बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन हुने आईपीओको मूल्य किन महँगो हुन्छ ?
पछिल्लो समय बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गरे सेयर मूल्य अहिलेको भन्दा महँगो पर्न जाने बहस भइरहेको छ । एकातर्फ १० कित्तामा आवेदन दिन नपाइने र अर्कोतर्फ मूल्य पनि बढी हुने भनिएपछि साना लगानीकर्ता बिच्काउने नीति भनेर आलोचनासमेत हुँदै आएको छ । सामान्यतया अहिले आईपीओ सय रुपैयाँ प्रतिकित्तामा पाउँदै आएको छ ।
बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन हुन थाले न्यूनतम ५० कित्तामा आवेदन दिनुपर्ने व्यवस्था स्वत्तः लागू हुनेछ र विस्तारै १० कित्ते प्रावधान हट्दै जानेछ । नेपाल धितोपत्र बोर्डले पनि १० कित्ते प्रावधान हटाउनुपर्ने आवश्यकता महसुस गर्न थालेको छ र सोहीअनुसार गृहकार्य गरिरहेको छ । बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गरे अहिले संस्थाहरुले जारी गर्ने आईपीओ मूल्यभन्दा केही महँगो हुनेछ । तर सबै कम्पनीहरु बुक बिल्डङ प्रक्रियामा जान भने पाउने छैनन् । बुक बिल्डिङबाट सेयर निष्कासन गर्ने केही सीमा बुक बिल्डिङ निर्देशिका २०७७ मा उल्लेख छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार ५ वर्षमा विगत तीन वर्षदेखि नाफामा गएको र नेटवर्थको सीमा समेत भेट्टाएकाले बुक बिल्डङ प्रक्रियाबाट आईपीओ जारी गर्न पाउनेछन् ।
पछिल्लो समय सर्वोत्तम सिमेन्टले संस्थागत लगानीकर्ताका लागि ७ सय ५० प्रतिकित्ताका दरले आईपीओ जारी गर्ने चर्चा चलिरहेको छ । यद्यपि ऊ धितोपत्र बोर्डसम्म पुगेको छैन । बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति माग्नुपर्ने हुन्छ । यता रिलायन्स सुगर मिल्सले पनि बुक बिल्डङबाट आईपीओ निष्कासन गर्ने चर्चा चलिरहेको छ । तर बोर्डका प्रवक्ता गिरीका अनुसार अहिलेसम्म बोर्डमा बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्कासन गर्ने जानकारी कसैले गराएका छैनन् ।
‘बुक बिल्डिङ विधि’ भन्नाले सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य निर्धारण गरिने विधि वा प्रक्रिया भन्ने बुझिन्छ । यस विधिबाट आईपीओ जारी भएका कम्पनीहरुमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था बुक बिल्डिङ निर्देशिका, २०७७ मा छ ।
यस विधिमार्फत सुरुमा संस्थागत लगानीकर्तालाई सेयर बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई आईपीओ जारी गरिन्छ । बुक बिल्डिङमा योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी धितोपत्रको आधार मूल्य तय गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।
कसरी हुन्छ मूल्य निर्धारण ?
कुनै एउटा कम्पनीले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्नुपर्ने भएमा सबैभन्दा पहिले कम्पनीले आफ्नो वित्तीय अवस्था लगयतको सूचकहरुको मूल्याङ्कनका आधारमा एउटा मूल्य निर्धारण गर्नुपर्ने हुन्छ । उक्त निर्धारण भएको मूल्य माथि धितोपत्र बोर्डबाट योग्य ठहरिएका संस्थागत लगानीकर्ता समावेश गरी आधारसहित उक्त भाउमाथि छलफल गर्नुपर्नेछ ।
संस्थागत लगानीकर्ताले त्यस भाउमा सहमति जनाउन पनि सक्छन्, नजनाउन पनि सक्छन् । असहमत भएमा संस्थागत लगानीकर्ताले आशय मूल्य पेस गर्न पाउनेछन् । उक्त मूल्यको अध्ययन गरेर कम्पनीले फेरि आधार मूल्य निर्धारण गर्नेछ । यो सबै प्रक्रिया पूरा भएपछि एउटा आधार मूल्य निर्धारण हुन्छ ।
धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गर्दा माथिल्लो सीमा आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य र तल्लो सीमा आधार मूल्यमा २० प्रतिशत घटाउँदा हुने मूल्य कायम गर्नुपर्नेछ । जस्तै ‘ए’ भन्ने एउटा कम्पनीको आधार मूल्य ६ सय रुपैयाँ छ । सो आधार मूल्यको माथिल्लो सीमा सात सय र तल्लो सीमा पाँच सय हुन्छ । सोही मूल्यमा बिडिङका लागि धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ ।
बोर्डबाट स्वीकृति पाएपछि उक्त सीमामा रहेर योग्य संस्थागत लगानीकर्ता बोलकबोलमा सहभागी हुन पाउँछन् । बोलकबोलका आधारमा कट अफ मूल्य निर्धारण हुन्छ । अन्त्यमा, उक्त कट अफ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ ।
उदाहरणको लागि सर्वोत्तम सिमेन्टलाई नै हेरौँ
संस्थागत लगानी कर्ताले ७ सय ५० रुपैयाँमा सर्वोत्तम सिमेन्टको सेयर पाउने भनिएको छ । यदि संस्थागत लगानीकर्ताले सो मूल्यमा सेयर पाए भने सर्वसाधारणले ७ सय ५० मा १०% घटाउँदा हुने मूल्यमा सेयर पाउँछन् । ७ सय ५० मा १० प्रतिशत घटाउँदा ६ सय ७५ हुन जान्छ र सर्वसाधारणले यही मूल्यमा सेयर पाउँछन् । ‘कट अफ मूल्य’ भन्नाले योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत निष्काशित सम्पूर्ण धितोपत्र बिक्री हँुदा कायम हुन आउने बोलकबोल मूल्य सम्झनुपर्छ ।