बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

अभियुक्तका बुवाले घटनामा संलग्न भन्दै पोलेका सरकारी कर्मचारी को हुन् ?

प्रहरी स्रोत भन्छ : प्राविधिक परीक्षणबाट पनि पुष्टी भइसक्यो
सोमबार, ०९ चैत २०७७, ०७ : २८
सोमबार, ०९ चैत २०७७

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा अभियुक्तका बुवाले विवादास्पद बयान दिएका छन् । आइतबार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अभियुक्त दिनेश भट्टका बुवाले छोरालाई जबरजस्ती हत्या स्वीकार गर्न लगाइएको र आफ्नो छोरा निर्दोष भएको बताएका हुन् ।

दिनेशका बुवाले आफ्नो छोरा निर्दोष भएको मात्रै दाबी गरेका छैनन्, घटनामा स्थानीय वडा नम्बर–७ मै काम गर्ने वडाका कर्मचारीको संलग्नता रहेको विवादास्पद बयान समेत दिएका छन् । आइतबार अपरान्ह उनले पत्रकार सम्मेलन गर्दै आफ्नो छोरालाई स्थानीय वडाका कर्मचारीले धम्की दिएर हत्या स्वीकार गर्न लगाएको विवादास्पद बयान दिएका हुन् । उनले भनेका छन्, ‘मेरो छोरा निर्दोष छ । उसलाई स्थानीय वडाका कर्मचारीले घाँटीमा चक्कु राखेर आफू र बुवालाई समेत मारिदिने धम्की दिएको र अपराध स्वीकार गर्न भनेकाले डरले उसले अपराध मैले गरेको हो भनेको रहेछ । तर सुधार केन्द्रमा ल्याइसकेपछि उसले ३ जना बडीगार्ड (प्रहरी कर्मचारी)का सामुन्ने घटनामा आफ्नो संलग्नता नभएको बताएको छ ।’

अभियुक्तका बुवाले घटनामा अर्कै व्यक्तिको संलग्नता भएको दाबी गरेपनि न दिनेशलाई धम्काएको कुरा पुष्टी गर्न सकेका छन्, न आफ्नो छोरा निर्दोष भएको कुनै आधार नै पेश गरेका छन् । आफ्नो छोरालाई धम्काएको कल रेकर्डसमेत भएको दाबी गरेपनि पत्रकारले सुनौँ न त भन्दा अहिले सुनाउन नमिल्ने बताए ।

‘ती व्यक्ति को हुन् त ?’ भनेर पत्रकारले बारम्बार प्रश्न गरेपनि आफ्नो सुरक्षाको ग्यारेन्टी भएपछि मात्रै उक्त व्यक्तिबारे बोल्ने बताए । यद्यपि उनले पटकपटक स्थानीय वडाकै कर्मचारी हो भन्न चाहिँ छुटाएनन् ।

प्रहरी अनुसन्धानमा सन्तुष्ट छु : भागरथीका काका शिवराज भट्ट

भागरथी भट्टको बलात्कार हत्या प्रकरणमा अभियुक्तका बुवाले विवादास्पद बयान दिएपनि मृतकका काका शिवराज भट्ट भने प्रहरीको अनुसन्धानमा पूर्ण सन्तुष्ट रहेको बताउँछन् । उनी भन्छन्, ‘हामीले हेर्ने भनेको प्रहरीको अनुसन्धान नै हो । प्रहरीको अनुसन्धानमा अहिलेको अभियुक्त मात्रै देखिएका छन् । तथ्य र प्रमाणले पनि घटनामा हालको अभियुक्तको संलग्नतालाई पुष्टी गरिसकेकै छ । त्यसकारण कसले के भन्छन् भन्ने कुरामा म जादिनँ ।’

‘तर अर्को व्यक्तिको संलग्नताको कुरा गरेको र घाँटीमा चक्कु राखेर अपराध स्वीकार गर्न भनेकाले गरेको भन्ने नयाँ बयान आएको छ नि त ?’ भन्ने प्रश्नमा उनले ‘त्यसो भए थप को–को संलग्न छन् त्यसबारे पनि अनुसन्धान हुनुपर्ने’ बताए  ।

प्रहरी​ स्रोत भन्छ : प्राविधिक परीक्षणबाट पनि पुष्टी भइसक्यो

भागरथीको बलात्कार र हत्या प्रकरणमा नयाँ ट्वीस्ट र विवादास्पद टिप्पणी आएपछि रातोपाटीले ‘घटनाबारे के भएको हो ?’ भनेर प्रश्न गर्दा प्रहरी अधिकारीहरुले त्यसलाई ‘सामान्य आत्मसन्तुष्टि मात्रै हो’ भन्ने जवाफ दिएका छन् । ती अधिकारीले भने, ‘परिवारका सदस्यले छोरालाई जोगाउन खोज्नुलाई अन्यथा भन्न मिल्दैन । किनभने परिवारमा केही गर्न सक्ने व्यक्ति ऊ मात्रै थियो । तर ऊ पनि अपराधमा मुछिएपछि परिवारमा परेको चोटलाई नजरअन्दाज गर्न मिल्दैन । त्यसबाहेक केही व्यक्ति वा समूह ती परिवारलाई उचालेर राजनीतिक र सामाजिक लाभ लिन खोज्ने पनि हुनसक्छन् । त्यसकारण त्यसलाई सामान्य ढङ्गले बुझ्नुपर्छ । तर यो विषय अदालतमा पुगिसकेको कारण मैले थप केही बताउन मिल्दैन ।’

अदालतमा विचाराधीन विषय भएपनि प्रहरीको अनुसन्धानमाथि नै प्रश्न उठ्यो नि त भन्ने प्रश्नमा ती अधिकारीले भने, ‘बाहिर कसले के के कुरा भन्छन् भनेर सबै कुराको सम्बोधन गर्न सकिँदैन । तर के बुझ्नुहोस् भने अभियुक्तको बयान, घटनास्थल मुचुल्का, पक्राउपछि अभियुक्तकै बयानका आधारमा भेटिएका घडी लगायतका सामानहरूले घटना उसको संलग्नताबारे पुष्टी गरिसकेको छ । पछि त प्राविधिक परीक्षणमा पनि निजको संलग्नताको पुष्टी भइसकेको छ ।’

प्रहरी स्रोतले ‘प्राविधिक परीक्षण’ भनेर के कुरालाई भन्न खोजेको स्पष्ट नभएपनि पछि गरिएको प्राविधिक परीक्षण भन्नाले भेजाइनल स्वाब र डिएनए प्रोफाइलिङको विषय हुन सक्छ । प्रहरीले सुरुवातमै भागरथीको भेजाइनल स्वाबको नमुना परीक्षणका लागि पठाएको थियो भने पछि अभियुक्तको डिएनए स्याम्पल पनि परीक्षणका लागि पठाएको थियो ।

अभियुक्त यतिबेला दिपायलस्थित बाल सुधार गृहमा छन् । अभियुक्तले आफ्नै बुवाको अगाडि जिल्ला न्यायाधीशसमक्ष गरेको बयानमा पनि बलात्कार र हत्या गरेको स्वीकार गरेका थिए । यो मुद्दा अहिले जिल्ला अदालत बैतडीमा विचाराधीन अवस्थामै रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप