शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवल उपमहानगरमा कोरोनाले थलिएका आयोजनाहरु धमाधम बन्दै

सोमबार, ०९ चैत २०७७, ११ : १३
सोमबार, ०९ चैत २०७७

कोभिड–१९ का कारण गतवर्ष कार्यान्वयन हुन नसकेका योजनाहरुलाई यो वर्ष सम्पन्न गर्न लागि बुटवल उप–महानगरपालिका जोडतोडले लागेको छ । कोरोनाका  कारणले धेरै आयोजनाहरु समयमै सम्पन्न हुन सकेका थिएनन् ।

कोरोना महामारीका कारण उपभोक्ता समितिमार्फत् सम्पन्न हुन नसकेका योजनाहरुको कार्यान्वयनलाई जोड दिएको उपमहानगरले ९० प्रतिशत योजना पूरा गरिसकेको दाबी गरेको छ । गत वर्षका बाँकी आयोजना सम्पन्न गर्नेगरि अघि बढेको उपमहानगरमा यस आर्थिक वर्षका योजनाहरु भने सम्पन्न हुनेमा चुनौति देखापरेको छ । आर्थिक वर्ष सकिन ४ महिना बाँकी रहँदा हालसम्म ५० प्रतिशत योजनाहरु मात्रै सम्झौता भएर कार्यान्वयनका लागि अघि बढेका छन् ।

फागुन मसान्तसम्म सबै योजनाहरुको सम्झौता गरी कार्यान्वयनमा जाने लक्ष्य लिएको बुटवल उपमहानगरले एक महिना थप गरी चैत्र मसान्तसम्म सबै योजनाहरुको सम्झौता गर्नेगरी समय सीमा परिवर्तन गरेको छ । पटक–पटक उत्कृष्ट नगरपालिको सूचीमा परेको बुटवल उपमहानगरपालिकालाई कोरोनाका कारण आयोजना सक्न ठूलो चुनौति खडा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा बताउँछन् । ‘देशभर कोरोना कारण आयोजनाहरु समयमा सक्न  सकस भएको अवस्था छ । हाम्रो उपमहानगरपालिका पनि अछुतो नरहने कुरा भएन । तर हामी पछिल्लो दिनहरू तोकिएका मिति काम गर्ने लक्ष्यसहित अगाडि बढेका छाँै,’ उनले भने ।

कति छन् आयोजनाहरु ?

बुटवल उपमहानगरपालिकाले​ सार्वजनिक गरेको तथ्याङ्कमा  २ सय ८९ वटा योजना गत वर्षका रहेका छन् भने यो वर्ष ४ सय १९ वटा योजना स्वीकृत भएका थिए । कूल ७ सय ८ योजना मध्ये ४ सय ३३ योजना कार्यान्वयनका चरणमा गएका छन् भने ती मध्ये २ सय ४९ योजना सम्पन्न भएका छन् ।

नगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले निर्माण कम्पनीहरूबाट कार्यान्वयन गर्नका लागि ८३ वटा योजनाको सम्झौता भएका छन् भने उपभोक्ता समितिहरुबाट कार्यान्वयनका लागि ३५० योजना सम्झौता भएको बताए ।

उनले उपभोक्ता समितिमार्फत हुने योजना बाहेकका सबै योजनाहरुको ठेक्का सम्झौता भइसकेकाले पुँजीगत खर्चमा लक्ष्य प्राप्ति हुने दाबी गरे । उनले भने, ‘उपभोक्ता समितिहरुबाट हुने काम पनि जेठको मसान्तसम्ममा पूरा गर्ने गरी तीव्र गतिमा काम भइरहेका छन् ।’ उपमहानगरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष सकिन ४ महिना बाँकी रहँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै भएको छ । विनियोजित सोही अवधिमा पूँजीगत खर्च हुने अनुपात गत वर्षको तुलनामा भने केही बढी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप