शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा  घट्दै कोरोनाका मृतक,  एकैदिन ८ लाख बढी खोप वितरण

आइतबार, ०८ चैत २०७७, २३ : ००
आइतबार, ०८ चैत २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्यामा लगातार कम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा  कोरोना  संक्रमणका कारण  थप ३३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शुक्रबार जानकारी दिएको छ ।

गतवर्ष अक्टुबर  पछिका  आइतबार मध्ये आज आइतबारको मृतक संख्या सबैभन्दा न्यून  हो । पछिल्ला दिनहरुमा मृतक संख्यामा कमी हुँदै गएको सरकारी तथ्यांकले देखाएको छ । यससँगै  बेलायतमा हालसम्म  कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार १५५ पुगेको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ३१२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा  कुल संक्रमितको संख्या ४२ लाख ९६ हजार ५८३  पुगेको छ । बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।

हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ६ हजार १६२ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८३० रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ४९६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

बेलायतमा एकैदिन ८ लाख बढी खोप वितरण

बेलायतमा कोरोना विरुद्धको खोप वितरण कार्यमा अर्को नयाँ  कीर्तिमान कायम भएको छ । शुक्रबार एकै दिनमा ७ लाख ११ हजार १२२ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए भने शनिबार ८ लाख ७३ हजार ७४८ जनाले खोप लगाएर नयाँ कीर्तिमान कायम भएको छ ।

यत्तिका संख्यामा एकैदिन खोप वितरण गरिएको यो नै अहिलेसम्मको सबैभन्दा धेरै हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले सहभागी सबैलाई ट्वीटरमार्फत धन्यबाद दिएका छन् । बेलायतमा  हालसम्म झन्डै  तीन करोड डोज खोप वितरण भइसकेको छ । 

बेलायतको  कुल जनसंख्यामध्ये आधा भन्दा बढी  वयस्क हरुलाई कोरोना विरुद्धको खोपको पहिलो डोज दिइसकिएको सरकारले जानकारी दिएको छ । शनिबारको तथ्याँकअनुसार कोरोना विरुद्धको  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ९८ लाख ५९ हजार ७४२ पुगेको छ ।

कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ७६ लाख ३० हजार ९७० जनाले खोपको पहिलो डोज लिएका छन् भने २२ लाख २८ हजार ७७२ जनाले खोपको दोस्रो डोज लिएका छन् ।  बेलायतमा हाल फाइजर र अस्ट्राजेनिका दुईवटा खोप वितरण भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप