकाले त्यहीअनुसार आफ्नो रीति रिवाज अनुसार चाडपर्व मनाउने गरेको राकेशको तर्क छ । तराई र पहाडमा फरक–फरक दिनमा होली मनाउने कार्य परम्परादेखि नै हुँदै आएको बताउँदै यसलाई कसैले परिवर्तन गर्न नसक्ने उनले बताए ।

राकेशले भने, ‘तराई र पहाडमा फरक–फरक दिनमा मनाइने होली एकैदिन मनाउने कार्य अब सम्भव छैन । किनभने, यो एउटा संस्कृति बनिसकेको छ, यसलाई सबैले मानिसकेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप