शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्थलगत रिपोर्ट : भारतमा कोरोना संक्रमण बढ्यो, सीमामा छैन सतर्कता

चेक जाँचविना भारतबाट धमाधम भित्रिँदै
मङ्गलबार, १० चैत २०७७, १३ : ४४
मङ्गलबार, १० चैत २०७७

कैलालीबाट टंक कुँवर, रुपन्देहीबाट तेजेन्द्र केसी

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ । कोरोना संक्रमण दर बढ्न थालेपछि भारतका विभिन्न राज्यका प्रमुख सहरमा लकडाउन गरिएको छ । भारतमा संक्रमण दर बढेलगत्तै त्यहाँका विभिन्न सहरमा लकडाउन हुन थालेपछि रोजगारीका सिलसिलामा गएका कयौं नेपाली स्वदेश फर्कन थालेका छन् । केही दिनयता सीमा नाकामा स्वदेश फर्कंदै गरेका नेपालीहरुको चाप बढ्न थालेको छ ।

यद्यपि सीमा नाकामा पर्याप्त चेकजाँचसहित स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन भने संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले खासै चासो देखाएको पाइँदैन । जसले गर्दा संक्रमण फैलिएका भारतीय क्षेत्रबाट आउने नेपालीहरुमार्फत नेपालमा पनि कोरोना संक्रमण फैलने खतरा बढ्दै गएको स्वास्थ्यविद्हरुको चिन्ता छ ।

भारतबाट आउनेलाई सीमा नाकामा ज्वरो परीक्षण तथा नाम, ठेगाना टिपेर प्रवेश दिने गरेको पाइन्छ । केही नाकामा शंकास्पदको एन्टिजिन परीक्षण गर्न थालिए पनि कतिपय नाकामा हेल्थ डेस्कसमेत नरहेको पाइएको छ ।

पछिल्ला दिन सीमा नाका हुँदै नेपाल भित्रिएका केहीमा कोरोना संक्रमणसमेत पाइएको छ । तर, संक्रमित व्यक्तिलाई सुरक्षित रुपमा आइसोलेसनमा पठाउने वा निगरानीमा राख्ने सवालमा भने अझै प्रभावकारी व्यवस्था हुन सकेको छैन ।

त्रिनगर नाकामा यस्तो छ व्यवस्था

सुदूरपश्चिम प्रदेशको त्रिनगर भन्सार नाकाबाट दैनिक करिब ३०० को संख्यामा नेपालीहरु स्वदेश भित्रिने गरेका छन् । भारतको विभिन्न सहरबाट आउने उनीहरुमध्ये केही शंकास्पदको सामान्य परीक्षण गरिन्छ भने कतिपयलाई चेकजाँचविना नै प्रवेश दिने गरिएको छ ।

तर स्वास्थ्य सहायता केन्द्रका इञ्चार्ज गणेश साउद भने सीमा नाकामा सजगता अपनाइएको दाबी गर्छन् । हालसम्म ११६ जनाको एन्टिजन परीक्षण गरिएकोमा २ जनामा ‘पोजेटिभ’ देखिएको छ । त्यसो त, दैनिक ३०० को हाराहारीमा प्रवेश पाउने सीमा नाकामा अहिलेसम्म ११६ जनाको मात्र एन्टिजिन परीक्षण हुनुले भारतबाट भित्रिनेका कारण संक्रमण बढ्ने जोखिम छैन भनेर विश्वास गर्न नसकिने जानकारहरु बताउँछन् ।

साउदका अनुसार हालसम्म फेला परेका दुई संक्रमितमध्ये कैलालीको कैलारी गाउँपालिकाका एकजना र गोदावरी नगरपालिका–४ का एकजना छन् । गोदावरी नगरपालिकाका संक्रमित भारतको बेंगलोरबाट आएका हुन् भने कैलारी गाउँपालिकाका संक्रमित भने मुम्बईबाट आएका हुन् ।

सीमा नाका हुँदै नेपाल भित्रिने सबैको ‘ईन्ट्री’ गरिनुका साथै थर्मोमिटरबाट ज्वरो नापेर पठाउने गरिएको उनले बताए । मंगलबार बिहान रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘जटिलता त छ, आजमात्र १५० जना भित्रिएका छन्, सबैको कोभिड परीक्षण गर्ने हो भने जनशक्ति चाहिन्छ । अहिले भएको जनशक्ति पर्याप्त छैन ।’

अहिलेको जनशक्तिका आधारमा प्रत्येक दिन शंकास्पद करिब २० जनाको परीक्षण हुने गरेको साउदको भनाइ छ । ‘अहिले स्वास्थ्य कार्यालय धनगढीबाट ६ जना र कञ्चनपुरको पुनर्वास नगरपालिका बाट ३ जना स्वास्थ्यकर्मी खटिएका छौं,’ उनले भने, ‘हामीलाई न जोखिम भत्ता दिइएको छ, न त जनशक्ति बढाएको छ । काम गर्न अप्ठ्यारो छ ।’

नाकामा खटिएकामध्ये दुईजना स्वास्थ्यकर्मी आउनै छाडेको जानकारी दिँदै उनले भने, ‘थोरै जनशक्तिले यतिका भिडलाई थेग्न सक्दैनौं ।’ कोभिड–१९को जोखिम न्युनीकरणका लागि सरकारले नाकामा बढीभन्दा स्वास्थ्यकर्मी नपठाउँदासम्म संक्रमण भित्रिने जोखिम कायमै रहने उनको ठहर छ ।

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले भारतमा कोरोनाको दोस्रो लहर देखिएपछि धनगढी क्षेत्रलाई कसरी सुरक्षित गर्ने र क्वारेन्टिन व्यवस्थापन गर्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको बताए । ‘अहिले क्वारेन्टिन छैन, कसरी व्यवस्थापन गर्ने भन्नेबारे विचार विमर्श भइरहेको छ,’ उनले भने, ‘नगरप्रमुख नृपबहादुर वड बाहिर रहेकाले उहाँ आइसकेपछि ठोस निर्णय गरेर अघि बढ्ने छौं ।’

सुनौली नाकामा पनि छैन स्वास्थ्य सतर्कता

कोरोना कहरले भारतका विभिन्न सहर प्रभावित भइ लकडाउन गरिएको भए पनि ती सहरबाट फर्कने नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको अवस्थामा समेत सुनौली नाकामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको छैन ।

मंगलबार बिहान सुनौली नाकाको स्थलगत अवलोकन गर्दा अधिकांश नागरिक विनामास्क निर्वाधरुपमा आउजाउ गरिरहेका थिए । भारतबाट स्वदेश फर्कने नेपालीहरुको संख्या उल्लेख्य रहे पनि उनीहरुमार्फत नेपालमा संक्रमण भित्रिन सक्ने जोखिमका बाबजुद यो नाकामा सरकारी पक्षको व्यवस्थापन फितलो देखिन्थ्यो ।

सरकारी पक्षले यो नाकामा भारतमा एक हप्ताभन्दा धेरै बसेर फर्किएका व्यक्तिहरुको रेकर्ड राख्ने काम सुरु गरेको दुई दिनमात्र भएको छ । लामो समय भारत बसेर फर्किएकाहरुलाई सामान्य रुपमा ‘थर्मल गन’ले ज्वरो नापेर पठाउने गरिएको छ भने नगरपालिकाका कर्मचारी र प्रहरीले उनीहरुको रेकर्ड राख्ने गरेका छन् ।

उता भारत जानेहरुलाई पनि भारतीय सुरक्षा संयन्त्रले रेकर्ड राखेर परिचयपत्रका आधारमा पठाउने गरेको देखिन्थ्यो ।

रोजगारीका लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकाले सीमा क्षेत्रमा जोखिम बढेको भन्दै नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क सक्रिय बनाएको जनाएको छ । तर, सुनौली नाकामा अझैसम्म हेल्थ डेस्क स्थापना भएको छैन । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार हेल्थ डेस्क राखेर चेकजाँच गर्ने तयारी भइरहेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले स्वास्थ्य कार्यालयकै पहलमा सीमा क्षेत्रमा दुईवटा टेन्ट निर्माण भइरहेको बताए । पोजेटिभ देखिएमा अइसोलेटका लागि क्वारेन्टिनमा राख्ने योजना बनाएको उनको भनाइ छ ।

हेल्थ डेस्कका लागि आवश्यक जनशक्ति स्थानीय सरकारले र सामग्री स्वास्थ्य कार्यालयले उपलब्ध गराउने गरी तयारी भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक तथा कोभिड फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए ।

नागरिकको पनि लापरवाही

सुनौली नाका हुँदै सर्वसाधारणहरु चिनी खरिद गर्नेदेखि औषधि किन्नका लागि पनि दैनिकजसो भारतीय बजार जाने गर्दछन् । रोजगारीका लागि जाने र फर्कनेको संख्या पनि उत्तिकै हुन्छ । भारतमा कोरोनाको दोस्रो लहर फैलिसकेको अवस्थामा समेत यहाँका नागरिकले सतर्कता अपनाएको पाइँदैन ।

भन्सार कार्यलय बेलहियामा एजेन्टको काम गर्ने भारत सिद्धार्थनगरका सागर श्रीस्वातले विना मास्क, विना सेनिटाईजर आफू दैनिक आउजाउ गरिरहेको रातोपाटीलाई बताए ।

उनले भने, ‘म दैनिक आउने जाने गर्छु, तर अझैसम्म यहाँ कोरोनाको समस्या देखिएको छैन, त्यसैले मैले मास्क पनि लगाएको छैन ।’

मंगलबार बिहान पाल्पाको बराङ्गीका राजेश बस्याल सुनौली नाका हुँदै भारतको हैदरावादतर्फ प्रस्थान गरेका छन् । उनले कोरोनाबारे हल्ला धेरै भएको भन्दै सतर्कता अपनाएर हिँड्नुपर्ने बताए । ‘म हैदरावादको कलेजमा काम गर्छु, बिदामा घर आएको थिएँ,’ उनले भने, ‘कोरोनाका बारेमा धेरै हल्ला चलेको छ, सर्तकता अपनाउँदै काम गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप