श्रीलङ्कामा बस दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु, ३० भन्दा बढी घाइते

एजेन्सी । श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन् ।
प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापरबाहीका कारण बस दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा चालकसहित नौ जना पूरुष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापरबाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।