आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

सडक स्तरोन्नतिले धनगढीको मुहार फेरिँदै

शनिबार, ०७ चैत २०७७, १२ : २८
शनिबार, ०७ चैत २०७७

सडक सञ्जालको विकास एवं स्तरोन्नतिको काम शुरु भएसँगै सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी शहरको मुहार फेरिने भएको छ । शहरका रुपमा स्थापना भएपछि विभिन्न सडक पूर्वाधार निर्माण हुँदै गर्दा धनगढी शहरको मुहार फेरिने देखिएको हो ।  
  
धनगढी उपमहानगरपालिकाको मोहनापुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्मको १४ दशमलव दुई किलोमिटर लामो सडकमध्ये ग्रामीण बस्तीको सडकखण्डमा ‘चार लेन’ र बाँकी खण्डमा ‘छ लेन’ सडक निर्माण हुँदै छ । छ लेन सडक आयोजना कार्यालयका इञ्जिनीयर लक्ष्मणबहादुर रावलले आगामी छ महीनाभित्र निर्माण कार्य पूरा गर्ने गरी काम भइरहेको बताउनुभयो । तीन चरणमा निर्माण भइरहेको यो सडकको मोहना पुलदेखि गेटासम्मको खण्डमा कालोपत्र गर्ने काम पूरा भइसकेको छ ।
  
गेटादेखि अत्तरिया चोकसम्मको खण्डमा कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । पहिलो चरणअन्तर्गतको सडकखण्ड कालोपत्र भइसकेको छ । गेटा खण्डमा पर्ने सुनिखोला पुलको ठेक्का सम्झौता भइसकेको छ भने मनहरा खोला पुल निर्माणका लागि एक डेढ महीनामा सम्झौता भइसक्ने जनाइएको छ । 
 
कैलाली भन्सार कार्यालय नजिकको मोहना नदीमाथि हाल चालू अवस्थामा रहेको पुलको समानान्तर हुने गरी अर्को पुल बनाउने काम भइरहेको छ । “हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भइसकेको छ”, इञ्जिनीयर रावलले भने, “छ महीनाभित्र जसरी पनि काम पूरा गर्ने लक्ष्यमा हामी छौँ ।” यो सडकको निर्माणमा लुम्बिनी राजेन्द्र डाँफे, लामा राजेन्द्र डाँफे र शर्मा अमर नागार्जुन निर्माण कम्पनी संलग्न रहेका छन् । पहिलो चरणमा काम गर्ने निर्माण कम्पनीको निर्माण अवधि छ महीना थप भएकामा आउने जेठमा यो अवधि सकिँदै छ । 
  
दोस्रो र तेस्रो चरणमा काम गर्ने निर्माण कम्पनीको म्याद गएको माघ महीनामै सकिएपछि उनीहरुको निर्माण अवधिको म्याद थप गर्ने पहल भइरहेको छ । मुअब्जा वितरण र रुख कटानीको प्रक्रिया पूरा गर्दा शुरुको चरणमा काम शुरु गर्न ढिलाइ भएको थियो ।
  
पछिल्लोपटक कोरोना भाइरस सङ्क्रमणको जोखिमले निर्माणको काम रोकिएको थियो । निर्माणाधीन सडकको दायाँबायाँ रेलिङ (बार) लगाउने कार्य भइरहँदा आसपासका व्यापारीले आफ्नो पसल अगाडि बार लगाएर छेक्न नहुने भन्दै विरोध गरेका कारण समस्या उत्पन्न भइरहेको रावलले बताए । सुदूरपश्चिम प्रदेशको राजधानी शहर धनगढी प्रवेश गर्ने एकमात्र मुख्य अत्तरिया–धनगढी सडकखण्डमा दैनिक सानाठूला चार हजारभन्दा बढी यातायातका साधनको आवागमन हुने गर्छ । 

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पनि सडकको स्तरोन्नति हुँदै

छ लेन सडक निर्माणाधीन हुँदा धनगढी उपमहानगरपालिका क्षेत्रमा विश्व बैंकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत १० किमी सडकको निर्माण एवं स्तरोन्नति गर्ने काम पनि शुरु भएको छ । धनगढी उपमहानगरपालिकाको मुख्य सडक ट्राफिक चोकदेखि कैलाली खोलासम्म, शहीद गेटदेखि क्याम्पस रोडसम्म, गुल्मदेखि चर्च पुग्ने सडक र मालपोत सडकसमेत गरी झण्डै १० किलोमिटरको सडक स्तरोन्नति गर्न लागिएको हो । 
 
आयोजना कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर प्रविन शाहले पहिलो चरणको काम पूरा भएपछि धनगढीमा थप तीन दशमलव पाँच किलोमिटर सडकसमेत स्तरोन्नति गर्न लागिएको बताए। “पहिलो चरणको कामका लागि रु ६८ करोडमा ठेक्का सम्झौता भई काम शुरु भइसकेको छ”, उनले भने, “आगामी दुई वर्षभित्र यो काम पूरा गर्ने लक्ष्य तोकिएको छ ।” 
आयोजनाअन्तर्गत नालीसहितका सडक निर्माणका साथै फोहर व्यवस्थापन र संस्थागत सुधार जस्ता काम गरिँदै छ ।
  
धनगढी उपमहानगरपालिकाका इञ्जिनीयर द्वीजराज भट्टले यो आयोजनाअन्तर्गत नै उपमहानगरपालिका क्षेत्रको फोहर व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई वातावरणीय प्रभावको अध्ययन भइरहेको बताए । उपमहानगरपालिका–७ खुटिया नदी छेउको झण्डै २२ हेक्टर जग्गामा फोहर व्यवस्थापन गर्न नेपाल सरकारसँग जग्गाको भोगाधिकार माग गरिएको छ । “हालका सडकको चौडाइ बढाएर निर्माण तथा स्तरोन्नति गर्ने काम भइरहेको छ”, इञ्जिनीयर भट्टले भने, “सडक क्षेत्रमा पर्ने संरचनालाई सम्बन्धित घर धनीले भत्काएर सडक स्तरोन्नतिको कामलाई सघाइरहनु भएको छ ।”
   
क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत नै पहिलो चरणमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा रु ८७ करोडको लागतमा १४ दशमलव पाँच किलोमिटर, शुक्लाफाँटा नगरपालिकामा रु २४ करोड ७५ लाखको लागतमा चार दशमलव पाँच किलोमिटर र कैलालीको गोदावरी नगरपालिकामा रु ४८ करोडको लागतमा १६ दशमलव पाँच किलोमिटर सडकको निर्माण तथा स्तरोन्नति गरिँदै छ । यसबाहेक शुक्लाफाँटा नगरपालिका र गोदावरी नगरपालिको हकमा नगरपालिकाको भवन निर्माण भइरहेको छ । व्यवस्थित र आकर्षक शहरको विकास गर्नका लागि आयोजनाअन्तर्गत सडकको स्तरोन्नतिका साथै सडकका किनारमा नाली निर्माणका साथै फोहरमैला व्यवस्थापनलगायतका काम गर्न लागिएको हो ।  
 
शुरुका अवस्थामा धनगढी उपमहानरपालिका क्षेत्रमा यो आयोजनाअन्तर्गत ४१ किलोमिटर सडकको स्तरोन्नति गर्ने भनिएको थियो । आयोजना कार्यान्वयनमा भएको ढिलाइसँगै स्तरोन्नति हुने भनिएका सडकको लम्बाइ घटेको छ । धनगढी क्षेत्रमा पाँच वर्षअघि गरिएको लागत अनुमान डिजाइनअनुसार ‘फिडर’ सडकसमेत जम्मा ४१ किमी सडकको स्तरोन्नति गर्ने भनिएको थियो । त्यतिबेला छुट्याइएको बजेट र सडकको गुणस्तरलाई समेत ध्यानमा राखेर उपमहानगरपालिकासँग भएको समझदारीअनुसार स्तरोन्नति हुने सडकको लम्बाइ र सङ्ख्या हाल घट्न गएको बताइएको छ ।
   
एशियाली विकास बैंकको आयोजना समन्वय कार्यालय र धनगढी उपमहानगर कार्यालयका बीच धनगढी उपमहानगर क्षेत्रमा शहरी पूर्वाधार निर्माण गर्नेसम्बन्धी सम्झौता गरिएको थियो । विनायोजना शहरका रुपमा विकास हुँदै गएको धनगढी उपमहानगरपालिका क्षेत्रका बस्तीमा वर्षायाममा डुबान, नदी कटानका साथै ढल निकास, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोबासस्तरीय सडकको अभाव आदि मुख्य समस्या रहेका छन् ।
  
धनगढी आसपासका ठूला सडकको स्तरोन्नतिको काम हुनु उपलब्धि भए पनि भित्री छोटो दूरीका जीर्ण बन्दै गएका सडक मर्मतसम्भार भने हुन नसकिरहेको गुनासो नगरवासीको छ । छोटो दूरीका भित्री सडकको स्तरोन्नतिको काम नहुँदा सहज आवागमनमा समस्या हुने गरेको गुनासो स्थानीय मानबहादुर केसी गर्नुहुन्छ । बसाइँसराइको चापसँगै धनगढीको जनसङ्ख्या पनि वर्षेनी बढ्दै गएको छ । दुई दशकअघिसम्मका खेती हुँदै आएका जमीन विस्तारै घर घडेरीमा बिक्री भई आवासीय क्षेत्रका रुपमा विकसित भइरहेका छन् । झण्डै एक लाख ५० हजार जनसङ्ख्या रहेको धनगढी उपमहानगरपालिकाका अधिकांश ग्रामीण वडामा समेत अझैसम्म उचित सडक र खानेपानीलगायतका शहरी पूर्वाधार जुट्न सकेका छैनन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप