शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माधव पक्षले अध्यक्ष ओलीसँग केन्द्रीय समिति बैठक बोलाउन माग गर्ने

शुक्रबार, १३ चैत २०७७, १० : १४
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । पार्टीभित्रको आन्तरिक किचलो बढ्दै गएका बेला नेकपा एमालेको माधव पक्षको केन्द्रीय समिति बैठक आज बस्दैछ । सो पक्षले काठमाडौँको कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुनुका साथै पार्टीमा देखिएको समस्याका बारेमा छलफल हुने माधव पक्षका नेता युवराज ज्ञवालीले जानकारी दिए । गत फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा एकतालाई मान्यता नदिएसँगै माओवादी केन्द्र र एमाले पूर्ववत अवस्थामा फर्किएका छन् ।

 


त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय भेला गरेर माधव पक्षका नेताहरुको जिम्मेवारी खोस्नुका साथै, विधान संशोधनका लागि प्रस्ताव र अर्को पार्टीका २३ नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । माधव पक्षले उक्त निर्णय ओलीले पार्टी विधान विपरित गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

 


माधव पक्षले आज बोलाएको बैठकमार्फत सर्वोच्चको फैसलापछि पूर्ववत अवस्थामा एमाले विधानअनुसार केन्द्रीय समिति बैठक बोलाउन ओलीसमक्ष आग्रह गर्ने निर्णय गर्ने ज्ञवालीले जानकारी दिए । ‘सर्वोच्चको फैसलापछि एमालेको विधान अनुसार केन्द्रीय समिति बोलाउनुपर्छ । हामी त्यस्तो बैठक बोलाउन हाम्रो भेलाले अध्यक्ष ओलीसँग आग्रह गर्छ’, ज्ञवालीले रातोपाटीलाई भने, ‘गत फागुन २३ पछि एमालेका नाममा भएका निर्णयहरु खारेज गर्नुपर्छ र सबै सहभागी हुनेगरी केन्द्रीय समिति बैठक बोलाउनुपर्छ । हाम्रोतर्फबाट त्यसैका लागि पहल हुनेछ ।’

 


यसअघि गत साता ओलीले बोलाएको केन्द्रीय समिति बैठक र संसदीय दलको बैठकमा माधव पक्षका नेताहरु सहभागी भएका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप