शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माइतीघरमा रेशम चौधरीको रिहाइको लागि आन्दोलन, जस लिन होडबाजी

मङ्गलबार, १० चैत २०७७, १३ : ५५
मङ्गलबार, १० चैत २०७७

 जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीको रिहाइको एजेण्डासहित सरकारसँग वार्ता गरिरहेकै समयमा अन्य पार्टीमा संघ संगठनले समेत रिहाइको मागसहित आन्दोलन शुरु गरेका छन् । चौधरीको रिहाइको माग गर्दै राजधानीको माइतीघर मण्डलामा काँग्रेस, एमाले र माओवादी समर्थित थारु संघ संगठनले आन्दोलन थालेका हुन् ।  आन्दोलन थाल्नुअघि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटेका थिए । माइतीघर मण्डलामा थारु कल्याणकारीणी सभा र थरूहट, थारुवान संयुक्त संघर्ष समितिले चैत ८ गतेदेखि संयुक्त रुपमा धर्ना सुरु गरेका छन् ।

थरुहट, थारुवान संयुक्त संघर्ष समितिमा नेपाली काँग्रेसको नेपाल थारु संघ, एमालेको नेपाल लोकतान्त्रिक थारु संघ र माओवादी केन्द्रको थारु राष्ट्रिय मुक्ति मोर्चा रहेका छन् । चौधरी टीकापुर घटनाका मुख्य दोषी मानिन्छन् ।

यद्यपी राजपालगायतले टीकापुर प्रकरणलाई राजनीतिक घटनाको रुपमा दावी गर्दै उनको रिहाइको माग गर्दै आएको छ भने पछिल्लो समय होडबाजी नै देखिएको हो । थरुहटमा रेशम चौधरीको रिहाइसँग कतिपय नेताहरुको भविष्य जोडिएको छ । त्यही भएर रेशम चौधरी कसको पहल र दवावमा रिहाइ भएको कुरामा होडबाजी चलेको बताइएको छ । चौधरीको रिहाइ भए आफूहरुकै जोडबलमा सम्भव भएको देखाउने र राजनीतिक फाइदा लिने दाउ भएको कतिपयको भनाइ छ ।

 टीकापुर राजवन्दी रिहाइ अभियानका संयोजक सुरेन्द्र चौधरीले जसपा नेपालले चौधरीको रिहाइको पहल गरिरहेको बेला काँग्रेस, माओवादी केन्द्र र एमाले सम्वद्ध थारु नेताहरुले माइतीघरमा नाटक सुरु गरेको टिप्पणी गरे ।

उनले भने, शेरबहादुर देउवा, प्रचण्ड र केपी ओली पटक पटक प्रधानमन्त्री भए अनि त्यतिबेला रेशम चौधरीको रिहाइका लागि किन दवाव दिन सकेनन्, रिहाइ गराउनका लागि किन पहल गरेनन्? अहिले एउटा मधेसवादी दलले आफ्नो राजनीतिक क्यारियर दाउमा राखेर रेशम चौधरीको रिहाइका लागि लागिपरेको छ, त्यहीबीचमा छिरेर जस लिन खोज्नु भएको हो ।’

राजपाले चौधरीलाई रिहाइ गराउन सफल भए थारुहरु मधेशी दलप्रति नै आकर्षण हुनसक्ने डर काँग्रेस, माओवादी र एमालेका नेताहरुमा देखिएकाले भ्रातृ संगठनलाई माइतीघरमा परिचालन गरिएको उनको आरोप छ ।

तर, थारु कल्याणकारीणी सभाका महामन्त्री प्रेमीलाल चौधरीले आफूहरुले विगतदेखि चौधरीको रिहाइका लागि आन्दोलन गर्दै आएको दावी गरे । ‘जसपा नेपालले के गरिरहेका छन् त्यो हाम्रो जानकारीमा छैन’, उनले भने, ‘थारु कल्याणकारी सभा स्वतन्त्र संस्था हो, त्यसको माध्यमबाट सकारलाई दवाव दिन यो संघर्षका कार्यक्रमको आयोजना गरिएको हो ।’

उनले आफूहरुले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अ‍ोलीलाई पनि ज्ञापनपत्र दिएर ध्यानाकर्षण गराएको बताउँदै संघर्षका कार्यक्रम माग पूरा नभएसम्म जारी रहने बताए ।

जसपा नेपालले चौधरीलाई रिहा गराउन अन्तिम प्रयास गरिरहेको बेला जस लिनका लागि हतार हतारमा माइतीघरमा आन्दोलन सुरु गरेको आरोप छ नि भन्ने जिज्ञासामा उनले त्यो आरोपको बारेमा आफ्नो केही टिप्पणी नरहेको प्रतिकृया दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन टीकापुर घटनामा दोषी रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेका धनीराम थारु पनि पुगेको बताइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप