कोरोना फैलिने त्रास : उपत्यकाका तीन वटै जिल्लामा उच्च सतर्कता अपनाउन थालियो
काठमाडौं । पछिल्लो साता कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले छुट्टाछुट्टै निर्णयमार्फत कोरोनाको संक्रमण र रोकथामका लागि प्रभावकारी भूमिका खेल्न आम सर्वसाधारणमा अपिल गरेको छ ।
उपत्यकामा बढ्दो भीडभाड, त्यसमाथि नेपालीहरुको पर्व होली समेत भएकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न सचेत गरिएको छ । यस्तै भीडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले नियमित हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न समेत अनुरोध प्रशासनले गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।
यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । यस्तै प्रशासनले जारी गरेको विज्ञप्तिमा काठमाडौं उपत्यकामा बृद्धि भइरहेको संक्रमणको दरलाई न्यूनीकरण गर्नको निम्ति स्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्ने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दुरी कायम गरी आफ्नो दैनिक कार्य सञ्चालन गर्ने र समयसमयमा हात धुने कार्यलाई अनिवार्य पालना गर्न समेत अनुरोध गरिएको छ ।
यस्तै विद्यालय सञ्चालन भएको अवस्थामा विद्यार्थीहरुलाई अनिवार्य मास्क लगाउने व्यवस्था गर्ने, कक्षाकोठाको व्यवस्थापन सोहीअनुसार गर्ने, सेनिटाइजर प्रयोग गर्ने, हात धुन लगाउने कुरालाई अनिवार्य पालना गर्ने व्यवस्था गर्नसमेत अनुरोध गरिएको छ । यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक नै राखेर संक्रमण बढ्न नदिन सबै स्थानीय तहलाई विद्युतीय माध्यम तथा अन्य उपयुक्त माध्यमबाट चेतनामुलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै पहिले सञ्चालनमा आएका क्वारेन्टिन तथा आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने, मास्क, सेनिटाइजर र भौतिक दूरी कायममा कडाइ गर्ने तथा मास्क नलगाउनेलाई नियमानुसार कारबाही गर्ने निर्णय समेत भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । यस्तै रात्रिकालीन व्यवसाय ११ बजेपछि सञ्चालनमा रोक लगाउने, भिडभाड नगर्ने र सुरक्षाका मापदण्ड पनि कडाइका साथ पालना गर्नुपर्ने भएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि संक्रमण दरमा वृद्धि भएको भन्दै भीडभाड नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जिल्लामा भीडभाड र मेला महोत्सव गर्नु उचित नदेखिएको भन्दै त्यस्ता गतिविधि नगर्न अनुरोध गरिए बताए । ‘कोभिड–१९ को संक्रमणको जोखिमबाट बच्न भीडभाड हुने गरि कुनै किसिमको मेला,जात्रा,साँस्कृतिक कार्यहरु लगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन सम्बन्धित सबैमा जिल्ला अनुरोध गर्दछ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तै संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकताअनुसार तत्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने तथा सोका लागी आवश्यक समन्वय जिल्ला स्वास्थ्य कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
बुधबार देशभर १४५ जनामा संक्रमण पुष्टि
बुधबार देशभर १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९६३ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ११८२ जना सक्रिय संक्रमित रहेका छन् । भारतका विभिन्न राज्यमा कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि नेपालमा पनि त्रास फैलिनुका साथै पछिल्लो साता संक्रमण दर समेत बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान