बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

जेठ ३० मा स्ववियु निर्वाचन कति सम्भव, कति व्यावहारिक ?

२८ वर्षे उमेरहद स्ववियु चुनावको बाधक !
शनिबार, १४ चैत २०७७, १० : ४८
शनिबार, १४ चैत २०७७

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चासो देखाएको छ । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिभुवन विश्वविद्यालय समितिसँग त्रिविले आगामी जेठ ३० गते स्ववियु निर्वाचन गर्न सहमति जनाएको छ । नेविसंघ त्रिवि समितिले पाँच बुँदे माग राखेर ४८ दिनसम्म गरेको रिले अनसनपछि स्ववियु निर्वाचन गर्नेगरी त्रिवि र नेविसंघबीच ९ चैतमा सहमति भएको थियो । उक्त सहमतिको विद्यार्थी संगठनले स्वागत गरेका छन् ।

सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष ऐन महरले स्ववियु चुनाव गराउने कुरा सकारात्मक र स्वागतयोग्य भएको बताए । उनले भने, हामीसँग तीन महिना पर्याप्त समय छ । गर्न सकिन्छ, गर्नुपर्छ । हाम्रो सकारात्मक भूमिका हुन्छ । हामी पनि सहभागी हुन्छौं । अरुलाई पनि सहभागी गराउने वातावरण निर्माण गर्ने कुरामा लाग्छौं ।

काँग्रेस निकट नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आफूहरु सधै स्ववियु चुनावको पक्षमा रहेको बताए । उनले भने, त्रिविले चाहेको अवस्थामा स्ववियु चुनाव हुन गाह्रो छैन । नेविसंघ सधैँ स्ववियु चुनावकै पक्षमा छ ।

त्रिविले क्याम्पस प्रमुखको मनमौजीका लागि स्ववियुलाई कमजोर पार्न लागिपरेको उनको आरोप छ । उनले भने, स्ववियु नहुँदा हरेक क्याम्पसका प्रमुखहरुले मनोमानी ढंगले काम गर्न पाउँछन् । त्रिविको केन्द्रीय नेतृत्वले आफ्नो मनखुसी काम गर्न पाउँछ । त्यसैले स्ववियुलाई नै कमजोर बनाउन लागिएको छ ।

वर्तमान सरकार पनि त्रिविको चुनाव नगराउन लागिपरेको ढुंगानाको बुझाइ छ । स्ववियु चुनावलाई मिनी जनमतसंग्रह भनिन्छ । अहिले सरकार अलोकप्रिय र असफल छ । सरकारविरुद्धको जनमत त्यहाँ प्रकट हुन्छ भनेर सरकारले चुनाव नगराउन त्रिविलाई दबाब दिइरहेको छ । वर्तमान त्रिवि नेतृत्व पनि राजनीतिक ढंगले अगाडि बढेको अवस्था छ, उनले भने ।

माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ पनि स्ववियु चुनाव गराउने कुरा सकारात्मक भएको बताउँछन् ।

उनले भने, स्ववियु निर्वाचन अनिवार्य छ । त्रिविले स्ववियु निर्वाचन चाँडो गराओस् । त्रिविले गराउने स्ववियु चुनाव फेस गर्न अनेरास्ववियु क्रान्तिकारी तयार छ । त्रिविले अनशनरत विद्यार्थीसँग सहमति गरेर स्ववियु निर्वाचन गर्छौं भनेको छ, त्यो राम्रो निर्णय हो । त्रिविले प्रतिबद्धता जनाएजस्तै विश्वविद्यालयको क्यालेन्डरलाई व्यवस्थापन गरेर स्ववियु निर्वाचनको वातावरण बनाओस् ।

तामाङका अनुसार प्रत्येक दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव लामो समयसम्म नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको छ । कोभिड१९ जस्तो माहामारीका बेलामा विद्यार्थीलाई सहयोग पुर्याउने निर्वाचित संस्था नहुँदा विद्यार्थीलाई थप समस्या परेको उनले बताए ।

उनले भने, विद्यार्थी नेतृत्व उत्पादन, लोकतन्त्रको अभ्यास, शैक्षिक, राजनीतिक, राष्ट्रियता र जनजीविकाबारे खबरदारी गर्ने निर्वाचित संस्था नहुँदा समग्र विद्यार्थी आन्दोलन कमजोर बनाएको छ ।

पूर्व र तराईका केही क्याम्पसमा ६२ सालयता निर्वाचन हुन सकेको छैन । ६५ सालमा पनि सबै क्याम्पस र विश्वविद्यालयमा स्ववियु निर्वाचन हुन सकेन । ०७० सालको स्ववियु चुनाव पनि केही क्याम्पसमा मात्र सीमित रह्यो । त्यसपछि ०७३ सालमा त्रिविका आंगिक क्याम्पसमध्ये ३० प्रतिशतमा मात्र स्ववियु चुनाव सम्पन्न भयो । छिटफुट क्याम्पसमा चुनाव भए पनि करिब १२ वर्षदेखि धेरै क्याम्पसमा चुनाव हुन सकेको छैन ।

यसका पछाडि त्रिविको उदासिनता र विद्यार्थी संगठनको उद्दण्डता कारक बनेको देखिन्छ । त्रिविले चुनावको घोषणा गरे पनि विद्यार्थी संगठनहरुले क्याम्पसमा तालाबन्दी गर्न उत्रिने गरेको पाइन्छ । ०७६ मा पनि स्ववियु चुनाव अन्तिम समयमा स्थगित भएको थियो । पछि ०७७ फागुनमा चुनाव गराउने तयारी भइरहेका बेला सरकारले ५ पुसमा संसद विघटन गरी आम चुनाव घोषणा गरिदिँदा त्रिवि ब्याक भयोे । तर सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटनको निर्णय बदर गरिदियो । त्यसपछि नेविसंघले नियमित कार्यतालिका विपरीत भए पनि स्ववियु चुनाव गराउन माग राख्यो । नेविसंघको मागअनुसार आगामी जेठ ३० मा चुनाव गराउने गरी त्रिविले नेविसंघसँग सहमति गरेको छ ।

त्यसलाई विद्यार्थी संगठनले सकारात्मक रुपमै लिएका छन् । तर त्यो कति सम्भव र व्यवहारिक भन्ने प्रश्न पनि स्वाभाविक रुपमा उठेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य तथा अनेरास्ववियु त्रिवि कमिटीका पूर्वअध्यक्ष मदन बिष्टले आफू स्ववियु चुनावको पक्षमा भएको बताए ।

त्रिविको इमानदार संयोजन र विद्यार्थी संगठनको सहयोग रहे चुनाव हुन समस्या नहुने विष्टको भनाइ छ । उनले भने, त्रिविले चुनाव गराउन चाहेमा चुनाव नहुने कुरा छैन । कार्यतालिका घोषणा गर्ने र विद्यार्थी संगठनलाई चुनावमा जानुपर्छ भन्यो भने चुनाव हुन्छ । क्याम्पसमा भर्नालगायतका सबै गतिविधि भइरहेकै छन् । नियमित काम भइरहेकाले समस्या केही छैन । १५ दिनभित्र कार्यतालिका निकालेर चुनाव गराउन सक्छ ।

नेविसंघ त्रिविका अध्यक्ष हरि आचार्य विद्यार्थी संगठन र त्रिविका पदाधिकारीले स्ववियु चुनावका लागि तदारुकता देखाउँदा चुनाव सम्भव भएको बताउँछन् । उनले भने, त्रिविका पदाधिकारी चुनाव गराउने कुरामा डराउनुहुन्छ । यो ठूलो व्यवस्थापन गर्नुपर्ने विषय हो । त्यो क्षमता र ल्याकत त्रिविका अहिलेका पदाधिकारीमा छैन । त्यो चुनौती देखिन्छ ।

स्ववियु हुँदा विश्वविद्यालयका शैक्षिक र प्रशासनिक क्षेत्रमा हस्तक्षेप गर्ने डरले पनि चुनाव गराउने कुरामा विलम्ब हुने गरेको उनको बुझाइ छ ।

यता अनेरास्ववियु क्रान्तिकारी त्रिवि कमिटीका अध्यक्ष लोकेन्द्र यरीले त्रिविले निकास दिन नसक्दा विद्यार्थीको साझा प्रतिनिधि को हो भन्ने प्रश्न उठेको बताए ।

यत्रो समय त्रिविले निकास दिन नसक्दा विद्यार्थीको साझा प्रतिनिधि को भन्ने प्रश्न उठिसक्यो । विद्यार्थीका साझा मुद्दा बोकिदिने संस्था नहुँदा समस्या देखिएको छ । स्ववियु निर्वाचन गराउनुपर्छ, उनले भने ।

त्रिविले आफ्नो सबै तयारी पूरा गर्दा र सबै विद्यार्थी संगठन सहमतिमा आए नयाँ मिति तोकेर जान सहज हुने उनको भनाइ छ ।

यस्तै जनता समाजवादी पार्टी निकट विद्यार्थी नेता रुपनारायण श्रेष्ठले पनि स्ववियुको चुनाव जरुरी रहेको बताए । उनले भने, स्ववियु चुनाव गर्न जरुरी छ । लामो समयदेखि यो वा त्यो बहानामा स्थगित गर्नु हुँदैन । त्यो राम्रो पक्ष होइन ।

सबै पक्ष सहमत भएर आगामी वर्ष फागुनमा जसरी पनि गर्नेगरी निर्वाचनमा जानुपर्ने उनको भनाइ छ । उनले भने, निर्धारित मितिमा चुनाव हुन सकेन । अहिले कोभिडका कारण विद्यार्थीको रोकिएको परीक्षा सञ्चालन भइरहेका बेला चुनाव सान्दर्भिक हुँदैन । त्रिविको क्यालेन्डर भत्काउने काम हुन्छ ।

त्रिविका उपकुलपति (भिसी) धर्मकान्त बाँस्कोटाले स्ववियु चुनाव गराउने कुरामा आफूहरु तयार रहेको र त्यसका लागि सर्वदलीय छलफल गर्न लागिएको बताए । उनले भने, विद्यार्थी संगठनहरुले स्ववियु चुनाव माग्नुभएको छ र चुनाव भएर प्रतिनिधि आउँदा हामीलाई पनि राम्रो हुन्छ । तर हामीले सर्वदलीय बैठक राखेर एउटा निष्कर्ष निकाल्छौँ । त्यही अनुसार निर्णय लिन्छौं ।

त्रिविले स्ववियु निर्वाचन गर्नका लागि यही चैतभित्र सर्वपक्षीय छलफल गरिने उनले बताए । यद्यपि उनी जेठ ३० मा स्ववियु चुनाव त्यति व्यावहारिक नहुने बताउँछन् । उनले भने, कोभिडले गर्दा क्यालेन्डर नै पछाडि धकेलिएको छ । चुनाव हुँदा एक महिना त्यतिकै पनि पढाइमा बाधा हुन्छ । शैक्षिक क्यालेन्डर ३ महिना पछाडि धकेलिएको बेला तत्काल चुनाव हुनुपर्छ भन्ने अधिकांश विद्यार्थीको माग छैन । तर आफूहरु सर्वदलीय छलफलबाट आएको निर्णयबाट अगाडि बढ्न तयार गरेको बाँस्कोटाले बताए ।

२८ वर्षे उमेर हद स्ववियु चुनावको बाधक !

स्ववियु चुनावमा २८ वर्षे उमेर हदको विषय लागू भए पनि कार्यान्वयनको पाटो सुखद् छैन किनभने २८ वर्षमाथिको समूह जहिले चुनाव भाँड्नका लागि तम्सिन्छ । जसबाट विभिन्न क्याम्पसमा स्ववियु चुनाव हुन नसकेको अवस्था छ । विवादकै बीच अनेरास्ववियुका तत्कालीन अध्यक्ष माधव ढुंगेल, अनेरास्ववियु क्रान्तिकारीका तत्कालीन अध्यक्ष हिमाल शर्मा र नेविसंघका तत्कालीन सभापति रञ्जित कर्णले २८ वर्षे उमेर हदबन्दीबारे त्रिविसँग सहमति गरेका थिए । अब त्यसलाई कार्यान्वयनको विकल्प नभएको विद्यार्थी नेताहरुको भनाइ छ ।

विष्टले भने, अब उमेर हदबन्दीबारे बहस गरिराख्न जरुरी छैन । एउटा चुनाव उमेर हदबन्दी लगाएर गरिसकेका छौं । नियमित विद्यार्थीबाट स्ववियुको नेतृत्व गर्ने कुरालाई अन्यथा लिनु हुँदैन । हिजोका दिनमा भएको सहमतिलाई अनेरास्ववियु कार्यान्वयन गराउन हिजो पनि लागेको थियो, आज पनि लाग्छ ।

तर आचार्यका अनुसार स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेर हद बाधक बनेको छ । चुनावको सुनिश्चितताका लागि उमेरको हदबन्दी हटाउनुपर्ने आचार्यको भनाइ छ । उनले भने, उमेर हदबन्दी लगाउन सम्भव भयो । अब हटाउन पनि सम्भव छ । २८ वर्षमाथिको विद्यार्थीले मतदान गर्न, उम्मेदवार हुन नपाउने भन्ने कुरा हुन्छ । २८ वर्षभन्दा कम उमेरमा मात्र विद्यार्थी हुनुपर्छ भन्ने छैन । व्यक्तिले चाहेको अवस्थामा ६० वर्षमा पनि विद्यार्थी हुन पाउँछ ।

त्रिवि र विद्यार्थी संगठनका तत्कालीन पदाधिकारीबाट विद्यार्थीको उमेर तोक्ने काम गलत भएको उनको भनाइ छ ।

अध्यक्ष यरीले भने उमेर हद निर्वाचनको बाधक नभएको बताए । उनले भने, नियमित विद्यार्थीबाट नेतृत्व आउनु राम्रो हो । मेरो उमेर गयो, म उम्मेदवार हुन पाइनँ भन्ने होइन । मेरो नेतृत्वमा निर्वाचन गराएर, मैले जिताएर जाँदा पो राजनीतिक जित हुन्छ । उमेरहद खारेज गर्नुपर्छ वा हुँदैन भन्नेतिर जानुभन्दा स्ववियु निर्वाचन गराउनतिर जानुपर्ने उनको भनाइ छ ।

श्रेष्ठले पनि उमेर हदबन्दी ठीक रहेको भन्दै लागु हुनुपर्ने बताए । उनले भने, विश्वविद्यालयमा मात्र होइन, विद्यार्थी संगठनमा पनि ४०५० वर्षसम्म विद्यार्थी नेता भएर बसिराख्ने चलन छ । विद्यार्थीको छाता संस्थामा विद्यार्थी कै नेतृत्वका लागि उमेर हदबन्दी लगाइएको हो ।

उमेर हदबन्दीको बहानामा स्ववियु चुनाव अनिश्चित बनाउने काम गर्न नहुने श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप