शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रेकिङ व्यवसायीको पीडा : बन्दाबन्दी खुले पनि व्यवसाय ठप्प

बिहीबार, ०५ चैत २०७७, १० : ५०
बिहीबार, ०५ चैत २०७७

पोखरा । कोरोना संक्रमण (कोभिड–१९) का कारण अन्नपूर्ण पदयात्रामा जाने पर्यटक नपाउँदा ट्रेकिङसँग सम्वद्ध व्यवसायी संकटमा परेका छन् । बन्दाबन्दी खुलेको लामो समयसम्म पनि अन्नपूर्ण पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको आगमन नभएपछि पथप्रदर्शक (ट्रेकिङ गाइड) र सम्वन्धित व्यवसायीहरु धरासायी बनेका हुन् ।

बन्दाबन्दी खुलेको लामोसमय बितिसक्दा समेत पदयात्राको चर्चित गन्तव्यमा जाने आन्तरिक तथा बाह्य पर्यटकको आगमन नहुँदा वर्षौंदेखि पथप्रदर्शक व्यवसायमा संलग्न ठूलो संख्याका मजदूर र त्यससँग सम्बन्धित व्यवसायमा संलग्न व्यवसायीहरु समस्यामा परेका हुन् ।

गत मंसिरदेखि पूर्णरुपमा लकडाउन हटेपछि आन्तरिक पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट र प्याराग्लाइडिङ व्यवसायीलाई केही राहत मिले पनि पर्यटनसँग सम्बन्धित अन्य व्यवसायी भने समस्यामै छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न पर्यटकीय गन्तव्यसम्म पदयात्रा गराउने गाईड, मजदूर र ट्रेकिङसँग सम्वद्ध अन्य व्यवसायीले लामो समयदेखि समस्या झेल्दै आएका छन् । खासगरी अन्नपूर्ण आधार शिविर जाने पर्यटक नपाउँदा उनीहरु समस्यामा परेका हुन् । पदयात्राका लागि विदेशी पर्यटककै भर पर्नु परेकाले पनि व्यवसायी समस्यामा परेका हुन् । अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वकै १० उत्कृष्ट मध्येमा पर्छ ।

अन्नपूर्णको आधार शिविरसम्म पुग्ने सपना बोकेका विश्वका पदयात्री बर्सेनि ठूलो संख्यामा आउने गर्दछन् । पदयात्रा पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित भइसकेको यस क्षेत्रको पदयात्रामा बर्सेनि हजारौं पर्यटक पुग्ने गर्दछन् ।

बन्दाबन्दी खुलेसँगै पोखराको पर्यटन व्यवसाय तङ्ग्रिए पनि पदयात्रामा जाने पर्यटक नहुँदा व्यवसाय संकटमा परेको ट्रेकिङ ब्यवसायी पूर्णजित तामाङ बताउँछन् ।

गत चैत ११ गतेदेखि सरकारले लकडाउन जारी गरेपछि ट्रेकिङ व्यवसाय संकटमा परेको उनले बताए । सरकारले बन्दाबन्दी खोलेपछि अन्य पर्यटन व्यवसायले विस्तारै गति लिँदै गए पनि ट्रेकिङसँग सम्वद्ध सबै व्यवसाय अहिलेसम्म संकटमै रहेको उनको भनाइ छ । लामो समयसम्म व्यवसाय ठप्प भएकाले घरखर्च चलाउनसमेत आफन्तसँग ५ लाख ऋण काढेको तामाङले बताए ।

‘व्यवसाय पूर्ववत् अवस्थामा फर्किने आसमा आफन्तबाट ऋण काढेर घरखर्च चलाउँदै आएको छु,’ उनले भने, ‘व्यवसायमा सुधार हुने आशमा इस्टमित्र, साथीभाइसँग सापट गरेर घरखर्च र छोराछोरीको स्कूलको शुल्क तिर्दै आएको छु ।’

उनले बन्दाबन्दी हटेपछि आन्तरिक तथा बाह्य पर्यटक आगमनमा उल्लेख्य प्रगतिको अपेक्षा गरे पनि लामोसमय बितिसक्दा समेत विदेशी पर्यटक आगमन ठप्प भएको बताए । ‘व्यवसायीले बन्दाबन्दी खुलेपछि यस्तो अवस्था होला भन्ने कल्पनै गरेका थिएनन्,’ उनले भने, ‘पर्यटन व्यवसायमा यस्तो सन्नाटा छाउलाजस्तो लागेको थिएन ।’

ट्रेकिङ व्यवसायी तामाङ अन्नपूर्ण पदयात्रामा पर्यटकसँग नगएको एक वर्ष पुगेको बताउँछन् । ‘पहिले वर्ष दिनमा दर्जनौं पटक आउजाउ गर्ने अन्नपूर्ण पदयात्रा अहिले वर्ष दिनसम्म एकपटक पनि जान पाइएन,’ उनले भने ।

पदयात्रामा जाने अधिकांश विदेशी पर्यटक भएको र अहिले उनीहरुको आगमन नभएका कारण ट्रेकिङ व्यवसायी समस्यामा परेको ट्रेडिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराका अध्यक्ष सुशीलराज पौडेलले बताए । ‘बाह्य पर्यटकको आगमन नभएकाले अहिले सबैभन्दा बढी समस्यामा ट्रेकिङ व्यवसायी छन्,’ उनले भने, ‘पर्यटन क्षेत्रका अन्य व्यवसायमा आन्तरिक पर्यटकको आगमनसँगै केही सहज भएको छ, तर बाह्य पर्यटकको भरमा रहेका ट्रेकिङ व्यवसायी अति नै प्रभावित भएका छन् ।’

कोरोना संक्रमणको मारमा परेका ट्रेकिङ व्यवसायीको लागि सरकारले अहिलेसम्म कुनै सहयोग नगरेको उनले गुनासो गरे ।

‘पर्यटन क्षेत्रमा लामो समयसम्म मारमा परेका ट्रेकिङ व्यवसायीको राहत तथा उद्धारका लागि सरकारले अहिलेसम्म कुनै सहयोग गरेन,’ उनले भने, ‘व्यवसायीले आफ्नै सम्पर्कमा देश विदेशमा रहेका साथीभाइ र आफन्तको सहयोग पाएका होलान् तर सरकारबाट अहिलेसम्म केही पाएका छैनन् ।’

अध्यक्ष पौडेलले लामो समय व्यवसाय ठप्प हुँदा व्यवसायीलाई दैनिक रोजीरोटीको समस्या परेको बताए । एक वर्षसम्म व्यवसाय ठप्प भएपछि ट्रेकिङ सँग सम्बद्ध ब्यवसायीलाई घरभाडा, दैनिक खर्च, छोराछोरीको विद्यालय शुल्क लगायतका समस्याले सताउने गरेको उनले बताए । उनका अनुसार लामो समय व्यवसाय थला परेपछि करिब ५० प्रतिशत व्यवसायी यो व्यवसाय छाडेर अन्यत्र लागेका छन् । ‘अब पनि व्यवसायले गति नलिने हो भने व्यवसाय त्यागेर गाउँ पस्नुको विकल्प छैन,’ उनले भने, ‘यही अवस्था कायम रहे गाउँ पसेर कुटोकोदालो गर्नैपर्छ ।’

कोरोनाका कारण थला परेको ट्रेकिङ व्यवसाय अझै २ वर्षसम्म उठ्न सक्ने अवस्था नरहेको उनले बताए ।

साढे दुई दशकदेखि पर्यटक पथप्रदर्शक (गाइड) को काम गर्दै आएका शेषकान्त शर्माले अन्नपूर्ण पदयात्रामा जाने पर्यटक नआएका कारण ट्रेडिङ व्यवसायमा आवद्ध पथप्रदर्शकदेखि व्यवसायीसम्म समस्यामा परेको बताए । झण्डै एक वर्ष व्यवसाय ठप्प हुँदा दैनिकी चलाउन समस्या भएको उनको भनाइ छ ।

कोरोनाभाइरसको संक्रमण फैलिएसँगै व्यवसाय धरासायी बनेपछि धेरै व्यवसायीलाई बिहान बेलुका हातमुख जोर्न र दैनिकी चलाउन सकस भएको उनी बताउँछन् । ‘कोरोना संक्रमण लगत्तै बन्द भएको पदयात्रा माघबाट खुल्ला गरिए पनि पदयात्रामा जाने पर्यटक नआउँदा व्यवसाय ठप्प छ’, उनले भने, ‘जीविकोपार्जन गर्ने मुख्य आधार नै यही व्यवसाय हो । व्यवसाय नै धरापमा परेपछि कसरी बालबच्चाको स्कूल फि तिर्ने, कसरी भाडा तिर्ने र कसरी दैनिकी चलाउने ?’

व्यवसाय धरापमा परेपछि ऋणकै भरमा दैनिकी चलाउँदै आएको शर्माले गुनासो पोखे । ‘आम्दानी गर्ने मुख्य स्रोत नै एक वर्षदेखि बन्द हुँदा ऋण खोजेर खानुको विकल्प रहेन,’ उनले भने, ‘साथीसंगी सबैले उस्तै पीडा छ । व्यापार छैन, घर भाडा, बैंकको ब्याज र छोराछोरीको स्कूल फि तिर्नै सकस परेको भन्दै पीडा सुनाउँछन् ।’

व्यवसायी शर्माले कोरोना संक्रमणका कारण व्यवसाय ठप्प भएपछि ट्रेडिङ व्यवसायमा आवद्ध पथप्रदर्शक र व्यवसायीसहित करिव ३० प्रतिशत जनशक्ति पेशाबाटै पलायन भएको बताए । ‘यो व्यवसायमा आवद्ध तीन किसिमका व्यक्तिमध्ये निम्न वर्गका व्यवसायी लकडाउन घोषणा भएको केही समयमै ज्याला, मजदुरी र निर्माणको काममा लागिसके,’ उनले भने, ‘मध्यम वर्गका व्यवसायी जेनतेन अहिलेसम्म धानिएका छन् । उच्च तहका व्यवसायी अझै १/२ वर्ष यस्तै अवस्था रहे पनि धानिन्छन् ।’

नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष समेत रहेका शेषकान्त शर्माले साहसिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर गत माघ १ गतेदेखि पर्यटकका लागि खुला गरेपछि सो क्षेत्रमा जाने आन्तरिक पर्यटक फाटफुटरुपमा जान थालेको बताए । ‘बन्दाबन्दीले लामोसमय ठप्प भएको पदयात्रा माघबाट खुलेपछि आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ,’ उनले भने, ‘छिटफुटरुपमा आन्तरिक र भारतीय पर्यटकहरु पदयात्रामा जानेक्रम बढेको छ । अब, विस्तारै पर्यटक आगमन बढ्ने आश जागेको छ ।’

पर्यटकीय क्षेत्र लेकसाइडमा विगत २ दशकदेखि ट्रेकिङका सामानहरुको व्यवसाय गर्दै आएका पर्वतका शिव पौडेलले व्यवसाय धरापमा परेको बताए । कोरोनाभाइरसको संक्रमण फैलिएसँगै व्यवसाय धरासायी बनेपछि बिहान बेलुका हातमुख जोर्नै सकस भएको उनको भनाइ छ । ‘पसलमा बोहनीसमेत नभएको महिनौं भयो’, उनले भने, ‘जीविकोपार्जन गर्ने मुख्य आधार नै यही व्यवसाय हो । व्यवसाय नै धरापमा परेपछि कसरी छोराछोरीको स्कूल फि तिर्ने, कसरी भाडा तिर्ने र कसरी दैनिकी चलाउने भन्ने समस्या छ ।’

दिनभर घरमा बसेर समय बिताउन गाह्रो भएपछि खाना खाएर ११ बजेतिर पसल खोल्ने गरे पनि साँझसम्म बस्दासमेत बोहनी नगरी घर फर्कनुपर्ने अवस्था रहेको उनले गुनासो गरे । कोरोना संक्रमणसँगै ब्यवसाय ठप्प भएपछि घरखर्च र दैनिकी चलाउन ऋण खोजेर काम चलाउँदै आएको पौडेलले बताए ।

विगत १० वर्षदेखि लेकसाइडमा ट्रेकिङ व्यवसाय सञ्चालन गर्दै आएका गोरखाका शिशिर क्षत्रीले २०७२ को महाभूकम्पको भन्दा पनि कोरोनाभाइरसका कारण व्यवसायमा ठूलो असर परेको बताए । ‘कोरोना भाइरसको संक्रमणसँगै व्यापार चौपट भएको छ,’ उनले भने, ‘२०७२ को भूकम्प जाँदाको अवस्थामा पनि यस्तो थिएन । हल्काफुल्का व्यापार भएको थियो, अहिले त व्यवसाय ठप्पै भयो ।’

उनले कोरोना संक्रमण फैलिएपछि गत चैतदेखि नै घर खर्च र सटर भाडा तिर्नका लागि ऋण खोज्दै आएको बताए । ‘लकडाउन खुलेको पनि यतिका समय भइसक्यो, तर अहिलेसम्म ऋण खोजेर घर खर्च र भाडा तिर्दै आएको छु’ उनले भने, ‘व्यावसायिक भविष्यका आशमा ऋण खोजेर एक वर्ष धानियो, अब पनि यस्तै अवस्था रहिरहने हो भने धान्न सकिँदैन ।’

आन्तरिक पर्यटकको आगमनले होटल, रेस्टुरेन्ट र प्याराग्लाइडिङ व्यवसायीलाई केही राहत दिए पनि पर्यटनसँग सम्बन्धित अन्य व्यवसायी अझै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ ​एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले केही समय पहिले अन्नपूर्ण पदयात्रामा पर्ने विभिन्न पर्यटकीय स्थलहरूको प्रवर्द्धनात्मक कार्यक्रमसमेत गरेको थियो ।

संघले पर्यटन प्रवर्द्धन गर्न मादी गाउँपालिकाका ताङतिङ, क्रपुडाँडा, क्होलार्सोंथर, ठुलीलेक, कोरी, क्हफुचे ताल, सिक्लेस पदयात्रा मार्गको एक साता लामो प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरेको थियो । यद्यपि पर्यटकको आगमन नै नभएका कारण व्यवसायीहरुको अवस्था जस्ताको तस्तै रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप