उहिले नेकपा अहिले एमालेका कारण बागमती प्रदेशसभा बैठक अनिश्चित !
हेटौंडा । बागमती प्रदेशसभा बैठक करिब दई महिनादेखि स्थगित छ । स्थगित बैठक कहिले बस्ने भन्नेबारे समेत अझै टुङ्गो लाग्न सकेको छैन ।
तत्कालीन सत्तारुढ दल नेकपाभित्रको विवाद र शक्ति संघर्षका कारण गत माघ ९ गते यता प्रदेशसभा बैठक बस्न सकेको छैन । मुख्यमन्त्रीविरुद्ध तत्कालीन सत्तारुढ दलकै सांसदले अविश्वास प्रस्ताव ल्याएपछि स्थगित प्रदेशसभा बैठक सर्वोच्च अदालतले नेकपालाई खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युँत्याउने फैसला गरेपछि झनै अन्योलमा पुगेको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे लगत्तै नेकपाभित्र एकाएक चुलिएको विवादकै कारण प्रदेशसभा बैठक प्रभावित बनेको थियो । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै पुस १० गते तत्कालीन नेकपाका ३ मन्त्रीले सामुहिक राजीनामा दिएका थिए भने उपसभामुख राधिका तामाङबाहेक सत्तापक्षका ४५ जना सांसदको हस्ताक्षरसहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो ।
अविश्वास प्रस्ताव दर्ता भएपछि दुई पटक प्रदेशसभा बैठक बस्यो । गत माघ ७ प्रदेशसभा बैठक बसे पनि अविश्वास प्रस्तावमाथि छलफल भने भएन । माघ ९ गते बसेको प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव टेबुल भयो तर छलफल हुन सकेन ।
अविश्वास प्रस्ताव टेबुल भए लगत्तै स्थगित गरिएको बैठक माघ १९ का लागि बोलाइयो तर बैठक विशेष कारण देखाउँदै फागुन ५ गतेसम्मका लागि स्थगित गरियो ।
फागुन ५ गतेको बैठक पनि बस्नुभन्दा अघि नै स्थगित गरिएको सूचना टाँसियो । तत्कालीन नेकपाभित्रको विवादका कारण त्यतिबेला स्थगित गरिँदै आएको बैठक हाल नेकपा एमालेभित्रको विवादका कारण स्थगित गरिएको विपक्षी दलहरूको आरोप छ ।
मुख्यमन्त्री पौडेल आफु नेतृत्वको सरकार जोगाउन लागिपरेको भन्दै उनीहरु सभामुख सानुकुमार श्रेष्ठलाई दबाब दिएर संघीय सरकारसँगको मिलेमतोमा प्रदेश सरकारले बैठक टार्दै आएको बताउँछन् ।
सर्वोच्चको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील हुन थाले पनि एमालेभित्र दुई धारबीच संघर्ष बढिरहेको कारण प्रदेश सरकार ढल्ने खतरा कायमै रहेकाले प्रदेशसभा बैठक स्थगित गरिएको सत्तापक्ष कै सांसदहरुको भनाइ छ ।
बागमती प्रदेशमा एमालेको स्पष्ट बहुमत छ तर एमालेभित्रको गुटका कारण प्रदेश सरकार असुरक्षित बनेको छ । बागमती प्रदेशका एमालेका ५७ जना सांसदमध्ये नेपाल–खनाल पक्षका २३ जना सांसद वर्तमान सरकारको विकल्प खोजिरहेका छन् ।
एमालेको कारण बैठक बस्न नसकेको हो : उपसभामुख तामाङ
बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङले नेकपा एमालेभित्रको द्वन्द्वका कारण प्रदेशसभा बैठक बारम्बार स्थगित भएको बताएकी छन् ।
यसअघि तत्कालीन सत्तारुढ दल नेकपाभित्रको विवादका कारण बैठक स्थगित भएकोमा अहिले सत्तारुढ दल नेकपा एमालेभित्रको विवादका कारण प्रदेशसभा बैठक स्थगित गर्नुपर्ने बाध्यता आएको उनले बताइन् ।
प्रदेशसभा बैठक राख्ने विषयमा सभामुख श्रेष्ठसँग कुनै समन्वय नभएको भन्दै उनले सभामुखको गैरजिम्मेवारीपनका कारण बैठक नै अनिश्चित बनेको बताइन् । उनले भनिन्, ‘सभामुखज्यूले सबै दलसँग छलफल गर्नुभएको छ भन्ने चाँहि सुनेको हो, मसँग समन्वय गर्नुभएको छैन, मैले फोन गर्दासमेत फोन उठ्दैन । यस विषयमा मलाई कुनै जानकारी नै भएन ।’
दलहरूसँगको छलफलबाटै अविश्वासको प्रस्तावबारे निर्णय गर्नुपर्ने भन्दै उनले आफुले पनि सोही सुझाव राखेको बताइन् ।
‘पार्टी नै खारेज भएपछि अविश्वास प्रस्ताव पनि स्वतः खारेज हुनुपर्छ’
बागमती प्रदेशसभा सदस्य तथा नेकपा एमालेको ओली पक्षका नेता चन्द्रबहादुर लामाले सर्वोच्च अदालतले पार्टी नै खारेज गरेपछि त्यस पार्टीका केही सदस्यले दर्ता गरेको अविश्वास प्रस्ताव स्वतः खारेज हुनुपर्ने तर्क गरे ।
उनले तत्कालीन नेकपाभित्रकै केही सांसदले सरकारको विरोध गरेर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको आरोप लगाए । उनले बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमतको सरकार रहेको भन्दै मुख्यमन्त्री पौडेलबिरुद्धको अविश्वास प्रस्ताव स्वतः खारेज नभए ह्वीप लगाएरै भए पनि सरकार टिकाउने दावीसमेत गरे ।
मुख्यमन्त्रीको दबाबमा बैठक अनिश्चित बन्दै : पूर्वमन्त्री जम्कट्टेल
बागमती प्रदेशसभा सदस्य एवम् पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पौडेलले आफु नेतृत्वको सरकार जोगाउन प्रदेशसभा बैठकलाई अनिश्चित बनाएको आरोप लगाएका छन् ।
सरकारको काम र प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्दै आफूले मन्त्री पदबाट राजीनामा दिएर सरकारको विकल्पका लागि संसदमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको उनले बताए ।
तत्कालीन नेकपामा रहँदा नै सरकारको विकल्प खोजेकाले सर्वाेच्चको फैसला अनुसार नै माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने गरी गठबन्धनमा लाग्ने उनले बताए ।
तत्काल बैठक सञ्चालन गर्ने जानकारी आएको छैनः प्रवक्ता अमात्य
बागमती प्रदेशसभाका प्रवक्ता विनोद अमात्यले प्रदेशसभा बैठक सञ्चालनका लागि तत्काल कुनै निर्देशन नआएको बताए ।
बैठक सञ्चालनका लागि भएका गृहकार्यका बारेमा सचिवालयमा कुनै आधिकारिक जानकारी नभएको उनले बताए । ‘बैठक सञ्चालनका लागि सचिवालय तयारी अवस्थामा छ, सभामुखज्यू पनि हेटौंडामै हुनुहुन्छ, उहाँको निर्देशन कुर्नु नै हाम्रो दैनिकी हो,’ उनले भने ।
प्रदेशसभा बैठक स्थगित हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशले पेश गरेको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा टेबल हुन सकेको छैन भने प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट पास हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय
-
संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्न भुषालको संयोजकत्वमा उपसमिति गठन
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू
-
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु