उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण, क्षेत्रीय शान्तिमा फेरि खतरा

एजेन्सी । उत्तर कोरियाले केही दिनको अन्तरालमा दुई पटक क्षेप्यास्त्र परीक्षण गरेर फेरि छिमेकी मुलुक र पश्चिमा जगतलाई झस्काएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको स्वाभाविक रुपमा उल्लङ्घन गर्दैै उत्तर कोरियाले विकास गरेका यी क्षेप्यास्त्र नियन्त्रित र निकै उन्नत रहेको भनाई सार्वजनिक भएको छ । एक वर्षको अवधिमा गरिएको यो पहिलो प्रक्षेपक (ब्यालिस्टिक) क्षेप्यास्त्र परीक्षण हो । अझ संयुक्तराज्य अमेरिकामा राष्ट्रपति जो बाइडेनले सपथ लिएपछि ‘हामी यहाँ छौं’ को शैलीमा उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेर आफूलाई नजरअन्दाज नगर्न साङ्केतिक चेतावनी पनि दिएको छ । बाइडेन प्रशासनले तत्कालै चेतावनी पनि दिएको छ, हामी कोरियाली द्वीप क्षेत्रमा उत्तर कोरियाले तनावको वातावरण सिर्जना गर्ने क्रम नरोके त्यसको उचित सम्बोधन गरिने छ ।
उत्तर कोरिया मामिलालाई एक मुख्य कार्यसूची बनाएर बाइडेन प्रशासनका दुई प्रमुख व्यक्तिहरु अर्थात् विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले गत साता जापान र दक्षिण कोरियाको संयुक्त भ्रमण गरिसकेका छन् । यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो । चीनको बढ्दो सामरिक प्रभाव र उत्तर कोरिया मामिलालाई सम्बोधन गर्न अमेरिकाका परम्परागत गठबन्धनलाई अझ बलियो बनाउनेतर्फ यो भ्रमण केन्द्रित रहेको थियो । यहीबीच दक्षिण कोरिया र अमेरिकी सेनाले सीमित किसिमको सिमुलेसन विधिबाट संयुक्त सैन्य अभ्यास पनि गरेका छन् भने दक्षिण कोरियामा अमेरिकाले गर्ने सैन्य खर्चको विषयमा पनि सहमति जुटेको छ । अर्थात् बाइडेन प्रशासनले उत्तर कोरिया मामिलामा वार्ता वा थप दबाब के गर्ने भन्ने स्पष्ट सन्देश नदिएसँगै उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण र आधुनिक हातहतियार देखाउन थालेको छ । यद्यपी न्यूयोर्क टाइम्सका पत्रकार चो साङ–हुनले अमेरिकाले आणविक अस्त्र कार्यक्रम त्याग्न उत्तर कोरियामाथि प्रतिबन्ध र संवादका दुबै प्रयत्नलाई निरन्तरता दिन सक्ने बताएका छन् ।
उत्तर कोरियाका हतियार विकास प्रमुख रि प्योङ–चोलले शनिबार “संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमाथि सम्भावित परिणामको बेवास्ता गर्दै मूर्खता पूर्ण टिप्पणी गरिरहे त्यसको परिणाम भिन्न हुने चेतावनी” दिएका छन् । उत्तर कोरियाली अधिकारीबाट आएको यो चेतावनी नयाँ र नौलो भने होइन । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेता किम जङ–अनकी बहिनी किम यो–जोङले आणविक अस्त्रको विषयमा “दुर्गन्ध नफैल्याउन” अमेरिकालाई चेतावनी दिएकी थिइन् ।
चेतावनीले केही भएन
उत्तर कोरिया र संयुक्तराज्य अमेरिका एवं दक्षिण कोरियाबीच भएका धाक धम्की, प्रतिबन्ध र एक्ल्याउने जस्ता वर्षौंदेखिका कुनै पनि नीतिहरु सफल भएका देखिन्नन् । बरु, देशभित्र उत्पन्न आर्थिक, भोकमरि, बेरोजगारी समेतका अनेक चुनौतीबीच उत्तर कोरियाले नेता किम जङ–अनको नेतृत्वमा अझ बढी शक्तिशाली, आधुनिक र समुन्नत क्षेप्यास्त्र प्रणाली तिब्र गतिमा विकास र विस्तार गरिरहेको छ । अन्तर महादेशीय क्षेप्यास्त्र प्रणाली विकास गरेर सफल परीक्षण गरेको दाबी गरेलगत्तै यसबाट संयुक्तराज्य अमेरिका र छिमेकी मुलुकहरु खासगरी दक्षिण कोरिया र जापानमा ठूलै तनावको वातावरण सिर्जना गरेको छ । यी क्षेप्यास्त्रले आणविक हातहतियार बोक्न सक्ने र निश्चित विन्दुमा अचूक निशाना लगाउन सक्ने उत्तरको दाबी छ ।
न्यूयोर्क टाइम्स अखबारका अनुसार, उत्तर कोरियाले सन् २००६ देखि २०१७ को बीचका झण्डै ११ वर्षको अवधिमा छ पटक आणविक परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यीमध्ये पछिल्ला चार वटा परीक्षण नेता किम जङ–अनकै शासनकालमा भएका छन् । सन् २०१७ को सेप्टेम्बरमा अन्तिम पटक आणविक परीक्षण गरिएको र यो सर्वाधिक शक्तिशाली रहेको अनुमान गरिएको थियो । वैज्ञानिक अनुसन्धानमा यस पटकको परीक्षणमा ५० देखि ३०० किलोटनको विस्फोटक क्षमता थियो । अर्थात् १०० किलोटन बिस्फोटकको क्षमता हिरोशिमामा सन् १९४५ मा खसालिएको आणविक बमभन्दा छ गुणा बढी शक्तिशाली मानिन्छ ।
आम्र्स कन्ट्रोल एसोसिएसनका अनुसार, सन् २०२० जनवरीसम्ममा उत्तर कोरियासँग ३० देखि ४० वटा आणविक “वारहेड” थिए र आफ्ना आणविक केन्द्रबाट वर्षमा छ वा सात वटा बम निर्माण गर्न सक्ने क्षमता थियो । तर आणविक हातहतियारमा मात्र केन्द्रित भएको विश्व जगतले उत्तर कोरियासँग रासायनिक र जैविक हतियार बनाउन आवश्यक पर्ने एजेन्टको ठूलो भण्डार गरिसकेको कुरालाई बेवास्ता गरिरहेका छन् ।
उत्तर कोरियाले आणविक, रासायनिक र जैविक हतियारहरू विकास र भण्डार मात्र गरिरहेको छैन । यसले लामो दूरीसम्म निशाना लगाउन सक्ने क्षेप्यास्त्रहरू विकास गरेर आफ्नो क्षमता देखाइरहेको छ । सन् २०१७ मा उत्तर कोरियाले गरेको एउटा परीक्षणले विश्वलाई नै सोच मग्न बनाएको थियो । त्यस वर्ष परीक्षण गरिएको मध्यम क्षमताको ब्यालिस्टिक क्षेप्यास्त्र जापानको आकाशमा उडेको थियो भने यसले अमेरिकाको सामरिक महत्वको स्थान गुआमलाई सहजै लक्षित गर्न सक्ने बताइएको थियो । त्यसै वर्ष उत्तरले ह्वासाङ शृंखलाका अन्तर महादेशीय क्षेप्यास्त्रहरूको परीक्षण गरेको थियो । उत्तर कोरियाली नेता किमले आफूहरुले अब संयुक्तराज्य अमेरिकासम्म आणविक हतियार प्रहार गर्न सक्ने क्षमता विकास गरेको दाबी गरेका थिए ।
तर सन् २०१७ देखि एकाएक उत्तर कोरियाली नेता किमले लामो दूरीका क्षेप्यास्त्र परीक्षण रोकेर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्तामा बसे । दुई नेताबीच सिंगापुर र भियतनाममा वार्ता भए पनि ठोस प्रगति हुन सकेन । उत्तर कोरियाले भित्रभित्रै नयाँ, आधुनिक र शक्तिशाली क्षेप्यास्त्र र अस्त्रहरू निर्माण गरेको अमेरिकी आरोप थियो । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार, अमेरिकी राष्ट्रपति बाइडेनले शपथको तयारी गरिरहेकै अवस्थामा गत जनवरीमा किमले आणविक हतियार निर्माणको विस्तृत योजना बनाएको घोषणा गर्नु भएको थियो जसमा “बहु वारहेड” आणविक क्षेप्यास्त्र, “हाइपरसोनिक” क्षेप्यास्त्र, जमिन र पनडुब्बीबाट प्रहार गर्नसक्ने अन्तर महादेशीय क्षेप्यास्त्र र अति आधुनिक आणविक अस्त्र समावेश थिए ।
जनवरीमै आयोजित पार्टी कंग्रेसको बैठकमा नेता किमले कुटनीतिक प्रयासलाई हतियार कार्यक्रमले कहिल्यै बाधा नगर्ने बताएका थिए, तर यसका लागि उनको भनाइमा यस्तो कुटनीतिक प्रयास “सफल हुने प्रत्याभूति” जरुरी हुन्छ । केसिएनएका अनुसार, नेता किमले अमेरिकी प्रशासनले आफूहरुलाई चित्तबुझ्दो प्रस्ताव अघि नसारे वार्ता र संवादमा आफूहरु सहभागी नहुने बताएका थिए । विज्ञहरुका अनुसार, पछिल्ला परीक्षणहरुले किमको त्यही प्रतिबद्धतालाई प्रतिबिम्बित गरेका छन् । सियोलस्थित उत्तर कोरियाली अध्ययन प्रतिष्ठानका प्राध्यापक किम डोङ–युब उत्तर कोरियाले बाइडेन प्रशासन समक्ष आफ्ना तर्फबाट शुरुमै कुनै प्रस्ताव वा कुनै कार्यक्रम रोक्नेजस्ता योजना अघि बढाउने सम्भावना नदेखिएको बताउँछन् । हो, उत्तर कोरियाली मामिलामा उत्पन्न गतिरोधको समाधान वार्ता बाहेक अर्को देखिन्न, तर त्यसको पूर्वशर्तका रुपमा आफूमाथि लागेको आर्थिक प्रतिबन्ध फुकुवा गर्ने उत्तर कोरियाली आग्रहलाई सम्बोधन गर्न सकिए गतिरोध अन्त्यमा केही सहयोग पुग्ने विश्वास गर्न सकिन्छ ।
उत्तर कोरियालाई विश्वबाट एक्ल्याउने वा आर्थिक प्रतिबन्धहरुको जालोमा पारिराख्ने जस्ता पुराना शैली आजको परिवर्तित विश्वमा असफल भइसकेको अवस्थामा एकपटक उत्तर कोरियालाई पनि शंकाको लाभ दिनु नै बुद्धिमानी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति