शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अचानक के भयो काठमाडौंको वायुमण्डलमा ? विमानस्थल ठप्प, भिजिविलिटी घट्यो

शुक्रबार, १३ चैत २०७७, १६ : ३२
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । शुक्रबार मध्यान्हसम्म सामान्य रहेको काठमाडौंको मौसममा एक्कासि परिवर्तन आयो । बिहान घाम लागेदेखि नै हल्का गर्मी महशुस भइरहेकोमा दिउँसो अचानक घामको प्रकाश छेकियो भने तापक्रममा कमी आयो । वायुमण्डल धुमिल हुन पुग्यो । दृश्यमानता अर्थात भिजिबिलिटीमा कमी आयो । 

एक्कासि वायुमण्डलमा बाक्लो तुवाँलोले ढाकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा वाह्य उडानहरु प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द छ । उनका अनुसार ‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण नै बन्द गरिएको हो । काठमाडौंबाट भरतपुरका लागि उढ्नुपर्ने ३ उडान रद्ध भए अन्य उडान पनि रद्ध भएको छ । ‘आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ,’ उनले भने, ‘आउने र जाने दुवैथरी रोकिएको छ ।’ भिजिविलिटीमा समस्या देखिएपछि घरेलु उडानहरु दिउँसोदेखि नै रोकिएको उनले बताए । यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विमानलाई भने ‘डाइभर्ट’ गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

किन भयो वायुमण्डल प्रदूषण: वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग 

लामो समय वर्षा नभएका कारण वायुमण्डलमा धुलोका कण भएपनि धुलोकै कारण यसरी तुवाँलो नलागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले रातोपाटीसँग भने, ‘वायुमण्डलमा धुलोका कण त थिए नै,’ तर अहिले काठमाडौंको वायुमण्डलमा धुलोका कणमात्र होइन, धुँवा पनि मिसिएजस्तो देखिन्छ ।’ उनले देशका विभिन्न स्थानमा डढेलो लागेका कारण वायुमण्डलमा धुँवा मिसिएर तुवाँलो बनेको हुनसक्ने बताए । महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा ‘देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको’ उल्लेख छ । महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

वरिष्ठ मौसमविद् प्रधानाङ्गकै शब्दमा: 

केही दिनदेखि वायुमण्डलमा धुलोको मात्रा बढिरहेको थियो । आज सघन रुपमा धुलो र धुँवा मिसिँदा वायुमण्डलमा बाक्लो तह जमेका कारण भिजिविलिटी कम हुन पुगेको छ । झण्डै २ घण्टादेखि वायुमण्डलमा परिवर्तन आएकोले कुन ठाउँमा धुवाँ र धुलो फैलिन पुग्यो यसबारेमा हामीले अध्ययन गरिरहेका छौँ । 

अहिले भिजिविलिटी १ किलोमिटरसम्म मात्र छ । अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द हुन पुगेको छ । यस्तो अवस्थामा हवाई उडान तथा अवतरण हुन कठिन हुन्छ । यतिबेला पश्चिम वायु चलिरहेको छ । यतिबेला भारत तथा अरबको मरुभूमिबाट पनि धुलोको कणहरु उडेर आउने हुन्छ । अहिले मौसममा आएको समस्या धुलोमा धुवाँको मात्रा धेरै छ । अहिले देशका कुन–कुन स्थानमा आगलागी भइरहेको छ त्यसबारे बुझिरहेका छौँ । 

हामीले स्याटेलाइट तस्बिरहरुको अध्ययन गर्दा काठमाडौं उपत्यकासहित देशका धेरैजस्तो भागमा बाक्लो तुवाँलो लागेको देखिएको छ । वर्षा वा हुरी नचलेसम्म वायुमण्डलमा लागेको बाक्लो तह नफाट्ने हुन्छ । दुई तीन दिनसम्म पानी पर्ने कुनै सम्भावना देखिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप