शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा उद्योग बाणिज्य संघद्वारा ‘डिजिटल भुक्तानी’ सेवा सञ्चालन

मङ्गलबार, ०३ चैत २०७७, २१ : ०१
मङ्गलबार, ०३ चैत २०७७

पोखरा  । पोखरा उद्योग वाणिज्य संघले डिजिटल भुक्तानी (फोन पे क्युआर) सेवा सञ्चालनमा ल्याएको छ ।संघको प्रविधिमा आफ्ना सदस्यहरुलाई अभ्यस्त बनाई समय सापेक्ष र सहज रुपमा डिजिटल प्रविधिमा भुक्तानी गर्दै पारदर्शिता कायम गर्ने उद्देश्यले डिजिटल भुक्तानी सेवा संचालनमा ल्याएको हो ।

मंगलबार पोखरा उद्योग वाणिज्य संघ र इसेवा फोन पे प्रालि बीच क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो । संघले यसअघि नै इसेवा र क्युआर कोडमार्फत सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाएको थियो ।

संघका अध्यक्ष नारायण कोइराला र इसेवा फोन पे प्रालिका चिफ स्टाट्रेजी म्यानेजर रोशन लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विन्दु कुमार थापाले डिजिटल पेमेन्ट समयको माग भएको बताए । उनले डिजिटल पेमेन्ट सेवाको स्तरोन्नति गर्दै नागरिकलाई शिक्षित बनाउनुपर्ने धारणा राखे । भ्रष्टाचार न्यूनीकरणको लागि डिजिटल पेमेण्टले सघाउने उनको भनाई थियो ।

संघका अध्यक्ष नारायण कोइरालाले संघले यसअघि नै सदस्यता नवीकरण इसेवामार्फत गर्दै आएको जनाउँदै डिजिटल भुक्तानीले समयको पनि बचत हुने धारणा राखे । क्युआर कोड सबैजसो बैंक तथा वित्तीय संस्थाले प्रयोग गरिसकेकाले अब ढुक्क भएर कारोबार गर्ने अवस्था आएको उनको भनाइ थियो ।

इसेवा फोन पे प्रालिको तर्फबाट चिफ स्टाट्रेजी म्यानेजर रोशन लामिछानेले क्युआर कोडमार्फत भुक्तानी छिटो र छरितो हुने, खुद्राको समस्या नहुने, पैसा कहाँ खर्च भयो भन्ने जानकारी सुरक्षित रहने बताए ।

मोबाइलमा इसेवा मोवाइल बैंकिङ एप्स डाउनलोड गरेर क्युआर कोड स्क्यान गर्ने प्रक्रिया सजिलो भएको उनको भनाइ थियो । हाल इसेवा फोन पे प्रालिले ५१ वटा बैंकहरुसँग सहकार्य गर्दै आइरहेको जनाउँदै उनले यो सेवा सुरक्षित र भरपर्दो भएको दावी गरे । उनका अनुसार अहिले इसेवामार्फत् बिजुली र खानेपानीको बिल तिर्ने काम बढी भएको छ ।

सक्षम एक्सेस टु फाइनान्सका प्रविणराज पोखरेलका अनुसार हाल १ करोड २६ लाख नेपालीले मोवाइल बैंकिङमा जोडिएका छन् । उनले अहिले सानो कारोबार हुँदै आए पनि २४ वर्षका ठूलो कारोबार पनि डिजिटल नै हुने जिकिर गरे । मोवाइल र इन्टरनेट उपयोग गरी इसेवाका माध्यमबाट सर्वसाधारणले रकम आदानप्रदान गर्न, विजुली, पानी, टेलिफोनको महसुल भुक्तानी गर्न, मोवाइल रिचार्ज गर्न, इन्टरनेटको महसुल भुक्तानी गर्न, हवाई टिकट खरिद गर्न, क्रेडिट कार्डमा रकम जम्मा गर्न, कलेज, स्कुलको शुल्क बुझाउन र बजारमा सपिङ यो सेवा उपयोगी हुने उनको भनाई थियो । उनले इसेवा संचालन गर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारे ।

संघका उद्योग तर्फका उपाध्यक्ष गोकर्ण कार्कीले डिजिटल पेमेण्टलाई व्यापक बनाउन अझै जनचेतना बढाउनुपर्ने धारणा राखे ।

महासचिव सुरेन्द्रमान बिजुक्छेले इसेवा र क्युआरकोडको प्रयोग बढ्दै गएको र पोखरा उद्योग वाणिज्य संघ सदैव नयाँ प्रविधिको पक्षमा भएको बताए ।

पोखरा हस्तकला संघकी सचिव वुद्धि पुर्जा, थोक व्यवसायी संघका अध्यक्ष लेखनाथ सुवेदी,सर्वेश्वर मार्ग व्यवसायी संघका अध्यक्ष एकनारायण पनेरू, व्यवसायी महेश ज्ञवाली, झलक शर्मा, मुद्रण उद्योग संघ गण्डकीका महासचिव बसन्त बास्तोला लगायतले झुक्किएर पैसा अर्काको खातामा जाँदा सहज फिर्ता हुनुपर्ने, ठूलो रकम कारोबार गर्ने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप