‘जली’ डलीको क्यान्सर यात्रा
स्वभावले उनी विद्रोही हुन् । आफूलाई मनपरेको काममा कसैले ‘यसो नगर है’ भनेको कुरा फिटिक्कै टेर्दिनन् । चुनौती दिन्छिन् । ‘के होला र ? गरेरै देखाउँछु,’ एक प्रकारको विद्रोहले उनलाई गाँज्ने गर्छ । त्यसमा आफूलाई खरो उतार्नसमेत उनी सफल हुन्छिन् । यही स्वभावले उनलाई सुख, आत्मसम्मान, सफलता र प्रसिद्धि दिलायो । आम मानिसको नजरमा लोभलाग्दो उनको जीवनभित्र संघर्ष र पीडाका अध्याय नभएका होइनन् । आफ्नो जीवनभित्र जेलिएका संघर्ष र पीडाका ती अध्यायका निम्ति पनि उनी विद्रोही नै हुन् । तिनलाई कतै दबाएर उनले सबैका सामु आफ्नो लोभलाग्दो जीवन पस्किएकी छन् ।
हो, उनको जीवन कुनै समय क्यान्सरले बिथोलिएको थियो । यद्यपि, आफ्नो क्यान्सर यात्रामा उनी कत्ति पनि विचलित भइनन् । विषम परिस्थितिमा पनि जीवन शत प्रतिशत बाँचिन् । हिजोबारे सोचिनन्, भोलिको चिन्ता कहिल्यै गरिनन् । सोचिन् त मात्र वर्तमानको ।
आफ्नो हातमा ‘सर्भाइभर’ लेखिएको ट्याटु बनाएकी छिन् तर यो मात्रै उनको पहिचान होइन । उनी नेपालको ग्ल्यामर क्षेत्रकी निकै प्रतिष्ठित नाम हुन् । नेपालकी पहिलो टेलिभिजन मोडल, वाईवाई गर्ल, एक सफल उद्यमी अर्थात् डली गुरुङ याक्थुम्बा । उनी नेपालको चर्चित ब्यान्ड ‘१९७४ एडी’का संस्थापक तथा बेसिस्ट निराकार याक्थुम्बाकी श्रीमती पनि हुन् ।
‘जली’ स्वभावकी डली गुरुङ याकथुम्बासँग हामीले उनको क्यान्सर यात्रा, संघर्ष र सफलताबारे वार्तालाप गरेका छौं । साथै, श्रीमतीको क्यान्सर यात्राबारे निराकारले पनि आफ्नो अनुभव बाँडेका छन् ।
डु आइ ह्याभ क्यान्सर ?
डली आफ्नो परिवारमा क्यान्सरको निकै बलियो जिन भएको ठान्छिन् । क्यान्सरकै कारण उनकी आमाको देहावसान भयो । परिवारका धेरैजसो सदस्यलाई ३०–४० वर्षको उमेरदेखि नै क्यान्सर लागेको उनले देखेकी थिइन् । त्यसैले आफूलाई पनि क्यान्सर लाग्नेमा उनी एक प्रकारले निश्चित नै थिइन् । तर यसमा उनी सावधान पनि थिइन् । डाक्टरसँग नियमित सम्पर्कमा हुन्थिन्, रुटिन चेकअप भइरहन्थ्यो, प्रत्येक पाँच वर्षमा कोलोनोस्कोपी गर्ने गर्थिन् ।
आफ्नो ५० औं जन्मदिनको मौका पारेर उनी ट्रेकिङ गएकी थिइन् । थुप्रै पटक ट्रेकिङ गरिसकेकी उनलाई त्यसपटक भने निकै गाह्रो भयो । जसोतसो आफ्नो ट्रेकिङ पूरा गरी फर्केपछि रुटिन चेकअप गराइन् । त्यसमा केही गडबडी देखियो ।
कोलोनोस्कोपी गर्ने निश्चित भयो । उता, निराकार भने अघिल्लो दिनदेखि नै विचलित भएका थिए । उनले भने, ‘अघिल्लो रातिदेखि नै इन्ट्युशन ठिक थिएन । केही हुन लागेको छ, केही नराम्रो होला कि भन्ने भान भइरहेको थियो ।’
भोलिपल्ट कोलोनोस्कोपी गर्दा क्यान्सर देखियो– कोलोन क्यान्सर । पहिलो पटक खबर सुन्दा निराकार असाध्यै आत्तिए । ‘मलाई त असाध्यै पीर पर्यो, के हो के ? भन्ने भयो । सुरुमा त उनलाई क्यान्सर भयो भनेर स्वीकार गर्नै मलाई गाह्रो भयो,’ उनले चार वर्ष अघिको कुरा यसरी सम्झिए ।
कोलोनोस्कोपी गरिसकेपछि डलीको चित्तमा शङ्काको कालो बादल मडारिईरहेको थियो । उनले डाक्टरलाई तत्काल सोधिन्, ‘डु आई ह्याभ क्यान्सर ?’ डाक्टरले सहज जवाफ दिए– देख्न त देखियो तर वि विल टेक केयर अफ इट, डन्ट वरी ।
निराकारले डलीको स्थिति बुझ्न खोजे । उनी ‘नर्मल’ थिइन्, व्यवहार पनि सामान्य थियो । त्यस बखत क्यान्सर लाग्ने डलीभन्दा क्यान्सरको खबर सुन्ने निराकार बढी त्रसित थिए । निराकार नाभीमा बाण लागेसरह भएका थिए । तर श्रीमतीको व्यवहार देखेर उनमा झिनो आश जुनकिरीझैँ पिलपिल गर्न थाल्यो ।
डरमा बाँच्नु हुँदैन भनेर डलीबाट सिकेँ
निराकार भन्छन्, ‘उनले क्यान्सरलाई जसरी ह्यान्डल गरिन्, त्यसले मलाई असाध्यै बल मिल्यो । उनको व्यवहार देखेँ, त्यसपछि महसुस भयो कि यो कुरामा मैले केही परिवर्तन गर्न सक्दिनँ । अब यसलाई कसरी जित्ने भन्नेतिर ध्यान केन्द्रित हुन थाल्यो ।’
त्यतिबेला डलीको व्यवहारबाट आफूले धेरै कुरा सिकेको उनले सुनाए । उनले भने, ‘क्यान्सरसँग सुरुमै डरायौं र चिन्तित हुन थाल्यौं भने हामी यसै पनि हार्छौं । डरमा बाँच्नु हुँदैन भनेर मैले डलीबाट सिकेँ ।’
पतिका लागिसमेत प्रेरणा बनेकी डलीले क्यान्सर पश्चात् पनि आफ्नो जीवन साधारण नै होस् भन्ने चाहना राखेको सुनाइन् । उनी भन्छिन्, ‘म कत्ति पनि दुःखी भइनँ । म कहिले रोइनँ पनि । मेरो परिवार आफ्नै वरिपरि भएकोले होला, कसैलाई दुःखी देख्न चाहन्नथेँ । म साधारण जीवन बाँच्न चाहन्थेँ । मलाई थाहा थियो, मैले क्यान्सर जित्नेछु । श्रीमान्लाई काममा जाऊ भन्थेँ, छोराछोरीलाई स्कूल जान भन्थेँ, सासुआमा विद्यालयको प्रधानाध्यापक भएकोले वहाँलाई पनि नियमित काम गर्न भन्थेँ । मेराबारे केही चिन्ता नलिन भन्थेँ ।’
सुरुमा शल्यक्रिया गर्दा सबैजना साथमै रहे पनि पछि किमो गर्ने बेलामा ‘साधारण हो’ भनेर आफूले कसैलाई आउन नदिएको उनले सुनाइन् । ‘खाना पनि नल्याउनू, खान सक्दिनँ भन्थेँ । ब्रेड, सलाद फ्रिजमा राखिएको हुन्थ्यो, भोक लागे त्यही निकालेर खान्थेँ । मैले सबैलाई सामान्य तरिकाले बाँच्न लगाएँ र म आफैं पनि साधारण तरिकाले बाचेँ,’ उनी थप्छिन् ।
प्यासनमा वर्ष दिनको ब्रेक
डलीको शल्यक्रियाको दिन १९७४ एडीः द न्यू लाइन अपको गोकर्णमा ठूलो कन्सर्ट थियो । निराकारले त्यो कार्यक्रम रद्द गरे । त्यसपछि उनको प्यासनमा लगभग वर्ष दिनको ब्रेक लाग्यो । श्रीमतीको व्यवहारले निकै ढाडस त दिन्थ्यो नै तर श्रीमान् हुन्, यतिमै मन कसरी मान्थ्यो र ? त्यतिबेला निराकारको आँखा शून्यमा बरालिन्थे, मन सुनसान हुन्थ्यो । उनको मन गाना–बजाना, कतैतिर पनि आकर्षित हुँदैनथ्यो । पूरा ध्यान श्रीमतीको उपचारमा खर्चिएका थिए ।
उनी भन्छन्, ‘त्यो समय जिन्दगीको अँध्यारो पल थियो ।’ अहिले ती दिन सम्झँदा ‘गरेँ है’ भनेर आफैलाई छक्क लाग्ने उनी सुनाउँछन् । ‘म अझै आतंकित हुन्थेँ होला तर उनको जीवनशैलीले मलाई थप बल दियो,’ उनले भने, ‘स्थितिलाई ह्यान्डल गर्न सकेँ । तर सङ्गीतको कुरामा मलाई इच्छा नै भएन ।’
जीवनको सबैभन्दा ठूलो जितः शत प्रतिशत बाँच्न सक्नु
क्यान्सर निराकारका लागि ठूलो हाउगुजी थियो । निराकार सानै हुँदा उनका बुवा ज्ञानबहादुर याक्थुम्बाको क्यान्सरकै कारण इहलीला समाप्त भएको थियो । तर अहिले निराकारका लागि क्यान्सरको परिभाषा फेरिएको छ । उनी भन्छन्, ‘मानिसलाई जीवनमा विभिन्न रोग लाग्छन् तर जे भए पनि हामीले सकारात्मक सोच्यौं भने यसमाथि विजय पाउन सक्छौं । जीवनको सबैभन्दा ठूलो जित भनेको जीवनमा शत प्रतिशत बाँच्न सक्नु हो ।’
निराकारका अनुसार डली क्यान्सरलाई आत्मसात् गर्दैै अघि बढिन्, जे जति गर्नुपर्दथ्यो, कुनै कुरामा पछि हटिनन् । ‘सबैभन्दा ठूलो कुरा आशा हो । सधैँ आशा राख्नुपर्छ र सपना देख्नुपर्छ,’ उनले भने, ‘डलीले यसै गरिन् र त जित उनकै भयो । मैले त्यही कुरा देखेँ र सिकेँ पनि ।’
यसबारे डली थप्छिन्, ‘१२ साइकल किमोका लागि समय लाग्छ । महिनामा दुईपटक हुन्थ्यो । ६–७ महिना लगातार किमो गरेँ । त्यतिबेला मैले बाँच्न छुटाइनँ । ६ वटा किमो सिद्धियो भनेर म बीचमा बिदा मनाउन पनि गएँ, साथीहरुलाई भेटेँ । रमाइलो गरेँ । त्यसपछि पुनः किमो सुरु गरेँ । दुई हप्ता ठिक हुन्थ्यो, खान रुच्नै लागेको हुन्थ्यो, फेरि किमोका लागि जानुपर्दथ्यो ।’
विद्रोही स्वभावः
क्यान्सर उपचार गर्दैगर्दा छिटो संक्रमण हुन्छ भनेर उनलाई माटो, बोटबिरुवा नछुन भनिएको थियो । साताको तीन दिन किमो हुन्थ्यो । फर्केको दिन ठिकै अवस्थामा हुन्थिन् । भोलिपल्ट बिहान भुइँमा उज्यालो खस्दा–नखस्दै खेततिर चक्कर लगाउँथिन् उनी ।
‘मलाई नगर त भन्नै हुँदैन । किन यस्तो भनेको होला, गरेरै देखाउँछु भन्ने हुन्छ । मेरो हिँड्डुलमा पनि असाध्यै रुचि । खोकनाको खेततिर पूरा चक्कर लगाउथेँ, फर्किएपछि बोटविरुवाहरु हेर्ने, रोप्ने, गोडमेललगायतका काम गर्दथेँ । बाहिर हिँड्दै गर्दा देखिने बोटबिरुवाहरु उखेलेर हुन्छ कि, भाँचेर हुन्छ कि, चोरेर हुन्छ कि ल्याउन थालेँ । त्यसरी नै मेरा बोटबिरुवाहरुको संख्या बढ्दै गयो,’ फटिक दन्तलहर खोलेर उनले भनिन् ।
बोटबिरुवा आशा हुन्ः
बोटबिरुवाप्रतिको उनको यो आशक्तिका कारण उनको घर पूरै हरियाली छ । हालै उनले आफ्नै घरमा ट्रेलिङ जेड नामको नर्सरी खोलेकी छन् । आफ्नो प्यासनलाई कायम राख्नका लागि नर्सरी खोलेको उनले बताइन् ।
क्यान्सरले धेरै मानिसलाई मानसिक रोगीसमेत बनाउने गरेको उनको ठम्याइँ छ । बोटबिरुवाले मानिसमा आशा जगाउन निकै प्रभावकारी भूमिका खेल्ने उनको अनुभवले बताउँछ ।
मधुरो मुस्कानसहित उनले भनिन्, ‘माटो, बोटबिरुवा छुँदा मलाई एक किसिमको करेन्ट लागेको जस्तो महसुस हुन्छ । त्यसैले म खानाकी पारखी पनि बिहानदेखि बेलुकासम्म मुग्ध भइ केही नखाइ निरन्तर यसमा लाग्नसक्छु । जाडो महिनामा बोटबिरुवा सुतेका बेला म पनि डाउन भएँ । वसन्त आएपछि मेरो ऊर्जा असाध्यै माथि पुगेको छ ।’
बोटबिरुवाले गरेर नै उनले ‘पिस अफ माइन्ड’ पाइन्, त्यसैले उनलाई जीवनमा अघि बढिरहन प्रेरणा दियो । क्यान्सरसँगको युद्ध पनि यसैकारण जित्न सकेको हो कि भन्ने कुरामा उनी जोड दिन्छिन् ।
फाउन्डेशनः
क्यान्सरको उपचार गराइरहँदा उनले आफूजस्तै अन्य बिरामीलाई कसरी सहयोग गर्न सकिन्छ भनेर गढेर गम खाइन् । उनको दिमागमा झट्ट म्यागजिन निकाल्ने सोच आयो । नेपालकी पहिलो टेलिभिजन मोडल, उनले आफ्नो क्षमता प्रयोग गर्नेबारे सोचिन् । आफ्नो भावनालाई बुझेर त्यसलाई क्यामरामा कैद गर्न सक्ने टिमको खोजी गरिन्, हप्तादिन लगाएर फोटोसुट गरिन् । ती फोटोमा प्रेरणादायी वाक्य राखिन् र बिक्रीका लागि खुल्ला गरिन् । यसमार्फत् उनले ६–७ लाख रुपैयाँ जम्मा गर्न सफल भइन् । त्यसमध्ये ३–४ लाख रुपैयाँ सहयोग गरिसकेकी छन् र बाँकी पैसालाई एक संस्थामार्फत् सहयोग गर्ने सोच बनाएकी छन् ।
सोचलाई वास्तविकतामा परिणत गर्न उनले ‘डलीज ज्ञानप्रभा’ नामको एउटा सामाजिक संस्था खोलेकी छन् । सुरुमा यसका लागि स्मृति पोखरेलले उनलाई प्रस्ताव राखेकी थिइन् । स्मृति पोखरेलले निकै अघिदेखि कान्ति अस्पतालका बालबालिकालाई आर्थिक सहयोग गर्दै आएकी छन् । सामाजिक कार्यमा संलग्न केही साथी, डाक्टर, आमाज्यू र सासूलाई आवद्ध गराएर डलीले यस संस्थामार्फत् अब उप्रान्त क्यान्सर पीडित धेरैभन्दा धेरै बालबालिकालाई आर्थिक सहयोग गर्ने योजना बुनेकी छन् ।
क्यान्सर ‘डेफिनेट्ली नट डेथ’:
क्यान्सरको परिभाषा दिँदै डली भन्छिन्, ‘डेफिनेट्ली नट डेथ’ ।
क्यान्सर लाग्यो भन्ने बित्तिकै मानिसलाई झट्का लागेजस्तै हुन्छ, अरुले पनि ‘अब यो बाँच्दैन’ भनेर सोच्छन् तर डलीका शब्दमा ‘क्यान्सर इज नट अ डेथ सेन्टेन्स’ ।
उनी भन्छिन्, ‘कोभिडका कारण पनि धेरैको मृत्यु भयो । हाम्रो नियन्त्रणमा केही रहेछ त ? त्यसैले आफ्नो जीवन बाँच्न कहिले पनि नरोकिनुहोस् । नडराउनुहोस् । डरले मृत्यु निम्त्याउँछ । सधैं रोगबारे नै सोचिरहनु हुन्छ भने आफ्नो वरिपरि हुने विशेष क्षण त गुम्यो ।’
नेपालका चर्चित ब्यान्ड १९७४ एडीका संस्थापककी श्रीमती भएको नाताले सङ्गीतबारे प्रश्न नसोधी कुरा बिट मार्दा अधुरो हुने ठानेर ‘सङ्गीत तपाईंका लागि के हो ?’ भनेर सोधियो ।
जवाफमा उनले आफू साङ्गीतिक माहौलमै हुर्किएको जानकारी दिइन् । ‘मेरा श्रीमान् एक सङ्गीतकर्मी हुनुहुन्छ । म पनि साङ्गीतिक माहौलमै हुर्किएकी हुँ । मेरा दाइहरु सबै गितार तबला, बान्जो बजाएर रमाइलो गर्नुहुन्थ्यो । म भनेँ नाच्थेँ । मेरी आमा पनि गीत गाउनुहुन्थ्यो ।’
आफ्नो बुवा ९० वर्ष पुगिसकेको र भायोलिन, पियानो, हार्मोनिका, स्याक्सोफोनलगायतका म्युजिकल इन्स्ट्रुमेन्ट बजाउने गर्नुहुन्छ भन्दै गर्दा उनी निकै उत्साहित देखिइन् । आफ्ना तीनजना छोराछोरी पनि सङ्गीतप्रति निकै आकर्षित भएको उनले जानकारी दिइन् । डलीका अनुसार उनका जेठो छोरा पियानोमा क्लासिकल म्युजिक असाध्यै राम्रो बजाउँछन् । छोरीले बेस बजाउँछिन् र गीत पनि गाउँछिन् । कान्छो छोरा गितार र भोकलमा रुचि राख्छन् । ‘म सङ्गीत सुन्दै हुर्किएँ र जीवन सङ्गीतकै ताल सुरमा अघि बढिरहेको छ,’ अचम्मको उमङ्ग भरिएका स्वरमा उनले भनिन् ।
तस्विर/भिडियो : कृष्ण खड्का