शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँको जमिन बाँझो, शहरका कौसीमा खेती

बिहीबार, १२ चैत २०७७, १८ : ४४
बिहीबार, १२ चैत २०७७

गुल्मी । आजकल सहर बजारमा घरका छत र कौसीमा तरकारी, फलफुल खेती र कुखुरा पालन गर्ने प्रचलन बढेको छ । युवा जनशक्ति वैदेशिक रोजगारमा गएका कारण गाउँघरका खेतबारी बाँझै रहे पनि सहरमा बसोबास गर्नेहरुले घरकै कौसीमा फलाएर ताजा तरकारीको स्वाद लिने गरेका छन् ।

यो कदमलाई अझ व्यवस्थित र व्यावसायिक बनाउन लागिपरेकी छन् गुल्मीको सदरमुकाम तम्घास, उदिनढुङ्गा बजार घर भएकी धना अधिकारी । पेसाले उनी शिक्षक हुन् । तम्घास कै अर्जुन आवासीय माध्यमिक विद्यालयमा विगत १९ वर्षदेखि पढाउँदै आएकी अधिकारी विद्यालय समयबाहेक कृषि उत्पादनमा ब्यस्त हुने गर्छिन् ।

‘गाउँमा छँदा खेतीपाती गरेको बानी, यता (तम्घास बजारमा) बसाई सराई गरेपछि खेतीपाती नगरी बस्न सकिनँ र कौसीमा तरकारी खेती र कुखरा पालन गरेकी छु,’ अधिकारी भन्छिन्, ‘आलुबाहेक घरलाई पुग्ने सबै प्रकारका तरकारी फलाउने गरेकी छु, बाहिर किन्न जानु पर्दैन ।’

उनको कौसीमा सबै प्रकारका हरियो तरकारी र फलफुलमात्रै होइन, लोकल कुखुरा पनि छन् । तरकारीका साथसाथै उनी मासुमा पनि आत्मनिर्भर भएकी छन् ।

पुर्ख्यौली घर गुल्मी कै मालिका गाउँपालिका–६, अर्जै गाउँबाट अधिकारीको परिवार १८ वर्ष अघि तम्घास आएको हो । उनका श्रीमान् भारतीय सेनाका जागिरे भएपछि कमाएको पैसाले तम्घासमा घर बनाएको उनले सुनाइन् ।

गाउँमा अहिले पनि १७ रोपनी खेतीयोग्य जमिन रहेको अधिकारी बताउँछिन् । टाढा भएकाले त्यो जमिनमा खेती गर्न जान नसकेको उनले बताइन् । आफू खेती गर्न जान नसकेका कारण दाजुभाइलाई नै गरिखान दिएको बताउने उनी गाउँको जमिनमा खेती गर्न नपाएकोमा पछुतो गर्छिन् ।

उनी भन्छिन्, ‘गाउँको जमिनमा खेती गर्ने मन अहिले पनि उत्तिकै छ तर समस्या बसाई सराईको हो । गाउँमा छँदा बर्सेनि ५ मुरी मकै, तीन मुरी कोदो र सात मुरी धान फलाउँथ्यौं, अहिले त दाजुभाइले केही जमिन बाँझो हुन दिनुभएको छैन, केही जमिन भने ख¥यान बनेको छ ।’

उदिनढुङ्गास्थित उनको तीन तले घरको छतमा लसुन, प्याज, खुर्सानी, सिमी, साग–पात, विभिन्न फलफुलका बोट छन् ।

उनका श्रीमान् सुभाष अधिकारी दुई वर्ष अघि भारतीय सेनाबाट सेवानिवृत्त भए पनि हाल भारतकै एक कम्पनीमा सुरक्षा गार्डको जागिरे छन् । अधिकारीका एक छोरा सरकारी जागिरे छन् भने दुई छोरीमध्ये एउटी तम्घास कै रेसुङ्गा माध्यमिक विद्यालय र अर्की छोरी आदर्श विद्या मन्दिरमा पढाउने गर्छन् ।

परिवारका सबै सदस्य जागिरे भएकाले आम्दानीको समस्या छैन । उनीहरु खाद्यान्नदेखि हरेक वस्तु बजारबाटै उपभोग गर्न सक्ने आर्थिक हैसियतका छन् । तर पनि घरकै कौसी प्रयोग गरेको भरमा तरकारी, फलफुल र मासुमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण छर छिमेकीहरुलाई दिएकी छन् अधिकारीले ।

उनीहरुको घर आसपासका केही खेतीयोग्य जमिन बाँझै देखिन्छन् । तर अधिकारी परिवारले कौसीमा तरकारी, फलफुल  खेती र कुखरा पालन गर्न सुरु गरेपछि छिमेकी रेसुङ्गा नगरपालिका–२ का वडाध्यक्ष उदयबहादुर थापासहित धेरै घर परिवारले कौसीमा तरकारी खेती सुरु गरेका छन् ।

उदिनढुङ्गामात्रै होइन, अचेल सदरमुकाम तम्घास बजारका अधिकांश घरका छत र कौसीहरू कृषिमय बनेको छ । तर उनीहरुको पुर्ख्यौली गाउँको जमिन भने बाँझोमा परिणत भएको छ ।

सदरमुकाम तम्घासबाट पैदल एक घण्टा समय लाग्ने रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा वडाध्यक्ष थम्मन केसीकै १५ मुरी धान फल्ने खेत बाँझै छ ।

विगतमा उनी शिक्षक थिए । सोही पेशामा लागे पछि सदरमुकाम तम्घासमा घर बनाए । वडाध्यक्ष केसी भन्छन्, ‘शिक्षक पेशाका कारण कृषि पेशा पेशा डुब्यो, १५ मुरी धान फल्ने खेत धेरै वर्षदेखि बाँझै छ ।’

उनकै दाजु–भाइ गुल्मीका पूर्व जिल्ला सभापति तथा नेपाली काँग्रेसका महासमिति सदस्य चन्द्र केसीको ३० देखि ३५ मुरी धान फल्ने खेत पनि वर्षौंदेखि बाँझै रहेको वडाध्यक्ष केसीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप