आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

शम्भुजित बाँस्कोटाको जीवन : आफ्नै गीत सुनेर कयौँ पटक आँशु झरेका छन्

राज्यले सिस्टम नबनाएपछि हामी सफल हुनुको अर्थ के रह्यो र ?
शनिबार, ०७ चैत २०७७, ०९ : ५६
शनिबार, ०७ चैत २०७७

शम्भुजित बाँस्कोटा नेपाली साङ्गीतिक आकाशका एक विशिष्ट व्यक्तित्व हुन् । उनी नेपाली चलचित्र क्षेत्रका भर्सटाइल सङ्गीतकार पनि हुन् । चलचित्र, सुगम सङ्गीत होस् वा आधुनिक नै  किन नहोस् उनका गीतले साङ्गीतिक आकाशमा एउटा सुनौलो अध्याय नै कोरेको छ । सङ्गीतको अलवा शब्द रचनाकार र गायकको रूपमा समेत नेपाली साङ्गीतिक क्षेत्रमा करिब तीन दशक चर्चामा रहन सफल उनी अहिले पनि उत्तिकै क्रियाशील छन् । ३७६ फिल्मका र दुई हजारभन्दा माथि सङ्ख्यामा अन्य गीतमा सङ्गीत भरेका बाँस्कोटा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको पूर्व उपकुलपति पनि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानको वरिष्ठ सङ्गीत निर्देशक, चलचित्र विकास बोर्डको पहिलो कार्यकारी अध्यक्ष तथा नेपाल टेलिभिजनको अध्यक्ष र महाप्रबन्धकको जिम्मेवारी बहन गरेर थुप्रै सम्झना लायक काम गरेका उनलाई नेपालको सरकारी टेलिभिजन नेपाल टेलिभिजनमा एक–एक घण्टामा समाचार राख्ने श्रेय पनि जान्छ । ४ दशक सङ्गीत सिर्जनामा खर्चिएका उनी थुप्रै पुरस्कार र लाइफटाइम अचिभमेन्ट सम्मान, अवार्ड र पदमबाट समेत  सम्मानित भएका छन् । सङ्गीतका हरेक पक्ष र समेटिएको एक बृहत् लाइब्रेरी बनाउने सपना बोकेका गायक, गीतकार तथा सङ्गीतकार शम्भुजित बाँस्कोटाको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा छोटकरीमा उनकै शब्दमा ।  

मेरो खाना
नेपाली खाना सबै प्रकारको मनपर्छ । थकाली, नेवारीलगायत देशभित्र खाइने सबै प्रकारको खाना मनपर्छ । माछामासुको सौखिन छु । तर ब्यालेन्समा खान्छु ।
मनपर्ने खाना त्यस्तो केही छैन । सानैदेखि कर्कलो भन्ने कहिल्यै मन परेन । रेस्टुरेन्ट साथीभाइ, फ्यामिलीसँग र एक्लै पनि जान्छु । हुलमुल हुने रेस्टुरेन्ट जादिनँ । शान्त वातावरण भएको रेस्टुरेन्ट जान्छु । केही गहन सोच राख्नु प-यो भने पनि जान्छु ।

रेस्टुरेन्ट स्पेसल खाना, मीठो खाना जे छ त्यही खान्छु । पहिलेदेखि नै पकाउन रुचि छ । विशेष प्रकारको परिकार पकाउन मनपर्छ । पकाउने कुरामा प्रेरणा मलाई नारायण गोपाल दाइबाट मिलेको हो । 

मेरो फिट्नेस
फिट्नेसका लागि सजग छु । एक्सरसाइज गर्छु । मर्निङवाक धेरै गर्दिनँ । म आफ्नै किसिमले एक्सरसाइज गर्ने मानिसमा पर्छु । योगा, कसरत लगायत सबै प्रकारका एक्सरसाइज हल्काफुल्का गर्छु ।
घरमा एक्सरसाइजका केही सामानसमेत छन् । कहिलेकाहीँ प्रयोग गर्छु । पुस अप, सेटअप लगायत पहिलेका नेचुरल एक्सरसाइज गर्न मनपर्छ ।

मेरो पोसाक
म ड्रेसमा पहिलेदेखि नै सौखिन थिएँ । पहिरन लगाउनै पर्छ । लगाउन परेपछि मिलाएर लगाउनुपर्छ भन्ने मेरा धारण पनि हो । धेरै मनपर्ने पहिरन राष्ट्रिय पोसाक दौरासुरुवाल र कोट । त्यसपछि फर्मलभन्दा पनि रफ खालका पहिरन मनपर्छ । जस्तै जिन्स, ज्याकेटलगायत ।

राष्ट्रिय कार्यक्रम, राष्ट्रिय सङ्घसंस्थामा हुँदा राष्ट्रिय पोसाक लगाउँछु । अन्य समय हेरेर मिल्दो पोसाक प्रयोग गर्छु । रातो, पहेँलो रङको पहिरन म लगाउँदिनँ ।
मेरो मनपर्ने पहिरन सेतो, कालो र नीलो कलरको हो । मनपर्यो भने ब्रान्डसँग सरोकार राख्दिनँ । ब्रान्डेड टिक्ने, बलियो र भरपर्दो हुने भएकाले विश्वास पनि लाग्छ ।  

मेरो अध्ययन
पहिले पुस्तक धेरै पढ्थेँ । एकेडेमीमा हुँदा विभिन्न खालका पुस्तक पढेर बसिरहन्थे । विशेष गरेर लाइब्रेरीमै बसेर पढ्थेँ । चर्चामा आएका, साथीभाइले ल्याएका पुस्तकसमेत पढ्छु ।
अहिले कहिलेकाहीँ मात्र पढ्छु । म यथार्थवादी मानिस हुँ । यथार्थमा आधारित, जीवनी, समाज, जीवनदर्शसँग नजिक रहेका र साहित्यले भरिएका पुस्तक पढ्छ रुचि लाग्छ ।

मेरो घुमघाम
म घुमघाममा धेरै रुचि राख्ने मानिस हुँ । विद्यार्थी जीवन, स्ट्रगल समय देशको विभिन्न जिल्ला घुम्न गइयो । धेरै मेरो घुमाइ साङ्गीतिक कामको सिलसिलमा पनि भयो । किनभने फ्री भएर घुम्ने समय जीवनमा कहिल्यै पाइएन ।

कामको सिलसिलमा मुम्बई पुग्दा त्यहाँ बढी घुमेको छु । मुम्बई नगरीको गल्लीगल्ली कन्ठै छ । देशका धेरै जिल्ला मात्र होइन, विदेशका पनि थुप्रै देश घुमेको छु । पौराणिक, ऐतिहासिक र प्रसिद्धि कमाएको ठाउँ घुम्न मनपर्छ । यस्ता ठाउँप्रति किन किन म सेन्टिमेन्टल हुन्छु । 

मेरो फुर्सद
‘फुर्सद भए ए हजुर भेटौँ शनिबार’ यो गीतले भनेजस्तै फिटिक्कै फुर्सद भएन । पहिले धेरै अगाडि अलिअलि थियो । अहिले निकाल्ने कोसिस गर्छु । गीतसङ्गीत मात्र होइन सामाजिक काम, अरूका कामले गर्दा बिजी भइरहेको छ । 
म आफ्ना लागि भन्दा पनि अरूका लागि बढी काम गरिरहेको हुन्छु । सङ्गीतको देश विदेशका उतारचढाव समेत ध्यान दिइरहेको हुन्छु । जीवनमा फुर्सद चाहियो भने म्यानेज गर्नुपर्छ ।

मेरो खेलकुद
खेलकुदमा रुचि छ । पहिले जिम्न्यास्टिक, हाई जम्पलगायतका धेरै खेल खेल्थेँ । १६, १७ वर्षको उमेरसम्म फुटबल पनि खेल्थेँ । स्कुलको म लिडिङ र राम्रो खेलाडीमा पर्थेँ ।
खेलकुदमा मैले पुरस्कार, सिल, मेडल धेरै जितेको छु । अहिले कहिलेकाहीँ कलाकारको लहडमा फुटबल पनि खेलियो । हेर्न पनि गइयो । अहिले टिभीमा विभिन्न प्रसिद्ध, चर्चित खेल हेर्छु, मनपर्छ ।
 
मेरो मोबाइल
मोबाइल समयले दिएको सुविधा हो । यो नबोक्दा लाटो भइएला भन्ने डर छ । म कहिल्यै मोबाइल बोक्दिनँ, हेर्दिनँ र छैन भन्ने मेरा अग्रज, साथीभाइले समेत अहिले मोबाइल बोक्न थालेका छन् । यो समयको आवश्यकता हो ।
अहिले मसँग एप्पल र सामसुम ब्रान्डका दुईवटा मोबाइल छन् । एउटा डाटा, फोटोका लागि हो । अर्काे कुरा गर्न । फेसबुक, युट्युब, भाइबर, ह्वाट्सएप लगायत धेरै चलाउँदिन । 

मेरो टिभी 
टिभी हेर्छु । टिभीमा नियमित हेर्ने भनेको समाचार हो । कहिलेकाँही रुचिको, चर्चाको र मनोरञ्जनात्मक कार्यक्रम छ भने हेर्छु । त्यसको सुरुवात हेर्छु । त्यसबाट नै थाहा हुन्छ राम्रो छ कि छैन । यो कति अगाडि जान्छ भनेर । कहिलेकाहीँ रियालिटी शोहरु पनि हेर्छु । 

मेरो चलचित्र
३६७ वटा नेपाली फिल्मको गीतमा सङ्गीत भरेको छु । केही फिल्म निर्माण गरेको छु । त्यसमा आफूले काम गरेको हेरेको भए पचास जति हेरेँ होला ।
फिल्म आउँथ्यो, जान्थ्यो । म काममा व्यस्त थिएँ । पहिले पहिलेको प्रिमियर सो रमाइलो पनि हुन्थ्यो । जान्थेँ । पछिल्लो समय भने जाँदिनँ । हिन्दी, नेपाली सबै प्रकारका फिल्म च्वाइस गरेर हेर्छु ।
एक्सन विषयवस्तु भएका फिल्म बढी हेर्छु । साउथका फिल्म मनपर्छ । टिभीमा, चलचित्र घरमा पनि हेर्छु ।

मेरो पेसा
मेरो जीवन सङ्गीतमै बित्यो । सङ्गीतको कामबाटै नेपाल प्रज्ञा प्रतिष्ठानमा ३४ वर्ष जागिर खाएँ । त्यहाँ सङ्गीतमै थिएँ । त्यहाँ सङ्गीतको प्रस्तुति दिन्थेँ । विदेशबाट आउने पाहुनालाई सङ्गीत बुझाउने गर्थे । साङ्गीतिक कार्यक्रमको सिलसिलामा विदेश पनि गइन्थ्यो ।

म अहिले जहाँ छु, जे छु सङ्गीतले पुर्याएको हो । ३७६ फिल्ममा मात्र होइन, करिब २ हजारभन्दा माथि अन्य सङ्ख्याका गीतमा समेत सङ्गीत भरेको छ । सङ्गीत गर्नेको अलवा, लेख्ने, गाउने समेत गरेको छु ।
सानोमा स्कुले जीवनमा स्कुलपछि पनि विभिन्न क्रियाकलापमा लाग्थेँ । रेडियो नेपालको बाल कार्यक्रममा पनि जान्थेँ । त्यसपछि नाटक, ड्रामाहरू, डान्स पनि गरियो, गीत पनि गाइयो । त्यो स्कुलपछिको समय थियो ।
२०२८ सालमा रेडियोमा स्वर परीक्षा दिए । त्यसपछि अध्ययन, विभिन्न क्रियाकलापसँगै सङ्गीतमा पनि लाग्दै गएँ । 

त्यतिबेला जिन्दगी गाह्रो थियो, स्ट्रगल थियो । मध्यम परिवारको भएकाले कठिन स्ट्रगल समेत गर्नुपर्यो । जब चलचित्र सङ्गीतमा जब म होमिएँ त्यसपछि जीवन सहज भएर आयो । प्रज्ञा प्रतिष्ठानमा २०४१ सालबाट अम्बर गुरुङजीको असिस्टेन्ट म्युजिक निर्देशकका रूपमा जागिर सुरु गरेको थिएँ ।

त्यहीँ रहँदा नेपाल टेलिभिजनको अध्यक्ष महाप्रबन्धक, चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष भएँ । पछिल्लो समय सङ्गीत तथा नाट्य प्रतिष्ठानको उपकुलपति पनि भएको थिएँ ।
गीतसङ्गीतबाट मैले धेरैलाई नचाउन, सन्तुष्ट बनाउन र रुहाउनसमेत सफल भएको छु । त्यति मात्र कहाँ होर । आफ्नै सङ्गीत सुनेर म पनि धेरै पटक रोएको छु । मेरा केही गीत यस्ता छन् । सुने पछि आफ्नै शरीरसमेत झरर पनि हुन्छन् । गीत सुन्दा, फिलिङ गर्दा कतिपटक भावुक, इमोसनलसमेत भएको छु । कुनै यस्ता गीत पनि थिए । जसले म आफैलाई पनि नचाउँथ्यो ।

मेरो गीतले रुहाउँथ्यो पनि, नचाउँथ्यो पनि । जहिले पनि गीतमा प्राण आहोस् भन्ने मेरो सोच रहन्थ्यो । कहिलेकाहीँ गीत सबैले मनपराएपछि यसमा कति भावुकता छ भनेर गहिरिएर सुन्दा आँशु खस्थ्यो ।
सङ्गीतको सिलसिलामा विदेशबाट विभिन्न अफर आएको थियो । तर मलाई देश छोड्न मञ्जुर भएन । बलिउडका मिथुन चक्रवती, विश्वास भन्ने एक निर्देशकले फिल्मका लागि साइन पनि गराएका थिए । तर मलाई विदेशी मोह लागेन । 

भारतीय सङ्गीत के रहेछ । किन माथि पुगेको रहेछ भन्ने सिक्न भारत धेरै पटक गइरहेँ । त्यहाँ सिकेको नेपालमा आएर सिकाएँ र प्रयोग पनि गरेँ ।

मेरो प्रेम
२०३६, ०३७ मा म कलेज पढ्थेँ । सोही सिलसिलामा प्रेम विवाह गरेको हो । उनी कलेज अध्ययन गर्दै थिइन् । म पनि स्ट्रगल गर्दै, कलेज पढ्दै थिएँ ।
काठमाडौँको एक मेलामा उनीसँग पहिलो पटक भेट भएको थियो । केही चिनेका साथीहरु मार्फत चिनजान पनि भयो । हाम्रो पारिवारिक चिनजान पनि रहेछ । करिब एक वर्षको हाम्रो प्रेम पारिवारिक सहमतीमा विवाहमा परिणत भयो । त्यो प्रेम अहिले पनि चल्दैछ ।

मेरो सपना 
मसँग कन्फिडेन्ट, ऊर्जा, सोच्ने शक्ति सबै थोक छ । बिग्रिएको कतै पनि देख्नै सक्दिनँ । संसार एउटा सिस्टममा चलिसक्यो । हाम्रो देश अझै झगडामा रुमल्लिएको छ । देश सिस्टममा चलिदिए हुन्थ्यो भन्ने एउटा सपना हो ।
अर्काे, सपना एउटा ठूलो सङ्गीतको सङ्ग्रहालय निर्माण गर्ने छ । त्यो सङ्ग्रहालयमा नेपालका अहिलेसम्मका सङ्गीतका महारथीको अध्ययन गर्न पाइयोस् भन्ने छ । दुःखी, पीडित, असहायका लागि केही गर्न सकौँ भन्नेसमेत लागेको छ ।

मेरो भुल
मानिस हुँ, भुल भएन भनेर म सोच्दै सोच्दिनँ । मबाट धेरै भुल भए पनि होला । भुल गरेपछि म आत्मालोचना समेत गर्छु ।
सत्य बोल्ने मेरो स्वभाव छ । कहिलेकाहीँ साँचो बोल्नु हुँदैन रहेछ । त्यसले कयौँ पटक अप्ठ्यारोमा परेको छु । विश्वास गरेकाबाट घातसमेत पाएको छु । घात गर्ने व्यक्तिलाई विश्वास गर्नु भुल रहेछ । यदि सङ्गीतमा नलागेको भए म आर्मी वा पाइलट हुन्थेँ । त्यतातिर पनि रुचि थियो । 

मेरो मापसे

झुटो बोल्न जाँन्दिनँ । त्यसैले गर्दिनँ कसरी भनौँ र ? कहिलेकाहीँ साथीभाइको जमघट, कार्यक्रममा थोरै लिन्छु । शरीरलाई नष्ट गरेर, अरूलाई डिस्टर्ब हुने गरेर होइन । शान्त भएर मापसे गर्न मनपर्छ ।
सकेसम्म महँगो ब्रान्ड खान रुचाउँछु । किनभने त्यो आफैले सधैँ किनेर खान पनि सकिन्न र अरूले किनेर पनि खुवाउँदैन । त्यसैले सधैँ खानै पर्दैन । पहिले पहिले मेरो घरमा ‘बार’ थियो । सङ्गीतको सेटिङमा त्यहीँ बसेर सबैले खान्थ्यौँ । त्यहाँ अम्बर गुरुङ पनि कहिलेकाहीँ आउनु हुन्थ्यो ।

मेरो दुःख 
हामी कलाकार एकदमै इमोसनल हुन्छौँ । कसैले कुनै कोणबाट चित्त दुखाउनु हुँदैन भन्ने लाग्छ । हामी राम्रो काम गर्नेमा पर्छौँ । हामीमा पनि कमीकमजोरी होला । नराम्रो काम हामीबाट भयो भने त्यो औंल्याएर राम्रो गर्नका लागि सुझाव दिनुपर्छ ।

राम्रो काम गर्दा पनि रिस गर्ने धेरै हुँदा दुःख लाग्छ । देशले कलाकारलाई सिस्टममा राखेर सुविधा दिन नसक्दा चित्त दुःख । हामी सफल हुनुको अर्थ के रह्यो र ? हामीलाई श्रोताले माया गर्नुको अर्थ के रह्यो र ? भन्ने लाग्छ । अहिले सङ्गीतका विभिन्न विकृति आएको छ । त्यो देखेर दुःख लाग्छ । छिट्टै चर्चा, पैसाका लागि विकृति रोज्नु भएको होला । त्यो क्षणिक हुन्छ । विकृतिले राम्रो कुराको नष्ट गर्ने गर्छ । सङ्गीतमा लाग्नेले यतातिर पनि ध्यान दिनुपर्छ ।


 
मेरो रोग
भगवान्को कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । मलाई अन्याय, फटाइ मनपर्दैन । त्यस्तो भयो भने रिस उठ्छ । प्रेसर हाई हुन्छ ।

मेरो राशि 
मेरो राशि ‘सिंह’ हो । ग्रहदशामा विश्वास गर्दिनँ । हेराउने जुराउने पनि गर्दिनँ । त्यतातिर ध्यान दिन्न । मेरो जे गर्नुपर्छ मुमाले गरिदिनुहुन्छ । मलाई मतलब छैन ।

मेरो मृत्यु
मृत्यु स्वाभाविक हो । जन्मेपछि एक दिन मर्नैपर्छ । त्यो सत्य हो । राम्रो मृत्यु होस्, दुःख पाएर मर्नु नपरोस् । जन्म र मृत्यु कसैले गोप्य राख्न सक्दिनँ । मृत्युपछि पनि म बाँचिरहन्छु जस्तो लाग्छ । मेरो सङ्गीत कर्मले मलाई बचाउने काम गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप