वाग्मती सिँचाइ बृहत् आयोजनामा परिणत हुँदै: धनुषा र महोत्तरीमा पुर्याइने
वागमती । किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि स्थापना भएको २७ वर्षपछि वाग्मती सिँचाइ आयोजनाको कामलाई बृहत् आयोजनाका रुपमा विकसित गर्ने प्रक्रिया शुरु भएको छ । साथै, रौतहट र सर्लाहीमा खेती सिँचाइको कार्य गर्दै आएको सो आयोजनाले धनुषा र महोत्तरी जिल्लामा समेत थप सिँचाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
वाग्मती सिँचाइ आयोजना विस्तारको ढाँचामा गएको उल्लेख गर्दै आयोजना प्रमुख मित्र बरालले भने, ‘धनुषा र महोत्तरी जिल्लामा सिँचाइको पूर्वाधार निर्माण गर्नका लागि डिपिआर तयारीको चरणमा रहेको छ ।’ साथै सिन्धुलीको फुर्कोटका सुनकोशी नदीमा १३.१ किमी बाँध बनाएर टनेलमार्फत मरिन नदी हुँदै वाग्मती नदीमा पानी थप्ने गरी काम भइरहेको छ । सो काम पूरा गर्नका लागि दुई वर्ष लाग्ने आयोजनाका वरिष्ठ इन्जिनियर कलामुद्दिन अंसारीले जानकारी दिए । त्यसको हालै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।
विसं २०५० मा अर्थात् २७ वर्ष अगाडि रौतहट र सर्लाही जिल्लामा किसानको खेत सिञ्चित गर्न र अन्न बालीको उत्पादकत्व बढाउनका लागि निर्माण गरिएको सो आयोजना सरकारको लक्ष्यअनुसार सञ्चालनमा रहेको छैन । सो आयोजना वर्षैपिच्छे टालटुल र मर्मत सम्भारमा केन्द्रित रहेको बताइएको छ । वाग्मती नदीमा पानी बहावमा कमी आएपछि आयोजनाको नहरमा पानी सञ्चालन पनि घट्दै गएको किसानको गुनासो रहेको छ ।
नेपाल सरकारको सो दुवै जिल्लामा एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहे पनि ४५ हजार ६०० हेक्टर जमीनमा मात्र सिँचाइ भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको निर्माणदेखि हालसम्म ३७ प्रतिशतमात्र सिँचाइ सुविधा पुग्दै आएको छ । २०४५ सालदेखि निर्माण शुरु भई २०५० सालमा निर्माण सम्पन्न भएको सो आयोजना कार्यान्वयनमा आए पनि वाग्मती नदीमा पानीको कमी र बाढीले नहरका संरचनाहरु क्षतिग्रस्त भएकाले सिँचाइमा समस्या आएको जानकारी दिँदै प्रमुख बरालले विगतको तुलनामा सिँचाइको काम भइरहेको बताए ।
सिँचाइको आवश्यकता पूरा गर्नका लागि वाग्मती नदीको ब्यारेजमाथि उच्च बाँध (हाइड्याम) बनाउने कुरा थियो तर त्यहाँ बस्ती निर्माण र मदन भण्डारी राजमार्ग माथिल्लो क्षेत्रबाट गएकाले उच्च बाँध निर्माण हुन सकेन । यसको फलस्वरुप नियमित सिँचाइमा मात्र सीमित रहेको त्यहाँका प्राविधिकहरुको भनाइ रहेको छ । कूल लम्बाइ ४९ किमी रहेको सो आयोजनाको मूल नहरको पूर्वतर्फ २१ किमी र पश्चिमतर्फ २८ किमी लम्बाइ रहेको छ । उपनहर, नहरी तथा अन्य भौतिक पूर्वाधारहरूसमेत रहेको छ । आयोजना सञ्चालनका लागि पूर्वमा तीन र पश्चिममा तीन गरी छ वटा शाखा छन् ।
आयोजनाको कामलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षमा ८० वटा बोलपत्र भएको आयोजनाले जनाएको छ । हाल त्यहाँ नहरको संरचना निर्माण, मर्मतसम्भार र ब्यारेज मर्मत र नहर सफाइको काम भइरहेको छ । चालू आवमा आयोजनाको हालसम्मको आर्थिक प्रगति ३० र भौतिक प्रगति ४० प्रतिशत भएको आयोजना प्रमुख बरालले जानकारी दिए । आयोजनाको प्रमुखमा बराल आएपछि सिँचाइको काममा थप सुधार र प्रगति भएको जल उपभोक्ताको भनाइ रहेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह