बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

मिथिला विहारी नगरपालिकामा गणक पदको परीक्षाफल प्रकाशनमा अनियमितता

बुधबार, ११ चैत २०७७, १९ : ११
बुधबार, ११ चैत २०७७

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिकाले परीक्षाफल प्रकाशनमा मनोमानी गरेको आरोप लागेको छ । नगरपालिकाले गणकको लागि आवेदन माग गरेपनि लिखित परीक्षामा फेल भएको परीक्षार्थीको नाम प्रकाशन गरेको भन्दै सहभागी परीक्षार्थी नै विरोधमा उत्रेका छन् ।

गणक पदका लागि आवेदन दिएका मध्ये ७ जनालाई मात्र प्रयोगात्मक तथा अन्तवार्ताका लागि छनोट गरेको थियो । तर परीक्षाको परिणाम प्रकाशन गर्दा लिखतमै फेल भई छनोटमा नपरेकोलाई अन्तरवार्ता नै नलिई स्थानीय प्रतिमा मण्डलको नाम प्रकाशन गर्दा मिथिला विहारी नगरपालिकामा विवाद भएको छ ।

यस नगरपालिकाले पुस १० गते करार सेवामा गणक पदका लागि १५ दिने आवेदन दिन मागसहितको सूचना प्रकाशन गरेको थियो । सो सूचनाको आधारमा आवेदन दिएकाहरु मध्ये माघ २३ गते अन्तवार्ताका लागि ७ जनाको नाम प्रकाशन गरेको थियो ।

अन्तर्वार्ता लिएको एक सातापछि ८ जनालाई उत्तिर्ण भएको भनि नगरपालिकाले नामावली प्रकाशन गरेको थियो । यसमध्ये ५ जना जागिरका लागि सिफारिस र ३ जनालाई वैकल्पिक उम्मेदवारको नाम प्रकाशन गरेको थियो ।

अन्तर्वार्ताका लागि मिथिला विहारी नगरपालिका वडा नम्बर ३ का बस्ने संजीव कुमार मण्डल, वडा नम्बर ८ बस्ने सोचिता यादव, वडा नम्बर ६ बस्ने पुनमकुमारी यादव, सत्यम कुमार झा, वडा नम्बर ३ बस्ने कुमारी रुपमा कान्ता, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बस्ने पुनमकुमारी यादव र मुखियापटी मुसहरनिया गाउँपालिका बस्ने विणा झाको नाम प्रकाशन गरेको थियो  भने सोही अनुसार अन्तर्वार्ता तोकेको समयमै नगरपालिकाले लिएको थियो ।

तर परीक्षाफल प्रकाशन गर्दा मिथिला बिहारी बस्ने पुनम कुमारी यादव, जनकपुरधाम बस्ने पुनमकुमारी, सोचिता यादव, वीणा झा र अन्तर्वार्ता नै नदिएकी प्रतिमा मण्डलसहित ५ जनाको नाम सिफारिस उम्मेदवारका लागि नामावली प्रकाशन गरेको थियो । अन्तवार्ता नै नदिएका प्रतिमा मण्डलको नाम उत्तिर्ण भएको नामावलीमा प्रकाशित भएपछि परीक्षार्थी सत्यम कुमार झाले आर्थिक लेनदेन भएको आरोप लगाए । यस आरोप प्रति प्रशासकीय अधिकृत वीरेन्द्रलाल कर्ण र नगर प्रमुख अनिल कुमार यादव केही बोल्न चाहेका छैनन् ।

नगरपालिकाले गरेको गल्तीविरुद्ध आफूले जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला समन्वय समिति धनुषा र अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बर्दिवासमा निवेदन दर्ता गराएको परीक्षार्थी झाले बताए । उनले भने, 'नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण र नगर प्रमुख यादवले अन्तर्वातामा सहभागी नै नभएकाको नाम प्रकाशित गरी चुपी साधेको छ ।'

नगरपालिकाले आवेदनको माग, अन्तर्वार्ता र सिफारिस भएका उम्मेदवार बारे सूचना आफ्नो अधिकारिक वेबसाइटमा सार्वजनिक नगरी सामाजिक सञ्जाल फेसबूक पेजमा राखेका थिए । तर सो परिक्षा परिणाम प्रकाशित भएपछि नगरपालिकाले त्यसलाई सच्याएर अन्तरवार्ता नामावलीमा प्रतिमाको नाम थप गरी ८ जना बनाएका छन् ।

यस घटना बारे नगरपालिकाका प्रशासकीय अधिकृत वीरेन्द्र लाल कर्णले प्राविधिक त्रुटिले गर्दा ७ जनाको नाम मात्रै प्रकाशन भएको थियो । आफूलाई थाहा भएपछि तुरुन्त सच्याएर ८ जना नाम प्रकाशन गरेको भने ।

प्रशासकीय अधिकृत कर्णले भने, 'आरोप लगाउने व्यक्ति जिल्ला प्रशासन कार्यालय, जिसस र अख्तियार आयोगमा समेत गएको छ । सम्बन्धित निकायबाट अनुसन्धान भएपछि नगरपालिकाबाट स्पष्टीकरण सहित जवाफ समेत पठाइसकेका छौं । नगरपालिकाको गल्ती ठहरेमा म कारवाही भोग्न तयार छु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप