भारतले खोप दिएन, १० लाख नेपालीलाई दोस्रो डोजको चिन्ता
भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै भारत सरकारले कोभिशिल्ड भ्याक्सिनको निर्यातलाई तत्कालका लागि स्थगित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत सरकारको यो निर्णयको असर नेपालमा पनि पर्ने भएको छ । नेपालले समयमै खोप नपाउने हो भने पहिलो डोज खोप लगाएका धेरैले दोस्रो डोज खोप पाउनेछैनन् ।
भारतमा कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि तत्कालका लागि भारतमै खपत गर्नुपर्ने भएकाले खोप निर्यातमा बाधा पुग्ने र यसले अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना भाइरसविरुद्धको खोपको निर्यात आगामी अप्रिलको अन्त्यसम्म प्रभावित हुने बताइएको छ ।
नेपालमा हालसम्म भारत सरकारको अनुदान सहयोगमा १० लाख डोज, सरकार आफैले खरिद गरेको १० लाख डोज र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज गरी कूल २३ लाख ४८ हजार डोज खोप आएको छ ।
नेपाल सरकारले २० लाख डोज खोप खरिदका लागि खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई ८० प्रतिशत रकम भुक्तानी गरिसकेको छ । यसमध्ये १० लाख डोज खोप नेपाल आइपुगेको भए पनि बाँकी १० लाख डोज खोप भने सिरमले हालसम्म पनि उपलब्ध गराएको छैन ।
सिरमले केही समय अगाडि मात्रै नेपाल सरकारलाई पत्र पठाएर अपेक्षाअनुसार खोप उत्पादन हुन नसकेकाले समयमै खोप उपलब्ध गराउन नसक्ने जवाफ पठाएको थियो ।
जबकि, ८० प्रतिशत रकम भुक्तानी भइसकेको खोपसमेत समयमै नआउने भइरहँदा नेपाल सरकार भने थप ५० लाख डोज खोप खरिदका लागि प्रक्रिया अगाडि बढाउने क्रममा थियो ।
१० लाख नेपालीलाई दोस्रो डोजको चिन्ता
गत माघ १४ गतेदेखि नेपाल सरकारले कोरोनाविरुद्धको खोपको अभियान सुरु गरेको थियो । पहिलो चरणको पहिलो प्राथमिकतामा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, कारागारका कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कैदी लगायतलाई खोप लगाइएको थियो ।
सरकारको लक्ष्यअनुसार खोप लगाउनेको संख्या नपुगेपछि दायरा बढाएर पहिलो प्राथमिकतामै राखेर पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलाई पनि सरकारले खोप दिएको थियो । जसमध्ये पहिलो चरणको पहिलो प्राथमिकतामा ४ लाख ३८ हजार ८ सय ७९ जनाले कोभिशिल्ड खोप लगाएका थिए ।
त्यसैगरी पहिलो चरणको दोस्रो प्राथमिकता भन्दै सरकारले फागुन २३ गतेदेखि ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाउने अभियान सुरु गरेको थियो । ६५ वर्षभन्दा माथिका करिब १६ लाख जनसङ्ख्यालाई खोप लगाउने भनेपनि करिब ११ लाख ५० हजार जना ६५ वर्षमाथिका वृद्धवृद्धाले खोप लगाएका थिए । सरकारसँग भएको २३ लाख ४८ हजार खोपमध्ये करिब ७ लाख डोज खोप मौज्दात नै थियो ।
त्यसपछि चैत ४ गतेदेखि सरकारले दोस्रो चरणको खोप सुरु गर्ने भनेको थियो । तर, भारतबाट खरिद गरेर ल्याउने भनिएको खोप र कोभ्याक्स सुविधाअन्तर्गत आउने भनेको खोप पनि समयमै नआउने भएपछि सरकारले दोस्रो चरणको खोप अभियान स्थगित ग¥यो । जसका कारण पहिलो चरणको पहिलो प्राथमिकतामा परेकाहरुलाई दोस्रो डोज दिनै नसकिने अवस्था आयो ।
कोरोनाविरुद्धको खोप दुईपटक लगाउनुपर्छ । पहिलोपटक खोप लगाएको ८ देखि १२ साताभित्र अर्को खोप लगाउनुपर्ने हुन्छ । यसको अर्थ, पहिलो प्राथमिकतामा परेर खोप लगाएकाहरुले वैशाखको दोस्रो साताभित्रै खोपको दोस्रो डोज लगाइसक्नुपर्छ । त्यो भनेको ४ लाख ३८ हजार जनालाई आगामी वैशाखको दोस्रो साताभित्रै दोस्रो डोज खोप लगाउनुपर्छ ।
खेर जाने खोपको मात्रा घटाउँदा ७ लाख डोजमध्ये करिब ५ लाख डोज खोप पहिलो प्राथमिकतामा परेकाहरुलाई दोस्रो डोज दिँदा सकिन्छ ।
त्यसपछि पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेर पहिलो डोज खोप लगाएकाहरुको पालो आउँछ । उनीहरु भनेको करिब ११ लाख ५० हजार जना छन् । तर, उनीहरुलाई दोस्रो डोज खोप दिनका लागि न सरकारसँग मौज्दात छ, न कहीँबाट आउने प्रतिवद्धता नै भएको छ ।
यसको अर्थ, दोस्रो प्राथमिकतामा रहेर खोप लगाएका ११ लाख ५० हजार ६५ वर्षमाथिका वृद्धवृद्धा समस्यामा पर्नेछन् । उनीहरुले समयमै खोप लगाउन पाउने सम्भावना क्षीण बन्न थालेको छ ।
दोस्रो डोज लगाउन नपाए के हुन्छ ?
कोरोनाविरुद्धको पहिलो खोप लगाएको ८ हप्तादेखि १२ हप्तासम्म दोस्रो डोज लगाएमा प्रभावकारीरुपमा काम गर्ने जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित बताउँछन् । पहिलो डोज लगाएको कम्तिमा ३ महिनाभित्र दोस्रो डोज लगाउनै पर्ने हुन्छ ।
पहिलो डोज लगाएको ३ महिनाभित्रै दोस्रो डोज लगाउन नसकेको खण्डमा पहिलो डोजको प्रभावकारिता घट्ने दीक्षित बताउँछन् । यद्यपि खोपको पहिलो डोजमात्रै लगाएर दोस्रो डोज नलगाए पनि शरीरमा भने त्यसले अर्को असर नगर्ने उनको भनाइ छ ।
कोभिशिल्ड नआए अर्को खोपको दोस्रो डोज दिन मिल्छ कि मिल्दैन ?
विज्ञहरुका अनुसार कोरोनाविरुद्धको खोपको पहिलो डोज कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो डोज पनि त्यही लगाउनुपर्छ । किनभने, औषधिको उत्पादन गर्दा नै त्यही अनुसारको पदार्थ र एन्टीबडी बनाइएको हुन्छ । दोस्रो कुरा यो खोप आफैं ट्रायल पिरियडमा रहेको छ । जसका कारण अर्को खोपसँग तत्कालै ट्रायल गर्नसक्ने अवस्था पनि छैन । तर, यदि पहिलो डोज लगाएको खोप उपलब्ध नभएमा दोस्रो डोजका लागि अर्कै खोप लगाउन मिल्छ कि मिल्दैन भन्ने कुरा अहिलेसम्म न अध्ययन भएको छ, न कसैले ट्रायल गर्ने साहस नै गरेका छन् ।
खोप निर्माण गर्ने कम्पनीले पहिलो चरणको खोप मानौं कोभिशिल्ड खोप र दोस्रो चरणको खोप सिनोफार्मले उत्पादन गरेको खोप लगाउँदा के हुन्छ भनेर अध्ययन नगरेकाले तत्काल दुई चरणमा दुई थरी खोप लगाउँदा के हुन्छ भन्न नसकिने बताउँछन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डाक्टर शेरबहादुर पुन ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीरमणि दीक्षित पनि फरक–फरक कम्पनीका खोप लगाउन हुन्छ कि हुँदैन भन्ने बारेमा अध्ययन नभएकाले के हुन्छ भनेर अहिले नै भन्न नसकिने बताउँछन् ।
यसको अर्थ के हो भने चीन सरकारले दिने वा चीनको सिनोफार्ममा उत्पादन भएको खोपलाई दोस्रो डोजका रुपमा प्रयोग गर्न सकिने अवस्था छैन । कतिपयले चीनबाट आउने खोप लगाए भइहाल्छ नि भने पनि त्यस्तो ट्रायल गर्न सकिने अवस्था छैन ।
त्यसकारण, यदि भारतले खोप नदिएमा वा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप नेपालमा ल्याउन नसकेको अवस्थामा तत्कालै करिब १० लाख जनालाई दोस्रो डोज लगाउन खोपको अभाव हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले किन पाइरहेका छैनन् मासिक तलब ?
-
चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएका छन् : अध्यक्ष नेपाल
-
कटहरिया नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला
-
३ पटक उदघाटन भएर थलिएको ‘आयोजना बैंक’ फेरि कार्यान्वयन गर्ने तयारी
-
तेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
-
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा