तीन दिनदेखि बेपत्ता व्यक्ति मृतावस्थामा फेला
बुधबार, ०४ चैत २०७७, २३ : २३
बैतडी । तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् । मृतावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–८, काला गाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन् । विष्ट सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
चैत २ हरिद्वार जान्छु भनी घरबाट हिँडेका विष्ट आज बिहान मृत भेटिएका हुन् । उनले भने, “घटनाको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो देखिन्छ ।” मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।