शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको एक वर्ष : कलाकारले गरे तरकारी व्यवसायदेखि कुखुरा फर्म सञ्चालन

शुक्रबार, १३ चैत २०७७, १४ : ३१
शुक्रबार, १३ चैत २०७७

काठमाडौँ । कोरोनाका कारण लकडाउन भएको एक वर्ष पूरा भएको छ । यसले थुप्रै सेलिब्रेटीका जीवनमा परिवर्तन ल्यायो । कतिपयका लागि यो समय निकै खराबसमेत सावित भएको छ । यो अवस्थामा काम गुमाउनुपर्दा धेरै कलाकारले चरम आर्थिक अभाव सामाना गर्नुपर्यो । कतिपयले कोरोनाबाट पाठ सिक्दै वैकल्पिक बाटोतिर अगाडि बढेका छन् । कोरोनापछि कलाकारले रोजेका विकल्पबारे चर्चा गर्दैछौँ ।

देवी घर्ती (गायिका) :

‘देउरालीको भट्टी पसल’, ‘किन रुन्छ न्याउली’, ‘झल्को लाग्छ’ लगायत थुप्रै हिट लोकगीत दिएकी गायिका देवी घर्ती पनि पछिल्लो समय रेस्टुरेन्ट व्यवसायमा आबद्ध छिन् । उनले कोरानापछि सामाखुसीमा ‘ट्रान्जिट’ नामक रेस्टुरेन्ट सुरु गरेकी हुन् ।

कोरोना विपद्मा देशविदेशमा आयोजना हुने कार्यक्रम रद्द हुँदा गीतसङ्गीतको विकल्पका रूपमा रेस्टुरेन्ट व्यवसाय रोजेको देवीले बताइन् । सुरुको समय रेस्टुरेन्ट व्यवसाय घाटामा रहेको उनले बताइन् । अहिले चाहिँ यो व्यवसायबाट घर चलेको बताउँछिन् । आगामी दिन व्यवसाय र गीतसङ्गीत दुवै अगाडि बढाउने उनको योजना छ ।

दीपक, दीपा र संजोग, वर्षा (कलाकार) :

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला संजोग कोइराला, वर्षा राउत मिलेर कोरोनापछि लाजिम्पाटमा ‘चिया अड्डा’ नामक कफी सप सञ्चालनमा ल्याएका छन् ।

२०१८ मा नयाँ बानेश्वरको शङ्खमूल जाने बाटोमा खुलेको ‘चिया अड्डा’पछि बन्द भएको थियो । अहिले उनीहरुले यसलाई लाजिम्पाटमा र बानेश्वरको पानी ट्याङ्की नजिकै सुरु गरेका हुन् । अहिले काम, टाइम पास हुने र आम्दानी पनि हुने उद्देश्यले ‘चिया अड्डा’ सुरु गरेको संजोक बताउँछन् ।

अनुप बिक्रम शाही (अभिनेता) :

लामो समयदेखि अभिनयमा सक्रिय अभिनेता अनुप बिक्रम शाही पनि अहिले मम व्यवसाय आबद्ध छन् । कोरोना कालपछि उनले यो व्यवसाय थालेका हुन् । उनको लगानीमा अहिले ललितपुरको भँैसेपाटी र नयाँ बानेश्वर ‘नारायण दाइको मम’ नामक मम पसल सञ्चालनमा छ ।

यो ममा फ्रेन्चाई लिएर सुरु गरेका हुन् । सुरजसिंह ठकुरीको समेत सहकार्य रहेको यो मम पसल अहिले उनले पोखरामा पनि सञ्चालनमा ल्याउने तयारी गर्दैछन् । उनी ‘गुड मिक्स्चर’को व्यवसायमा पनि आबद्ध भएका छन् ।

नवीन पौडेल (लोक गायक) :

‘पल्ला घरको जेठाजुले आईए, बीए पढ्छन्, ‘नरोऊ धर्केर, फर्किआउँछु लाहुर गए नि बस पर्खेर’, ‘लेऊ खुकुरी लेऊ जनता, लेऊ खुकुरी लेऊ’ लगायत थुप्रै हिट गीतका गायक हुन् नवीन पौडेल ।

‘स्टेज किङ’का उपनामले समेत परिचित पौडेल कोरोनाका कारण देशविदेशको कार्यक्रम रोकिँदा पूर्ण बेरोजगार बने । लकडाउनपछि अहिले उनी मोटरसाइकल व्यवसायमा आबद्ध भएका छन् । युवा समाजसेवी धनबहादुर बस्नेतले लामो समयदेखि लैनचौरको चोकमै सञ्चालन गर्दै आएका स्टार अटो इन्टरप्राइजमा उनी सञ्चालकको रूपमा आबद्ध भएर व्यवसाय सुरु गरेका हुन् ।

‘कोरोनाले देशविदेशका सबै कार्यक्रम अवरुद्ध हुँदा आम्दानीको बाटो बन्द भयो । जीविकोपार्जन लागि अन्य केही गरौँ भनेर व्यवसायमा आबद्ध भएको हो,’ उनले भने ।

किरण दाहाल (महिला फाइटर) :

‘महिला फाइटर’को रूपमा परिचय बनाएकी किरण दाहालले लकडाउन र कोरोनाकालमा अनामनगर चोकमा तरकारी व्यवसाय सुरु गरेकी थिइन् । कोरोनाले फिल्म क्षेत्रका सबै गतिविधि ठप्प भएपछि उनले दैनिक जीवन चलाउनका यो काम रोजे हुन् । नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि द्वन्द्व पाटोमा काम गर्दै आएकी उनले फिल्मको काम सुरु नहुन्जेल जीवन धान्न तरकारी व्यवसाय सुरु गरेको बताएकी थिइन् ।

लकडाउनको समय राहतको पर्खाइका बस्नुभन्दा केही गरेर जीवन धान्न आफूले तरकारी व्यवसाय थालेको उनको भनाइ रहेको थियो । सो व्यवसायले खान, कोठाभाडा तिर्न सजिलो भएको उनले बताइन् ।

खुस्बु खड्का (अभिनेत्री) :

अभिनेत्री खुस्बु खड्काले पनि पछिल्लो समय मास्क व्यवसाय सुरु गरेकी छन् । कोरोना समयमा विभिन्न स्थानमा मास्क र सेनिटाइज निःशुल्क समेत बाँडेकी उनले समाज सेवाको क्रममा व्यक्ति तथा संस्थाले मास्क सप्लाईको डिमान्ड गरेका कारण यसैको व्यवसाय थालेकी हुन् ।

सिम्पल खालको मास्क सर्वसाधारणका लागि निःशुल्क उपलब्ध गराएकी उनले व्यवसायी तथा ठूलाबडाका लागि गुणस्तरीय मास्क व्यवसाय गरेकी थिइन् । फेरि लकडाउनको हल्ला चलेसँगै उनी अहिले कोरियामा उत्पादन भएका मास्क नेपाल भित्र्याउने तरखरमा छिन् । फिल्म, म्युजिक भिडियो लगायत गतिविधि बन्द हँुदा उनले अहिलेको व्यवसाय रोजेकी हुन् ।

पूर्णकला बीसी (लोकगायिका) :

गायिका पूर्णकला बीसीले कोरोना सुरु भएपछि बुटिक व्यवसाय सुरु गरेकी छन् । उनले काठमाडौँ, कपुरधारमा ‘रोनियार बुटिक’ सुरु गरेकी हुन् । उनको बुटिकमा महिलाका लागि आवश्यक सम्पूर्ण पहिरन उपलब्ध छ ।

‘कहिले लकडाउन हुन्छ, कहिले भूकम्प, कहिले के आउला । यस्तो अवस्थामा गीतसङ्गीतको आम्दानीको भर छैन’, बीसीले भनिन्, ‘नियमित काम र दामका लागि व्यवसाय सुरु गरेको हो ।’

बीसीका ‘आज मरे भोलि दुई दिन’, ‘पिट्ने भो तहल्का’, ‘अझै कति बाँच्ने हो,’ लगायत थुप्रै गीत सार्वजनिक भएका छन् ।

दीपसागर थापा (गायक) :

गायक दीपसागर थापाले अहिले नयाँ बसपार्कमा ‘गाउँले दोहोरी साँझ’ र ‘गाउँले स्टोर’ नाम मदिरा पसलको होलसेल सञ्चालनमा ल्याएका छन् ।

लकडाउनपछि उनले यो व्यवसाय सुरु गरेका हुन् । ‘मुसुमुसु हाँस’ लगायत धेरै हिट गीत दिएका थापाले गीतसङ्गीतको विकल्पका रूपमा यो व्यवसाय सुरु गरेका हुन् ।

जुना सिरिस (गायिका) :

गायिका जुना सिरिसले पनि केही समयअगाडि ‘दोभान’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी छन् । उनले सामाखुसी, कपुरधारबाट रेस्टुरेन्ट सञ्चालनमा ल्याएकी हुन् । सिरिसका ‘आउँदो सालम’, ‘परदेशी’ लगायत थुप्रै गीत बजारमा हिट छन् । उनले पनि गीतसङ्गीतको विकल्पका रूपमा यो बाटो रोजेकी हुन् ।

गोविन्द मधुर आचार्य (गायक तथा सङ्गीतकार) :

गायक गोविन्द मधुर आचार्यले पनि कोरोनापछि कुखुरा व्यवसाय सुरु गरेका छन् । उनले दाङको दङ्गिनरन गाउँपालिकामा यो व्यवसाय सुरु गरेका हुन् । यो उनको गृहनगर पनि हो । भाडामा लिएर व्यवसाय गर्नुभन्दा आफ्नै ठाउँमा गर्नु ठीक यो व्यवसाय सुरु गरेको उनले बताए ।

‘लकडाउनपछि व्यस्तता र आम्दानी दुवै घट्यो । यो समय खालि बस्दा दिमागमा विभिन्न कुरा खेल्ने भएकाले यो काम सुरु गरेको हो,’ आचार्यले थपे ‘यसबाट काम पनि भयो, दाम पनि भयो ।’ पछिल्लो समय स्टेज कार्यक्रममा व्यस्त कलाकारमध्येका एक  आचार्यले कुखुरा व्यवसाय सञ्चालनको साथसाथै ६, ७ वटा गीत पनि बाहिर ल्याउने तयारी छन् ।

सुनिला गुरुङ (गायिका) :

गायिका सुनिला गुरुङले पनि अहिले चिसापानीमा तरकारी तथा कुखुरा पालन सुरु गरेकी छन् । उनले जग्गा भाडामा लिएर यो व्यवसाय थालेकी हुन् । लकडाउनको बीचमा सुरु गरेको यी दुवै व्यवसायबाट आफूलाई राम्रो भइरहेको गुरुङ बताउँछिन् । गीतसङ्गीत समेत गाउँदै आएकी उनी लकडाउनअगाडि विभिन्न साङ्गीतिक कार्यक्रममा व्यस्त रहेकी थिइन् ।

यी माथिका केही उदाहरण मात्र हुन् । गायक गणेश गुरुङ, गायिका जानकी पारामी, अभिनेत्री शिल्पा मास्के, सिर्जु अधिकारी, निर्माता, वितरक सरोज शर्मालगायत थुपै्र सेलिब्रेटी छन् । जो कोरोनापछि रेस्टुरेन्ट, कुखुरा फर्म, सेनिटाइजर व्यवसायलगायतमा आफूलाई अबद्ध गरेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप