बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाका मृतकको संख्या ७८ प्रतिशतले घट्यो, खोप वितरणमा नयाँ कीर्तिमान

शनिबार, ०७ चैत २०७७, २३ : १३
शनिबार, ०७ चैत २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या गत महिनाको तुलनामा ७८ प्रतिशतले गिरावट आएको सञ्चारमाध्यमले जनाएका छन् ।  पछिल्लो २४ घन्टामा  कोरोना  संक्रमणका कारण  थप ९६ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । गतवर्ष अक्टुबर १० पछिका  शनिबारहरुमध्येकै आजको मृतक संख्या सबैभन्दा कम हो ।

सामान्यतया शनिबार र आइतबारको तथ्याँक भने अन्य दिनको तुलनामा कमै हुने गर्दछ ।  यद्यपि पछिल्ला दिनहरुमा मृतक संख्यामा कमी हुँदै गएको सरकारी तथ्यांकले देखाएको छ । बेलायतमा हालसम्म  कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार १२२ पुगेको छ ।   

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ५८७ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा  कुल संक्रमितको संख्या ४२ लाख ९१ हजार २७१  पुगेको छ ।  बेलायतका अस्पतालमा उपचार गराइरहेका र नयाँ भर्ना हुनेको संख्यामा पनि निरन्तर रुपमा कमी आएको छ ।  हाल अस्पतालमा उपचारार्थ  कोरोना संक्रमितको संख्या ६ हजार १६२ मा झरेको छ भने भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ८३० रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ४९६ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।

बेलायतमा खोपको नयाँ कीर्तिमान, एकैदिन ७ लाख बढीले लगाए

बेलायतमा कोरोना विरुद्धको खोप वितरण कार्य शुरु भएयताका  नयाँ कीर्तिमान कायम भएको छ । शुक्रबार एकै दिनमा ७ लाख ११ हजार १२२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यत्तिका संख्यामा एकैदिन खोप वितरण गरिएको यो नै पहिला भएको बताइएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि शुक्रबार नै अक्सफोर्डको खोप लगाएका हुन्  । बेलायतमा  गतवर्ष डिसेम्बर ८ बाट कोरोना विरुद्धको खोप वितरण कार्य संचालन गरिएको हो । हालसम्म दुई करोड ८९ लाख बढी डोज कोरोना विरुद्धको खोप वितरण भइसकेको छ । बेलायतको  कुल जनसंख्यामध्ये आधा वयस्कहरुलाई कोरोना विरुद्धको खोपको पहिलो डोज दिइसकिएको सरकारले जानकारी दिएको छ शनिबारको तथ्याँकअनुसार कोरोना विरुद्धको  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ८९  लाख ८५ हजार ९५८ पुगेको छ । कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड ६८ लाख ५३ हजार ४०७ जनाले खोपको पहिलो डोज लिएका छन् भने २१ लाख ३२  हजार ५५१ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

रगत जम्ने सम्भावित आशंकालाई लिएर विभिन्न मुलुकले अस्ट्राजेनिका खोपमाथि लगाएको प्रतिबन्ध हटेसँगै उक्त खोप लगाउन शुरु गरिएको छ । यूके तथा युरोपेली नियामक निकायले बिहीबार अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेसँगै खोपमाथिको  आशंका हटेको हो अक्सफोर्ड अस्ट्राजेनिका खोपको ’साइड इफेक्ट’ का कारण ‘ब्लड क्लट्स’ अर्थात रगत जम्ने रोग सम्बन्धि कुनै आधार नभेटिएको तथ्य सार्वजनिक भएसँगै यस खोपले पुनः निरन्तरता पाएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप