बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरको वडा कार्यालयमा वडा सदस्यहरूद्वारा तालाबन्दी

बिहीबार, ०५ चैत २०७७, १४ : १६
बिहीबार, ०५ चैत २०७७

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा जनप्रतिनिधिबीच कुरा नमिल्दा वडा कार्यालयमै ताल्चा लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– २१ का वडा अध्यक्ष रामेश्वर महासेठले एकलौटी गरेको भन्दै वडा सदस्यहरुले वडाध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् ।

जनकपुरधाम उपमहानगर वडा नम्बर– २१ कुर्था स्थित वडा कार्यालयमा वडा सदस्यहरु महेन्द्र महतो, वैद्यनाथ पण्डित र कुन्ती देवी महराले कार्यालयमा तालाबन्दी गरेका छन् । वडा सदस्य महेन्द्र महतोले वडाध्यक्ष रामेश्वर महासेठले हरहिसाब सार्वजनिक नगरेको, योजना छनौटमा मनोमानी गरेको र सडक निर्माणमा काखा पाखा गरेको आरोप लगाउँदै उनले विभिन्न १२ बुँदे मागसहित आफूहरुले तालाबन्दी गरेको बताए ।

वडा सदस्य महतोले वडा अध्यक्ष महासेठमाथि आरोप लगाउँदै भने– वडाको हिसाब किताब सार्वजनिक गर्न र सडक निर्माण नक्सा अनुसार गर्न आग्रह गरेपनि वडाध्यक्ष महासेठले वेवास्ता गरिरहेको छ । वडाध्यक्ष महासेठले नातेदारलाई उपभोक्ता समिति बनाएर योजना सञ्चालन गरिरहेको पनि उनको आरोप छ । यसअघि सदस्यहरुले उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा समेत निवेदन दर्ता गराएका थिए । तर, जनकपुरधाम उपमहानगरका नगर प्रमुख लालकिशोर साह र प्रमुख जिल्ला अधिकारीले चासो नलिएपछि बाध्य भएर तालाबन्दी गरेको वडा सदस्य वैद्यनाथ पण्डितले बताए ।

वडा स्तरीय अनुगमन समिति चयन गर्नुपर्ने, वडामा कुनै काम हुँदा अनिवार्य वडा सदस्यको उपस्थिति हुनुपर्ने, योजना तर्जुमा स्थानीय र वडा सदस्यको सल्लाहमा हुनपर्ने, आय–व्यय सार्वजनिक गर्नुपर्ने र विकास निर्माणको काममा होर्डिङ बोर्ड लगाउनु पर्ने लगायत वडा सदस्यहरुको १२ बुँदे माग गर्दै तालाबन्दी गरेको उनले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप