शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगी व्यवसायीको एउटै स्वर : फेरि लकडाउन नहोस्

यस्तो छ सरकारलाई व्यवसायीको सुझाव
बुधबार, ११ चैत २०७७, १७ : ०६
बुधबार, ११ चैत २०७७

काठमाडौं । एक वर्षअघि आजकै दिन अर्थात् २०७६ चैत ११ मा सरकारले कोरोना (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी ‘लकडाउन’ घोषणा गरेको थियो । लकडाउन र निषेधाज्ञाका कारण करिब ६ महिना मुलुकमा व्यापार–व्यवसाय लगायतका गतिविधि ठप्प प्रायः रहे ।

दुःखद संयोग नै मान्नुपर्छ, २०७७ चैत ११ सम्म आइपुग्दा जनस्वास्थ्यविदहरुले कोरोना संक्रमणको दोस्रो लहर फैलन सक्ने चिन्ता प्रकट गरिरहेका छन् । उनीहरुले स्वास्थ्य सुरक्षा सतर्कतामा ध्यान दिन सरकारलाई घच्घच्याउन थालेका छन् ।

कोभिड–१९ को विश्व महामारीका कारण गत वर्ष सरकारले चैत ११ गतेदेखि करिब ४ महिना लकडाउन घोषणा गरेको थियो । संक्रमणको जोखिम कायम रहेका केही क्षेत्रमा त्यसपछिका केही महिना निषेधाज्ञा जारी भयो । जसका कारण आम सर्वसाधारणको जनजीवन निकै कष्टपूर्ण बनेको थियो भने मुलुककै अर्थतन्त्र पनि नराम्ररी प्रभावित भयो ।

लकडाउनको प्रतिकुल प्रभाव

लकडाउन, लकडाउनपछिको निषेधाज्ञा र चरम आर्थिक संकटबाट गुज्रिएको मुलुकले सो अवधिमा झण्डै सवा खर्बको नोक्सान बेहोरेको विभिन्न तथ्याङ्कले देखाउँछ ।

केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने गत वर्ष मुलुकको आर्थिक वृद्धिदर १.९९ प्रतिशतले नै ऋणात्मक भएको छ । अझ कोरोनापछिको लकडाउनका कारण उक्त दर १५.४ प्रतिशतमा खुम्चिन पुगेको विभागको भनाइ छ ।

गत वैशाखमा २.२७ प्रतिशतको आर्थिक वृद्धिदरको आँकलन गरेको विभागले जेठ महिनाबाट आर्थिक गतिविधि नियमित हुने अनुमान गरेको थियो । तर असारसम्म बन्दाबन्दीको अवस्था रहेपछि देशको आर्थिक वृद्धिदरमा ठूलै झट्का लाग्न पुग्यो । कोभिड–१९ को महामारीले मुलुक लकडाउनमा जाँदा उद्योगधन्दा, कलकारखाना, व्यापार–व्यवसाय ठप्प भएर मुलुकको उत्पादनमा ह्रास आउनका साथै ठूलो आर्थिक संकट उत्पन्न हुन पुग्यो ।

नेपाल राष्ट्र बैंकका अनुसार कोभिड कालमा मुलुकको झण्डै ७३ प्रतिशत उद्योगधन्दा उत्पादनविहीन रहे । ३.३ प्रतिशत हिस्सामा रहेका ठुला उद्योगलाई छाड्ने हो भने ९६.७ प्रतिशत उद्योगमध्ये ७३ प्रतिशत उद्योग तथा कलकारखानाको उत्पादन घटेको बैंकको तथ्याङ्कले देखाएको छ । बैंकका अनुसार बन्द हुने तथा उत्पादनमा जान नसक्ने अधिकांश उद्योगहरुमा साना, लघु तथा मझौला उद्योग छन् ।

राष्ट्र बैंककै तथ्याङ्कमा टेकेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको तथ्याङ्कले समेत कोभिड–१९ का कारण कुल उद्योगको १०.८१ प्रतिशत पूर्णरुपमा बन्द हुन पुगेको र अधिकतम ८९.१९ प्रतिशत उद्योग आंशिक मात्र उत्पानमा गएको देखाएको छ ।

सो तथ्याङ्कअनुसार बन्द हुने उद्योगहरुमा अधिकांश लघु, घरेलु तथा साना उद्योग नै छन् । लकडाउनकै कारण सो अवधिमा अधिकतम २२.५ प्रतिशतले रोजगारी गुमाएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

कोरोना संक्रमणका कारण मुलुकले ४ दशकयताकै कठिन अर्थतन्त्रको सामना गर्नुप¥यो । पछिल्लो समय विस्तारै उठ्दै गरेको मुलुकको अर्थतन्त्रमा फेरि संकट आउने त होइन भन्ने आशंका बढ्न थालेको छ ।

फेरि लकडाउनको त्रास

छिमेकी मुलुक भारतसहित विश्वका केही मुलुकमा कोभिडको दोस्रो लहर आउन थालेको समाचार प्रकाशमा आइरहेका छन् । खुला सीमा भएका कारण भारतमा संक्रमणको दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

मंगलबारमात्र भारतमा एकैदिन २ लाख जनामा कोभिड–१९ को संक्रमण देखिएको समाचार प्रकाशमा आएको छ । नेपालमै पनि विगत दुई दिन यता सयभन्दा बढीको संख्यामा संक्रमित फेला परेका छन् । जबकि केही महिना यता नेपालमा संक्रमितको संख्या दैनिक सयभन्दा कम रहँदै आएको थियो ।

 


यो अवस्थाले फेरि मुलुकमा लकडाउन हुने त होइन भन्ने आशंका उब्जाएको छ । यिनै आशंकाका बीच उद्योग–व्यवसाय क्षेत्र पनि चिन्तित देखिन थालेको छ ।

कोरोना संक्रमणको दोस्रो लहरको खतरा, लकडाउनको सम्भावना लगायतका विषयमा आधारित रातोपाटीले केही उद्योगी तथा व्यवसायीसँग प्रतिक्रिया लिएको छ । प्रस्तुत छ, उनीहरुका भनाइ जस्ताको त्यस्तै–  

लकडाउन मात्र समस्याको समाधान होइन

राजेशकाजी श्रेष्ठ (अध्यक्ष, चेम्बर अफ कमर्स)

अब फेरि लकडाउन ! त्यो मुलुकले सोच्न पनि सक्दैन । किनकि लकडाउनको तितो र नमिठो अनुभव हामीले बेहोरिसक्यौँ, जुन आज पर्यन्त हामीले बेहोर्दै छौं । अहिले पनि कयौं उद्योग कल–कारखाना सञ्चालनमा आउन सकेका छैनन् । प्रमुखतः मुलुकको पर्यटन क्षेत्र अहिलेसम्म उठ्न सकेको छैन । मुलुकको उत्पादन, वैदेशिक व्यापार आजको दिनसम्म सहज हुन सकेको छैन । यस्तो अवस्थामा फेरि हामी कसरी लकडाउनमा जान सक्छौं र ? लकडाउनमात्र समस्याको ‘सोलुसन’ हो र ? अब लकडाउनमा जाने भन्दा पनि सचेत र संयमित हुने हो । सम्भावित समस्याको पूर्वतयारीमा बस्ने हो, न कि लकडाउन गर्ने ।

पहिलेको कमी कमजोरीबाट पाठ सिकेर अब हामी फेरि लकडाउनमा जानु हुँदैन । हामी निजी व्यवसायीहरुको तर्फबाट सरकारलाई यही सल्लाह–सुझाव दिन चाहन्छौं कि समस्या नै आइहाल्यो भने पनि पहिलेजस्तो लहडको भरमा आपतकालीन लकडाउन घोषणा नगरियोस् ।

मुलुकका लागि त्योजस्तो दुर्भाग्य अरु हुन्न

दिनेश श्रेष्ठ  (उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ)

फेरि पनि मुलुक लकडाउनमा जाने अवस्था आयो भने मुलुकका लागि त्यो जस्तो दुर्भाग्य अरु हुन्न । किनकि भर्खरमात्र हामी डुबेको अर्थतन्त्रबाट तङ्ग्रिदै छौं । फेरि पनि लकडाउनमा गइयो भने त जहाज डुबिहाल्यो नि !

कोभिड–१९ का कारण बिग्रिएको अर्थतन्त्र, ‘चेन अफ इकोनोमी’ विस्तारै लयमा आउन थालेको बेला फेरि लकडाउनमा गइयो भने त सबै ध्वस्त हुन्छन् । परिणामतः यस्तो परिस्थितिले निजी क्षेत्रलाईमात्र नभएर मुलुकै अर्थतन्त्र डामाडोलको स्थिति बन्न सक्छ । त्यसैले हामी पुनः लकडाउनको त परिकल्पना पनि गर्न सक्दैनौं ।

अब भनेको समस्या आइहाल्यो भने पनि सुरक्षित र संयमित भएर त्यसको सामना गर्ने हो । सुरक्षित भएर काम गर्ने हो । तर, यसको पूर्वतयारी भने सरकार–निजी क्षेत्र कसैमा पनि खासै देखिँदैन । यति ठूलो पाठ सिकिसक्दा समेत अहिलेसम्म हाम्रो ध्यान पूर्वतयारीमा छैन । कोभिड–१९ को दोस्रो लहर छिमेकी देशमा देखा परिसकेको अवस्थामा नेपालले त्यसको पूर्वतयारी गर्नुपर्ने हो । सीमा नाकाहरुमा कडाई, चेकजाँचलाई तीव्रता दिनुपर्ने हो । तर त्यसो हुन सकेको छैन । हामी सरकारसँग अबिलम्ब त्यसको प्रवन्ध मिलाउन माग गर्दछौं ।

सुरक्षित रही कसरी आर्थिक गतिविधि चलायमान बनाउने भन्नेतिर लाग्नुपर्छ

उमेशप्रसाद सिंह (कार्यवाहक अध्यक्ष, लघु, घरेलु तथा साना उद्योग महासंघ)

आवश्यक परेपछि आविष्कार हुन्छ । हामी कोभिड–१९ को सम्भावित दोस्रो लहरबाट आत्तिएका छैनौं । तर सचेत र संयमित भने अवश्य छौं । यसका लागि पूर्वतयारीमा रहन हामी सरकारलाई अपिल पनि गर्न चाहन्छौं ।

पहिलेजस्तो अवस्था अहिले होइन । किनकि यस्तो विश्व महामारी आउला र सबै क्षेत्र अस्तव्यस्त होला भनेर पहिला कसैले पनि सोचेको थिएन । तर अहिले त हामीले पाठ सिकिसकेका छौं नि । समस्या भोगिसकेका छौं नि । अब पनि चुप लागेर बस्ने छुट हामीलाई छैन, सरकारलाई छैन । सम्भावित समस्याको पूर्वतयारीमा सरकार लाग्नुपर्छ ।

समस्या पर्दा हामी निजी क्षेत्र, साना, लघु तथा घरेलु उद्योगहरूले सरकारलाई सकेको सहयोग गरेकै हो । मुलुक आर्थिक संकटमा फस्दा व्यवसायीहरुले आफु समस्या परेरै भए पनि ट्याक्स, भ्याट, भन्सार तिरेकै हुन् । राज्यलाई सहयोग गरेकै हुन् । अब सरकारले त्यसैलाई मात्र हेरेर हुन्न । आफ्नो दायित्व पनि बोध गर्नुपर्छ । संकटमा कसरी व्यवसायी र नागरिकहरुलाई सुरक्षित राख्ने भन्ने पूर्वतयारी गर्नुपर्छ । अब लकडाउन गर्नेतर्फ भन्दा पनि सुरक्षित रही कसरी आर्थिक गतिविधि चलायमान गर्ने भन्नेतर्फ सरकार लाग्नुपर्छ । यता तर्फ लाग्न म सरकारलाई आग्रह गर्न चाहन्छु ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप