शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारबाट लगानीकर्तासँगै सरकार पनि फाइदामा

लगानीकर्ताले नाफा कमाउँदा सरकारले उठायो अहिलेसम्मकै बढी पुँजीगत लाभकर
बिहीबार, ०५ चैत २०७७, १४ : ४३
बिहीबार, ०५ चैत २०७७


सरकारले सेयर बजारबाट हालसम्मकै उच्च पुँजीगत लाभकर उठाएको छ । पछिल्लो समय सेयर बजार बढ्दै गएपछि सरकारले पाउँने पुँजीगत लाभकर पनि बढेको हो  । चालु आर्थिक वर्षमा (२०७७/७८) नै सेयर बजार बढेर २६ सय अंकसम्म पुगेको थियो । सेयर लगानीकर्ताले  पनि यस बर्ष सबैभन्दा बढी नाफा कमाएका छन् । बजार बढेको फाइदा लगानीकर्ताले मात्र लिएनन् उनीहरुले राज्यलाई यस पटक सबैभन्दा बढी कर पनि तिरे ।

सिडिएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा (फागुन सम्म) ७ अर्ब २८ करोड ७० लाख १० हजार रुपैयाँ पुँजीगत लाभकर सरकारले उठाएको हो । यो हालसम्मकै उच्च हो । यस अघिका वर्षमा सेयर बजारमा खासै बढोत्तरी नभएकाले पनि लगानीकर्ताले सेयरबाट धेरै मुनाफा गर्न सकेका थिएनन् ।

सिडिएससीका प्रवक्ता सुरेस न्यौपाने कारोवार संख्या र समग्र बजारमा भएको मूल्य बृद्धिले पुँजीगत लाभकर बढी भएको बताउँछन् । मूल्य वृद्धि हुनु, भर्खरै आईपिओ जारि गरेका कम्पनीको मूल्य वृद्धि अत्याधिक हुनु र सो विक्री गर्दा नाफा वृद्धि हुनु जस्ता कारणले  बढी लाभकर तिर्नुपरेको उनको भनाइ छ  ।

गत वर्ष सरकारले १ अर्ब पुँजीगत लाभकर उठाएको थियो । गत आर्थिक वर्ष (२०७६/०७७) मा १ अर्ब १ करोड ९ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारले सेयर बजारबाट उठाएको थियो । तर सो वर्षको फागुनसम्ममा भने ८५ करोड ९७ लाख ४४ हजार रुपैयाँ सरकारले उठाएको थियो । लगानीकर्ताले सेयरबाट कमाएको  नाफाबाट पुँजीगत लाभकर तिर्ने प्रावधान छ ।

सेयर कारोबारमा नाफा भएको अवस्थामा व्यक्तिगत लगानीकर्ताले नाफाको ५ प्रतिशत रकम पुँजीगत लाभकर तिर्नुपर्छ भने संस्थागत लगानीकर्ताले नाफाको १० प्रतिशत लाभकर तिर्नुपर्छ । सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले भने कर तिर्नुपर्दैन । आर्थिक वर्ष २०७६/०७७ देखि ५ र १० प्रतिशतको लाभकर प्रावधान शुरु भएको हो । यसअघि संस्थागतको हकमा १० प्रतिशत र व्यक्तिगतको हकमा ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो ।

बोनस सेयरका हकमा भने १ सय रूपैयाँलाई आधार मानेर बेचेको मूल्य घटाइ पुँजीगत लाभकर तिर्नुपर्छ । अहिले धेरैजसो व्यक्तिगत कारोबारी छन् । संस्थागत लगानीकर्ताको हिस्सा कम छ ।

विगत पाँच बर्षको पुँजीगत लाभकरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/०७३ मा १ अर्ब २५ करोड ८२ लाख ७३ हजार ७ सय ४८ रुपैयाँ पुँजीगत लाभकर सरकाले उठाएको थियो । यस्तै ०७३/७४ मा १ अर्ब ४४ करोड ८२ लाख ६३ हजार ८ सय ६ रुपैयाँ, ०७४/०७५ मा  ५० करोड ६७ लाख ५४ हजार, ०७५/०७६ मा ६१ करोड २ लाख ७४ हजार ६ सय १६ रुपैयाँ पुँजीगत लाभकर उठाएको सिडिएससीको तथ्यांकमा छ ।

राजनीति घटनाक्रम र सरकारका निर्णयबाट प्रभावित हुने सेयर बजारमा नेतृत्वको अभिव्यक्ति महत्वपूर्ण हुन्छ । यस अघिका अर्थमन्त्रीमा डा. युवराज खतिवडा रहुन्जेल बढ्न नसकेको बजारले वर्तमान अर्थमन्त्रीमा विष्णु पौडेलको  इन्ट्री पछि लगातार बढिरह्यो । सेयर  बजारले पुरानो रेकर्ड पनि उनी आएसँगै तोडेको हो । यस अघि पनि उनी अर्थमन्त्री हुँदा बजारले रेकर्ड कायम गरेको थियो ।

कोरोनाले लगानीको ढोका बन्द हुँदा सेयर बजारलाई फाइदा

गत चैतमा कोरोनाको कारण शुरु भएको लकडाउनले आर्थिक गतिविधिहरु विस्तारै कम हुँदै गएर ठप्प समेत बन्यो । लगानीका ढोकाहरू बन्द हुँदा लगानी गर्ने उपयुक्त क्षेत्रको रुपमा सेयर बजारलाई हेरियो । सबै सेयर बजारप्रति लगानी खन्याउन थालेपछि बजार इतिहासमै सबैभन्दा उच्च बिन्दुमा आउन सकेको जानकारहरु बताउँछन् । घरमै बसेर अनलाइन कारोबार गर्न सकिने भएपछि कोरोना कालमा पनि सेयर बजारमा लगानी आकषर््िात भएको हुनसक्ने विश्लेषण पनि हुन थालिएको छ ।

फागुन ९ गते सेयर बजार २६४०.३५ विन्दुमा आइ इतिहासकै उच्च विन्दु बनेको थियो  । तर त्यस यता विस्तारै बजार घट्ने क्रममा देखिएको  छ । बजार पुँजीकरण पनि देशको अर्थतन्त्रकै आकारको हारहारीमा (जिडिपी) पुगेको थियो ।

२०७७ माघ मसान्तमा धितोपत्र बजार पुँजीकरण  ३४ खर्ब ६ अर्ब १७ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण  १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । सेयर बजारलाई अर्थतन्त्रको ऐना पनि भनिदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप