बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको एक वर्ष : निराशामा बित्यो पोखराको पर्यटन

बिहीबार, १२ चैत २०७७, १५ : ३५
बिहीबार, १२ चैत २०७७

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्ष चैतमा सरकारले निषेधाज्ञासहित बन्दाबन्दीको (लकडाउन) घोषणा ग¥यो । आन्तरिक तथा बाह्य पर्यटकले सधैँ भरिभराउ हुने पोखरालगायत देशभरका पर्यटकीय क्षेत्र लकडाउनका कारण सुनसान बने ।

विश्वव्यापी रूपमा कोरोना त्रास बढ्दै गएसँगै सरकारले छिमेकी देशसँगका सीमा नाका र अन्तर्राष्ट्रिय हवाई उडान बन्द ग¥यो । त्यसपछि झन् पर्यटकीय गतिविधि ठप्पै भयो । बन्दाबन्दी हुनु अगाडि नेपाल भ्रमणमा आएर यतै बसेका केही विदेशी पर्यटकबाहेक करिब ६ महिनासम्म पर्यटन क्षेत्रले विदेशी पाहुनाको मुख देख्न पाएन । कोरोना सङ्क्रमण फैलिने त्रासका कारण लामो समयसम्म आन्तरिक पर्यटनसमेत ठप्प भयो ।

कोरोना सङ्क्रमण फैलिएको झण्डै १ वर्ष पुग्न लाग्दा फाट्टफुट्ट रूपमा आन्तरिक पर्यटकसँगै शैक्षिक र विभिन्न सङ्घसंस्थाका भ्रमणको चहलपहल वृद्धि हुन थालेको अवस्थामा फेरि छिमेकी मुलुक भारतमा सङ्क्रमण वृद्धि भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । गण्डकी प्रदेशका अधिकांश जिल्लामा स्थानीय प्रशासनले सूचना जारी गरेर सभा, समारोह र भेला हुन नपाउने गरी पुनः रोक लगाएको छ ।

लामो समय ठप्प रहेको पर्यटन क्षेत्र केही महिनापछि बिस्तारै आन्तरिक पर्यटकको आगमनसँगै तङ्ग्रिन सुरु भएको थियो तर सोचेजस्तो व्यापार नभएको व्यवसायीले बताएका छन् ।

अहिले अन्तर्राष्ट्रिय हवाई उडान केही खुले पनि विदेशी पाहुना भित्रिन सकेका छैनन् । थोरै मात्रामा आएका विदेशी र केही आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र जेनतेन खुले पनि व्यवसाय धानिने अवस्था नरहेको पोखराका पर्यटन व्यवसायी गोविन्द शर्मा बताउँछन् । “सानो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भए पनि यसले व्यवसाय धानिने अवस्था रहँदैन,” उनले भने । “लामो समयदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुन ठूलो सङ्ख्यामा पर्यटकको आगमन हुनुपर्छ, सङ्ख्यात्मक वृद्धि भएपछि मात्र सबै क्षेत्रको पर्यटन व्यवसाय चलायमान हुन्छ ।”

उनले पछिल्लो समयमा क्रमशः वृद्धि भएको आन्तरिक पर्यटकको चहलपहलले व्यवसायीमा आशा जगाएको बताए । “लामो समयसम्म शून्य भएको पर्यटन क्षेत्रमा विस्तारै आन्तरिक पर्यटकको वृद्धि भएपछि व्यावसायीमा थोरै भए पनि खुसी थप्यो,” उनले भने, “आन्तरिक पर्यटकको आगमनले सामान्य खर्चको जोहो भए पनि यसले व्यवसाय धान्ने अवस्था भने छैन ।”

व्यवसायी शर्माले लामो समयसम्म पर्यटक आगमन रोकिएर व्यवसाय ठप्प भएको अवस्थामा पर्यटकीय क्षेत्रमा अधिकांश घरबेटीले घर भाडामा छुट दिएका कारण धेरै व्यवसायी व्यवसायबाट पलायन हुनबाट बचेको बताए । “अधिकांश घरबेटीले व्यवसायीको समस्या बुझेर अवस्था अनुसार घरभाडामा छुट दिएका थिए । त्यसले उनीहरुलाई केही आशा जगाएको छ । व्यवसायी व्यवसायीको अवस्था सुध्रिने र पर्यटक आगमन बढ्ने प्रतीक्षामा छन्,” उनले भने, “तर, विडम्बना कोरोना कहरको एक वर्ष पूरा हुँदासमेत राम्रो सङ्केत देखिएको छैन, केही दिनयता पुनः सङ्क्रमण वृद्धि भएको अवस्थाले व्यवसायीलाई तनाव बढाएको छ ।”

व्यवसायीका अनुसार होटलले सञ्चालन खर्च धान्न कम्तीमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्छ । तर अहिले त्यो अवस्था भने छैन । फेरि यतिबेला कोरोना सङ्क्रमणको त्रास बढ्दै जाँदा पाहुनाको घुमघाम रोकिने अवस्था आएको छ । केही दिनदेखि पोखरामा फाट्टफुट्ट मात्रामा भारतीय पर्यटकको आगमन हुन थालेपछि पर्यटन व्यवसायीमा आशा जगाएको थियो । तर केही दिनदेखि भारतमा एकाएक कोरोना सङ्क्रमण वृद्धि हुन थालेको छ । यसले पर्यटक आगमन पुनः रोकिने देखिएकाले व्यवसायीमा निराशा छाएको छ ।

गत चैतमा घोषणा गरेको लकडाउन छिट्टै हटेर व्यवसाय पुरानै लयमा फर्कने आशा गरेका व्यवसायीले करिब ६ महिनापछि व्यवसाय चलायमान बनाउन विभिन्न कार्यक्रम गरे । तर अहिले सामान्य सुधार मात्र आएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

विदेशी पर्यटकको आगमन तत्काल हुने सङ्केत नपाएपछि व्यवसायीले अहिले आन्तरिक पर्यटकलाई जोड दिएर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । आन्तरिक पछि पर्यटन व्यवसायीले भारतीय र चिनियाँ पर्यटकलाई जोडदिएका छन् । एक वर्ष बित्दा पनि पोखरामा सबै होटल र रेस्टुरेन्ट पूर्ण रूपमा खुल्न नसकेको व्यवसायीहरूको भनाइ छ ।

अहिलेसम्म करिब २५ प्रतिशत पर्यटन व्यवसायी व्यवसायबाटै विस्थापित भएको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचन बताउँछन् । उनले अहिले पोखराका होटलको अकुपेन्सी बढीमा १० प्रतिशत रहेको बताए । आन्तरिक पर्यटकले १० प्रतिशत धाने पनि व्यवसाय टिकाउ विदेशी पर्यटकको आगमन आवश्यक पर्ने अध्यक्ष तुलाचनले बताए । “आन्तरिक पर्यटकको आगमनले व्यवसायीलाई केही राहत भए पनि यो सङ्ख्या पर्याप्त छैन,” उनले भने । ‘ठूलो सङ्ख्यामा आबद्ध पर्यटनसँग सम्बन्धित व्यवसायलाई टिकाउनका लागि विदेशीसहित आन्तरिक पर्यटक आवश्यक पर्छ ।”

पर्यटनमा ठूलो लगानी भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आगमन आवश्यक रहेको व्यवसायीको भनाइ छ । कोरोना सङ्क्रमणपछिको यस अवधिमा करिब ५० प्रतिशत पर्यटक मजदुरले आफ्नो रोजगारी गुमाएका छन् । पोखराका करिब ७ सय होटल, ३ सय रेस्टुरेन्ट, करिब ५ सय पर्यटनसँग सम्बन्धित व्यवसाय रहेका छन् ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले एक दिन मात्र लकडाउन हुँदा १४ करोडको नोक्सानी हुने तथ्याङ्कमा उल्लेख गरेको छ ।

स्वास्थ्य मन्त्रालयले सभासम्मेलन नगर्न भन्दै विज्ञप्ती जारी गरेपछि व्यवसायीहरूमा फेरि बन्दाबन्दी हुन लागेको हो कि भन्ने आशङ्का पैदा भएको छ । स्वास्थ्य मन्त्रालयको विज्ञप्ति लगत्तै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

व्यवसायलाई असर पार्ने कुनै पनि कार्य नगर्न र बढ्दो कोरोना सङ्क्रमण रोक्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीमार्फत आग्रह गरेको अध्यक्ष कोइरालाले बताए । “लामो लकडाउनले नेपालको अर्थतन्त्रमा पु¥याएको असरबारे सबै जानकार छौँ”, उनले भने, “कोभिड–१९ मत्थर नभएको बेला सचेत बन्नुपर्छ, यसका लागि प्रशासनले सचेतताको लागि प्रचार गर्नुपर्छ । मास्क लगाउन र सामाजिक दूरी कायम गर्न सचेतना जगाउनुपर्छ ।”

लकडाउन र त्यसपछिको विषम परिस्थितिमा पोखरा उद्योग वाणिज्य सङ्घले नागरिकलाई सचेत रहन सार्वजनिक आह्वान समेत गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप