शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पोखराको ग्रामिण क्षेत्र मौजामा ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शिलान्यास

शनिबार, १४ चैत २०७७, १८ : १३
शनिबार, १४ चैत २०७७

पोखरा । पोखरा महानगरपालिका –२० मौजामा ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाको लगानीमा ग्रामिण क्षेत्रमा बन्ने फुटबल मैदानको शनिबार एक समारोहका बीच महानगरका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले शिलान्यास गरेका छन् ।

१६ सय ५० मिटरको उचाइमा बन्ने खेलमैदानको शिलान्यास गर्दै महानगरका मेयर मानबहादुर जिसीले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्धन गर्ने उद्धेश्यले खेल मैदान निर्माण गर्न थालिएको बताए । 

विश्वकै उत्कृष्ठ ठाउँमध्ये पोखरा पनि एक रहेको बताउदै उनले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि खेल मैदानले सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले खेलमैदानका लागि आवस्यक सहयोग गर्न प्रदेश सरकारको तर्फबाट आवस्यक पहल गर्ने आश्वासन दिए ।

शहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेले मैदान निर्माणसँगै खेल गतिविधि बढ्न सकेमा ग्रामिण क्षेत्रको आर्थिक विकास तिव्र रुपमा हुने बताए । 
खेल मैदान निर्माणका लागि प्राविधिक तयारी पनि पूरा गरिएको छ । करिब १६ करोड लागत लाग्ने यस मैदान सम्याउनका लागि महानगरले यस आर्थिक वर्षमा  ४० लाख विनियोजन गरिसकेको छ ।

वर्षेनी यसमा आवस्यक पर्ने बजेट विनियोजन गरिने महानगरपालिका योजना महाशाखा प्रमुख, इन्जिनियर शारदा मोहन काफ्लेले बताए । यस खेल मैदानमा इलेभन ए साईड फुटबल खेल्न मिल्ने गरी संरचना निर्माण गरिने छ ।

मैदानसँगै त्यहाँ करीब ३ हजार दर्शक अटाउने क्षमताको प्राकृतिक प्याराफिटसमेत निर्माण गरिने वड नं २० का अध्यक्ष सिम गुरुङले बताए । त्यस्तै, खेलाडीका लागि चेञ्जिङ रुम, शौचालयलगायतका संरचनापनि निर्माण गरिनेछ । खेल मैदानको दक्षिणी भागमा बास्केटबल र भलिबल कोर्टसमेत बनाउनेगरी डिपिआर तयार भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप