शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धेरै दिन पर्खन सक्दिनँ, सरकारको समर्थन फिर्ता लिन्छु : प्रचण्ड

काँग्रेसले ओलीलाई विश्वासको मत दिँदैन : मिनेन्द्र रिजाल
शनिबार, १४ चैत २०७७, १८ : ५७
शनिबार, १४ चैत २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक–दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताए ।

केही दलहरुबाट हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबरजस्त दबाव रहेको बताउँदै अबको राजनीति जतासुकै गए पनि आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन कुर्न नसक्ने प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘हिजो असंवैधानिक र अलोकतान्त्रिक कदम भनेर सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नलिनुस् है भनेर जबरजस्त दबाव छ ममाथि । जबरजस्तै छ । मैले नाम चाहिँ भन्दिनँ, कसैको हत्त र पत्त समर्थन फिर्ता लिइस् भने झन् उल्टो पर्छ है भन्ने छ ।’

प्रचण्डले थपे, ‘मैले भनिराखेको छु, नैतिक र राजनीतिक ढङ्गले म अब धेरै दिन पर्खिन सक्दिनँ । मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई मैले समर्थन गर्न सक्दिनँ । चाहे राजनीति जतासुकै जाओस्, मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्छ । म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

अहिलेको राजनीतिक संकटको निकासका लागि संसद विघटनपछि सडकमा भएका दलहरुबीच न्यूनतम सहमति होस् अनि सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक होस् भनेर नै अहिलेसम्म दाह्रा किटेर समर्थन कायम राखेको प्रचण्डले बताए ।

संसद विघटनविरुद्ध सडकमा गएका दलहरुबीच अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी पर्खेको प्रचण्डले बताए । उनले भने, ‘मेरो  कोशिस के हो त भने कमसेकम यो परिवर्तित परिस्थितिमा प्रमुख राजनीतिक दलहरु, जसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर सडकमा गयौं, ती राजनीतिक दलहरूका बीचमा अबको निकासबारे एउटा न्यूनतम सहमति र समझदारी होस् ।’

प्रचण्डले अगाडि भने, ‘अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नको निम्ति मात्रै आफूले दाह्रा किटेर समर्थनलाई एक÷दुई दिन रोकेको मात्रै हो ।’

कांग्रेसले ओलीलाई विश्वासको मत दिँदैन : मिनेन्द्र रिजाल

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताए । उनले ओली प्रधानमन्त्री भएकै दिनदेखि नै आफूहरुले विश्वासको मत नदिएको बताए ।

प्रधानमन्त्री ओली विश्वासको मत लिन संसदमा आए काँग्रेसले मत दिन नसक्ने बताउँदै रिजालले भने, ‘हामीले कुनै पनि हालतमा प्रमुख प्रतिपक्षी दलले अविश्वासको प्रस्ताव जहाँसुकैबाट जसरी आए पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्र्छौं । अहिलेका प्रधानमन्त्रीसँग प्रधानमन्त्री भएकै दिनदेखि हाम्रो विश्वास छैन ।’

अहिले प्रधानमन्त्री ओलीको मनसाय गठबन्धनको सरकार बनाउने भन्दा पनि संसदको ठूलो दलको हैसियतमा धारा ७६ (३) अनुसारको सरकार बनाएर प्रतिनिधि सभा फेरि विघटन गरी चुनावमा जाने रहेको रिजालले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीलाई ७६ को २ मा बसिराख्न मन छैन । प्रधानमन्त्रीलाई ७६ को ३ मा अथवा ५ मा पुग्ने हतार छ । ७६ को ५ को पनि उहाँलाई हतार छैन ७६ को ३ भनेको सबैभन्दा ठूलो राजनीतिक दलको नेताका रुपमा विश्वासको मत प्राप्त नगरेर पनि प्रधानमन्त्री हुने र ७६ को ५ को प्रधानमन्त्री बहुमतको प्रधानमन्त्री हुन नसक्ने अवस्थामा ७६ को ७ को प्रावधानलाई ७६ को ३ को प्रधानमन्त्रीले पनि प्रयोग गर्न सक्ने त्यो चाहनालाई उहाँले गम्भीरतापूर्वक लिनुभएको छ र हेर्नुभएको छ ।’

मुलुकको राजनीति त्यतातिर जाओस् भन्ने ओलीको चाहना रहेको बताउँदै रिजालले भने, ‘हाम्रो अनुमान गलत हुन सक्छ । तपाईहरुका बीचमा हामीले के राख्नुपर्छ भने यो आँकलनलाई पनि गम्भीरतापूर्वक हेरिदिनुहोस् । र, त्यसमा हामीले प्रचण्डजीले इङ्गित गर्नुभयो कि विश्वास फिर्ता लिँदाखेरि प्रधानमन्त्री विश्वासको मत लिन बाध्य हुनुहुन्छ । विश्वासको मत उहाँले पाउनुहुन्न ।’

कांग्रेस नेता रिजालले अगाडि भने, ‘आजको दिनमा प्राविधिक र राजनीतिक रुपमा ओलीसँग संसदको बहुमत पनि छैन ओलीको विपक्षमा प्राविधिकरुपमा बहुमत पनि छैन । त्यसको राजनीतिक फाइदा लिनका लागि उहाँ बस्नुभएको छ, त्यसलाई एउटा समयसम्म त्यो फाइदा प्राप्त नगर्नुहोस् भन्ने हाम्रो चाहना छ ।’

महन्थ ठाकुरको प्रश्न– ओलीलाई कम्युनिष्टले समर्थन गर्ने, दोष जसपालाई दिने ?

कार्यक्रममा अतिथिका रुपमा मन्तव्य व्यक्त गरेका जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले कम्युनिष्ट पार्टीहरुले नै केपी ओलीको सरकारलाई समर्थन गरेको तर दोष् आफूहरुमाथि लाग्ने गरेको गुनासो पोखे ।

सरकारमा केपी ओली रहेका कारण आफूहरुका माग पूरा गराउन ओलीसँग कुरा गरेको पनि महन्थले प्रष्ट पारे ।

ठाकुरले भने, ‘अहिले कम्युनिष्ट पार्टीभित्र स्वार्थको लडाइँ भइरहेको छ, त्यसमा हामीलाई किन ...गर्ने ? तपाई अविश्वासको प्रस्ताव भन्नुहुन्छ, आफ्नो पार्टीमा अविश्वासको प्रस्ताव ल्याएर त्यसको समाधान गर्नुहोस् न । त्यो भइरहेको छैन ।’

ठाकुरले प्रचण्डको र आफूहरुको पीडा फरक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप