शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

माओवादी बैठक सुरु : समर्थन फिर्ताबारे के गर्ला निर्णय ?

मङ्गलबार, १० चैत २०७७, ०९ : २९
मङ्गलबार, १० चैत २०७७

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा अलमलमा रहेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा केहीबेर अघिबाट जारी स्थायी समिति बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन ।

माओवादी नेताहरुका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयका साथै साङ्गठानिक विषयमा छलफल हुनेछ । माओवादी केन्द्रले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएको थियो । तर, ओलीको विकल्पमा गठबन्धन तयार नभएकाले केही दिन पछि हटेको थियो ।

‘आजको बैठकमा समर्थन फिर्ताबारे पनि छलफल हुनसक्छ’, माओवादीका एक नेताले भने, ‘पार्टीहरुबीचको छलफल, नयाँ सरकार लगायतका विषयमा छलफल त हुने नै भयो । तर निर्णय के हुन्छ भन्ने छलफलपछि मात्रै थाहा होला’, ति नेताले रातोपाटीसँग भने, ‘माओवादीले प्रतिगमनकारी सरकारलाई दिएको समर्थन फिर्ता लिन किन ढिला गरिरहेको छ ? भन्ने प्रश्नहरु उठेका छन् । यसबारे पनि बैठकमा छलफल हुनुपर्छ ।’

यसअघि माओवादी केन्द्रले दलहरूसँग छलफलका लागि भन्दै केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेको थियो । तर बैठक स्थगित गरेको एक साता बित्दा पनि दलहरूसँग औपचारिक छलफल गर्न सकेको छैन ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरुले माओवादीलाई समर्थन फिर्ता लिएर देखाउन चुनौति दिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप