शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणको ‘रेडजोन’ बन्दै कास्की

सोमबार, ०९ चैत २०७७, २१ : ५०
सोमबार, ०९ चैत २०७७

पोखरा । गण्डकी प्रदेशमा कास्की जिल्ला पछिल्लो समय कोरोना संक्रमणको ‘रेडजोन’ का रुपमा देखिएको छ । कास्कीमा हाल कोरोना संक्रमणको दोस्रो लहर बढ्न थालेको हो । गत शुक्रबार ४० जनामा कोरोना संक्रमण देखिएकोमा सोमबार ४३ जनामा संक्रमण देखिएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरा र लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणमा पोखरामा थप ४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए ।

हालसम्म गण्डकी प्रदेशको नवलपुरमा सबैभन्दा धेरै २ हजार ४ सय ३२ संक्रमित पाइए पनि सक्रिय संक्रमितको संख्या भने कास्कीमा सबैभन्दा धेरै १८२ जना छन् । त्यसैगरी बागलुङमा १३, पर्वतमा ३, म्याग्दीमा २, स्याङ्जामा २, तनहुँमा ५ र लमजुङ एकजना सक्रिय संक्रमित छन् ।

प्रदेशका मुस्ताङ, मनाङ, नवलपुर र गोरखामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य छ । पछिल्लो समयमा संक्रमितको संख्या वृद्धि भएपछि कास्की जिल्ला प्रदेशकै ‘रेडजोन’मा परेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमण नवलपरासी पूर्व (नवलपुर)मा २ हजार ४३२ जनामा देखिएको छ । त्यसमध्ये २ हजार ४ सय १० जना निको भइसकेका छन् भने २२ जनाको मृत्यु भएको छ ।

तनहुँमा १ हजार ४८८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये एक हजार ४५९ जना निको भइसकेका छन् भने २४ जनाको मृत्यु भएको छ । त्यस्तै लमजुङमा ९१४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ९०८ जना निको भइसकेका छन् भने ५ जनाको मृत्यु भएको छ ।

गोरखामा हालसम्म ८४५ जनामा कोरोना संक्रमण देखिएकोमा ८३६ जना निको भइसकेका छन भने ९ जनाको मृत्यु भएको छ । यस्तै कास्कीमा हालसम्म ८ हजार ११८ जनामा संक्रमण भेटिएको छ । त्यसमध्ये ७ हजार ८२२ जना निको भइसकेका छन ।

गण्डकी प्रदेशमै कास्कीमा सबैभन्दा धेरै ११४ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म प्रदेशमै सबैभन्दा धेरै १८२ सक्रिय संक्रमित कास्कीमै छन् ।  बागलुङमा हालसम्म १ हजार ३७ जनामा संक्रमण देखिएकोमा १ हजार १६ जना निको भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ । त्यसैगरी स्याङ्जामा हालसम्म ८४० जनामा संक्रमण देखिएकोमा ८२१ जना निको भइसकेका छन् भने १७ जनाको मृत्यु भएको छ ।

पर्वतमा हालसम्म ३ सय ९० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३ सय ८४ जना निको भइसकेका छन् भने ३ जनाको मृत्यु भएको छ । म्याग्दीमा हालसम्म २५२ जनामा संक्रमण देखिएकोमा २५२ जना निको भइसकेका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रदेशका हिमाल पारीका जिल्लाका रुपमा चिनिएका मुस्ताङमा ३२ जना र मनाङमा २० जनामा संक्रमण देखिएकोमा कोरोना संक्रमणबाट दुवै जिल्लामा कसैको पनि मृत्यु भएको छैन । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म २०५ जनाको मृत्यु भएको छ भने संक्रमितको कुल संख्या १६ हजार ३ सय ६९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप