मुलुकले खोजेको माओवादी राजनीति

person explore access_timeचैत ८, २०७७ chat_bubble_outline0

 

यतिबेला मुलुकमा राजनीतिक सङ्कट पैदा भएको छ । राजनीतिक सङ्कटसँगै राष्ट्रियतामाथि खतरा बढेर गएको छ । राजनीतिक दल भने यो खेलको गोटी बनेका छन् । यो मुलुकको कुनै नवीन समस्या होइन ।  पुरातन समस्या नै हो । मुलुकले यो समस्याबाट पटक पटक निकास खोजे पनि समस्या भने दिनानुदिन विकराल बन्दै गएको छ । राष्ट्रिय समस्या कमी हुनुको साटो दिन दुई गुणा रात चार गुणाको हिसाबले बढेको छ । खासगरी २०५२ सालको माओवादी जनयुद्धले सबै किसिमका समस्यालाई किनाराकृत गर्ने उद्देश्यले उद्घोष भए पनि अन्तत: पुरानै फोहोरी खेलमा फसे । अहिले माओवादी आन्दोलन घर न घाटको भएको छ । पछिल्लो चरण सोही जगमा निर्मित मधेस लगायतका आन्दोलनले बरु त्यसको जस लिन सफल भए तर माओवादी विचारको स्खलन र विभाजनले सारा बलिदान र उपलब्धिमाथि धमिराले राज गरिरहेको छ ।

नेतृत्वको कमजोरीका कारण १२ बुँदे शान्ति सम्झौता नै माओवादी आन्दोलनको पहिलो पासो बन्नपुग्यो । यतिबेला जनयुद्धका इमानदार नेताकार्यकर्ता, घाइते, अपाङ्ग, जनमुक्ति सेनासहित परिवारको जीवनतिर फर्केर हेर्ने हो भने माओवादी आन्दोलन वा जनयुद्ध विरासत जस्तै लाग्छ । कोही समाजमा भोकै बाँच्नुपर्ने स्थिति छ । समाजको पुरातन दासत्व स्वीकारेर जीवन बाँच्न बाध्य छन् । कोही विभिन्न रोगको सिकार तथा घाइते अङ्गहरु देखाएर प्राण त्यागिरहेका छन् । नेतृत्वहरु भने हिजो जुन वर्गको विरुद्धमा लडे त्यो वर्गबाट फेरिएका छन् । त्यो वर्गको सेवामा तल्लीन छन् ।

यतिबेला दस वर्षे जनयुद्धको ओज र गरिमामाथि प्रश्न मात्र ठडिएको छैन् । आमूल परिवर्तनको यात्रामा लामबद्ध सबै सहयात्री र सहयात्राहरुको टाउको लुकाउनै मुस्किल छ । नेतृत्वहरु स्थापित भएपछि उनलाई राजनीतिको नाममा टाउको लुकाउने थुप्रै बाटा छन् र बाँचेका छन् । पेन्डुलम भएर पनि मुनाफाको जीवन अरुको तुल्नामा राम्रोसँग बिताएका छन् । तर बाँकीको जीवन दासतामा फेरि बाँधिएका छन् । भित्र विद्रोह भए पनि बाहिर मुनाफाको जीवन बाँच्न दासता सामान्य जस्तो भइसकेको छ । हिजोका सामन्त, जमिनदार र शोषक वर्ग राजनीतिमा हाबी भएका छन् । राजनीति पूरै व्यापारीकरण भएको छ । राजनीतिक दल पूरै ठेकेदार वर्ग भएको छ । राजनीतिका सबै सपनाहरू प्रतिक्रान्तिमा फेरिएका छन् । राजनीतिक दलले गर्नुपर्ने राजनीति अदालत र निर्वाचन आयोगले गरेको छ । राजनीतिक दलको औचित्यमाथि नै यतिबेला गम्भीर रुपमा प्रश्नचिह्न खडा भएको छ ।

मुलुकको घाँटीमा यतिबेला प्रतिगमन र सङ्क्रमण न त घाँटीभित्र छिर्न सकेको छ । न त बाहिर नै निस्किन सकिरहेको छ । यसको प्रमुख कारण मुलुकमा लामो समयदेखि देखिएको बाहिरी सङ्क्रमणको प्रभावले नै काम गरेको हो । जुन कुरा नेताहरूले लुकाउँदै आएको छ । मुलुकलाई कमजोर पार्दै आएको छ । हाम्रो मुलुकको सबैभन्दा ठूलो राजनीतिक रोग आफै मिल्न नसक्ने कसैले मिलाई दिनुपर्ने परम्परागत रोग नै घात रोग हो ।

कुनैबेला यही राजनीतिक दलले जनतासँग दुईतिहाइ भोटको अपेक्षा गर्थे र उनीहरु त्यसको बलमा मुलुकलाई नै स्वर्ग बनाउने सपना बाँड्थे । तर आज पटक पटक जनताले कहिले बहुमत त कहिले दुई तिहाइ मत दिएर सरकारमा सजिलै पुग्ने वातावरण बनाइदिए पनि राजनीतिक दललाई लाज लागेको छैन । राजनीतिलाई लाजनीतिको खाडलमा पुरिसकेका छन् । राजनीति र जनतालाई दलाली गर्ने थलो बनाइदिएका छन् । यसले मुलुक कसरी इतिहासबाट फड्को मार्न सक्छ ? जति पटक आन्दोलन विद्रोह र क्रान्ति भए त्यसपछिको शान्तिपूर्ण राजनीतिक अवस्थामा उनै नेता राजनीतिक दल र उनका आसेपासे अर्थात् गुटउपगुट र परिवारवादले नै कब्जा गर्दै आए । यसबाट र यिनीहरुबाट मुलुक मुक्ति खोजिरहेको छ । यसको नेतृत्व कसले गर्ने ? फेरि उनै राजनीति दल र तिनका नेता नेतृत्वले गर्ने कि नयाँ युवा पुस्ताले गर्ने ? समय आइसकेको छ । त्यसैले राजनीतिका पुरानो चरित्रहरुले राजनीतिलाई घृणित बनाउन खोजिरहेका छन् ताकि घुमिफिरी यो ठाउँ उनीहरुकै कब्जामा परिरहुन् ।

संसद् विघटन र पुनर्स्थापनासम्म आइपुग्दा मुलुकको राजनीति यतिबेला अर्को मोडमा उभिएको छ । कतै पुरानो राजनीति दल एमाले र काँग्रेसले आफ्नो पुरानो खेलाडी दाउको प्रयोगमा छन् भने नयाँ लोकतान्त्रिक राजनीति शक्ति वा दलले उनीहरुको खेलको गोलचक्करमा फसेका छन् । तर उनीहरु राजनीतिक खेललाई सही दिशा दिन सकिरहेको छैन् । कतै न कतैबाट प्रभावित भइरहेका छन् । यसले वैकल्पिक वा लोकतान्त्रिक राजनीतिक शक्तिलाई निकास दिन सक्दैन । अहिलेको मुलुकको राजनीति दुर्दशा हेर्दा मुलुक र नागरिकले आवश्यकता बोध गरिरहेका छन् कि कमसेकम यतिका दिन जे जस्तो भए पनि लोकतान्त्रिक वा वैकल्पिक राजनीतिक शक्ति एकजुट भए पुरानो राजनीतिक दल र खेलको समाप्ति सदाका लागि हुनेछ । तर के त्यो सम्भव छ ? ती नेताहरू यसलाई आत्मबोध गरेका छन् ? गरेको छैनन् भने अब माओवादी शक्ति फेरि एकपटक जोडतोडले लाग्नुपर्छ । अब बन्दुक बोकेर होइन जनता, जनमुक्ति सेना र वाईसीएललाई बन्दुक बनाएर फेरि एकपटक त्याग तपस्यासहित जनताको अर्को दस वर्ष जनताको घरदैलोमा पुग्नुपर्छ । दु:खसुख साट्नुपर्छ । माफी माग्ने ठाउँमा माफी माग्नुपर्छ । अनि मात्र मुलुक नयाँ आवरणबाट छलाङ हान्नेछ । नभए पुरानो र नयाँको सङ्क्रमणले फ्रेस राजनीतिक व्यवस्था र अवस्थाको सिर्जना हुन सक्दैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X