भ्याक्सिनको अभाव : पहिलो डोज भ्याक्सिन लगाइसकेका नागरिकलाई दोस्रो डोजको व्यवस्था गर्नु अपरिहार्य
विश्वभरी कोरोनाको दोस्रो लहर फैलिरहेको छ । यो अवस्थामा कोरोना भ्याक्सिनको अभाव हुनु निश्चय दुर्भाग्यजनक छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले विश्वका १२२ देशमा मात्रै कोरोना भ्याक्सिन पुगेको छ । अन्य देश अझै पनि भ्याक्सिनबाट वञ्चित छन् । भ्याक्सिन पुगेका देशमा पनि चाहिने मात्रामा भ्याक्सिन आपूर्ति हुन सकेको छैन ।
नेपालमा पनि तीन चरणमा गरी २३ लाख ४८ हजार भ्याक्सिन मात्रै भित्रिन सकेको अवस्था छ । यसमध्ये झण्डै १६ लाख भ्याक्सिन वितरण भइसकेको छ । भ्याक्सिनको पहिलो डोज लिएका मानिसलाई दोस्रो डोज पुर्याउन सरकारसँग भण्डारण छैन । दोस्रो डोज दिनलाई नै झण्डै ७ लाख भ्याक्सिनको अभाव देखिइसकेको छ ।
नेपाल सरकारले अग्रिम बुकिङ गराएको भ्याक्सिन उत्पादक कम्पनीले आपूर्ति गर्ने असमर्थता जनाइसकेको छ । यस्तो अवस्थामा सरकारसँग भ्याक्सिनेसन अभियान रोक्नेबाहेक अन्य उपाय छैन ।
पहिलो डोज लिएका मानिसलाई दोस्रो डोज दिन झण्डै सात लाख थान थप भ्याक्सिन आवश्यक हुन्छ । कोरोना भाइरस नयाँ हो, यसका भ्याक्सिन नयाँ हुन् । पहिलो डोजमा कुनै एउटा कम्पनी भ्याक्सिन लिएका व्यक्तिले दोस्रो डोजका रूपमा अन्य कम्पनीको भ्याक्सिन लाउन मिल्छ कि मिल्दैन कसैलाई थाहा छैन ।
विश्व स्वास्थ्य सङ्गठनलगायत विश्वको कुनै पनि स्वास्थ्य एजेन्सीले यसबारे कुनै प्रकारको केही टीकाटिप्पणी गरेका छैनन् । यस्तो परिस्थितिमा कुनै पनि देश अथवा कुनै पनि मानिसले पहिलो डोजका रूपमा लिएको भ्याक्सिनलाई नै दोस्रो डोजका रुपमा लिनुबाहेक अन्य कुनै विकल्प रहँदैन । नेपालकै हकमा यदि सिरम इन्स्टिच्युट अथवा भारतको मोदी सरकारले अविलम्ब २० लाख थान भ्याक्सिन नेपाललाई नदिए धेरै ठूलो मानवीय अपराध हुन जान्छ । नेपाल सरकारले कुनै विलम्ब नगरी यस आशयका साथ भारत सरकारसँग कुराकानी गर्ने दृढता देखाउनुपर्छ ।
निश्चय पनि कोरोना सङ्क्रमणको दोस्रो लहरले भारतलाई थला पार्दै लगिरहेको छ । भारतमै दैनिक २४, २५ हजार नयाँ सङ्क्रमित देखापर्न थालेका छन् । कतिपय राज्यका कतिपय सहरमा लकडाउन, कर्फ्यु घोषणा भइसकेको छ । यस्तो गम्भीर परिस्थितिमा मोदी सरकारलाई आफ्ना नागरिकलाई छिटोभन्दा छिटो भ्याक्सिनको सुरक्षाचक्रभित्र ल्याउनु ठूलो दबाब हुनु स्वाभाविक नै हुन आउँछ।
भारतसँग कोरोनाका दुईवटा भ्याक्सिन छन् । अक्सफोर्ड -ऐस्ट्रेजेनेकाको अनुबन्ध तहत सिरम इन्स्टिच्युटले बनाएको 'कोभिसिल्ड' र भारतकै स्वदेशी उत्पादन भारत बायोटेकले बनाएको 'कोभ्याक्सिन'। यी दुवै भ्याक्सिन 'भाइरल वेक्टर' प्रविधिमा आधरित छन् । तर दुवैमा सामान्य भिन्नता छ । अक्सफोर्डको 'भाइरल वेक्टर' भ्याक्सिन 'एडिनो भाइरस' (चिम्पान्जीमा रुघा लाउने भाइरस) माथि कोभीड–१९ को 'स्पाइक प्रोटिन' लेपन गरी तयार पारिएको हो भने भारत बायोटेकको 'कोभ्याक्सिन'मा कोभिड–१९ को भाइरस नै प्रयोग भएको छ ।
सबैलाई थाहा नै छ विशाल जनसङ्ख्या भएको भारतमा कम्तीमा भ्याक्सिनका २ अर्ब डोज (प्रत्येक मानिसलाई २ डोज ) चाहिन्छ । १५ मार्चको साँझसम्म भारतमा झण्डै ३ करोड मानिसले मात्रै भ्याक्सिन लिने अवसर पाएका छन् । भारतलाई आफैलाई अझै पुग नपुग २ अर्ब भ्याक्सिनको खाँचो छ।
भारत बायोटेकले महिनामा ७ करोड भ्याक्सिन उत्पादन गर्ने क्षमता आफूसँग रहेको जनाएको छ भने सीरम इन्स्टिच्युट आफ्नो उत्पादन मासिक ५ करोड थान भएको स्पष्ट गरेको छ । दुवै कम्पनीका उत्पादन (१२ करोड मासिक) ले पनि भारतको आफ्नै आवश्यकता पूर्ति हुन डेढ वर्षको समय लाग्ने देखिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथन (Soumya Swaminathan Yadav- paediatrician and clinical scientist known for her research on tuberculosis and HIV.) का अनुसार विश्व बाजारमा अहिले आएका १० भ्याक्सिनका अतिरिक्त अन्य ८ वटा भ्याक्सिनको क्लिनिकल ट्रायल पूरा भइसकेको छ । यी छिट्टै नै प्रयोगका लागि उपलब्ध हुने छन् । यसका अतिरिक्त विश्वभरी अन्य ८० वटा भ्याक्सिन पनि अन्तिम चरणमा रहेका छन् । सन् २०२२ को फेब्रुअरी महिनासम्म यी सबै भ्याक्सिन बाजारमा उपलब्ध हुने छन् । आफ्नो भ्याक्सिन नहुने र गरिब देशले अझै एक वर्ष भ्याक्सिनको प्रतीक्षामा बिताउनुपर्ने स्थिति छ । नेपाल पनि यसै अवस्थामा छ । नेपाललाई आजका मितिमा पहिलो डोज भ्याक्सिन लगाइसकेका आफ्ना नागरिकलाई दोस्रो डोजको व्यवस्था गर्नु अपरिहार्य बनेको छ । यसका लागि भारतबाहेक कसैको कुनै मदत काम लाग्दैन । नेपालले साम, दाम, दण्ड, भेद जुनसुकै नीति अख्तियार गरेर भए पनि भारतको सिरम इन्स्टिच्युट निर्मित कोभिसिल्ड भ्याक्सिनका २० लाख थान डोज लिनुपर्ने हुन्छ।
यसपछि यदि भारतले थप भ्याक्सिनको आपूर्ति गर्ने असमर्थता देखायो भने नेपालसामु अन्य विकल्प खुला हुन्छन् । नेपालले चीन अथवा अरूससँग भ्याक्सिनका लागि पहल गर्न सक्छ।