बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भीमफेदी–कुलेखानी सडक भोलिबाट संचालन हुने

मङ्गलबार, १० चैत २०७७, १५ : ५२
मङ्गलबार, १० चैत २०७७

मकवानपुर । काठमाडौं–हेटौंडा जोड्ने छोटो दुरीको भीमफेदी–कुलेखनी–काठमाडौं सडक खण्ड बुधबारबाट संचालनमा आउने भएको छ ।

बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले दुई महिनादेखि हेटौँडा कुलेखानी हुँदै काठमाडौं तर्फको यातायात सेवा बन्द गराइ सडक मर्मतको काम गरिरहेको थियो । लक्ष्य अनुसारको मर्मतको काम सम्पन्न भएकाले सो सडकमा बुधबारदेखि नियमित रुपमा यातायात सेवा संचालनमा आउने निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार १८ करोड रुपैयाँ लागतमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको ८ किलोमिटर सडक र १६ करोड रुपैयाँ लागतमा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको ७.५ किलोमिटर सडक स्तरोन्नतीको काम सम्पन्न गरेको छ ।

बागमती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि सो सडक मर्मत तथा स्तरोन्नती गर्न उक्त रकम विनियोजन गरेको थियो ।

यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. सहदेव भण्डारीले भीमफेदीदेखि कुलेखानीको हेबीचौरसम्म सडक खण्डलाई फराकिलो बनाउनुको साथै ढल र पर्खालको निर्माण गरिएको बताए ।

उनले भने, ‘भीमफेदीदेखि कुलेखानीको हेबी चौरसम्म साढे १५ किलोमिटर सडकमा अहिले कालोपत्र गर्ने कार्य भइरहेको छ । आगामी जेठ मसान्तभित्रै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ निर्माण कम्पनीलाई निर्देशनसमेत दिइएको छ ।’

भीमफेदी–कुलेखानी सडक खण्ड बन्द हुँदा सो सडक भएर संचालन हुँदै आएका यातायातहरू त्रिभुवन राजपथ तथा कान्ति लोक पथबाट संचालन गरिदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप