शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वदलीय बैठकमा के–के भनिन् राष्ट्रपतिले ? को–को उपस्थित थिए ?

मङ्गलबार, ०३ चैत २०७७, १९ : २३
मङ्गलबार, ०३ चैत २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । राष्ट्रपतिको कार्यालय शितल निवासले दिएको जानकारीअनुसार मंगलबार साँझ बैठक सम्पन्न भएको हो । बैठकमा मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयमा छलफल भएको जनाइएको छ । 

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरु बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारीले भनिन् ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहि आएको छ छ । यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ ।’

राष्ट्रपति भण्डारीले नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरुले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूप्रति धन्यवाद प्रकट गरेकी थिइन् ।

उनले कोभिड १९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य पर्यटन लगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावका विषयमा समेत चर्चा गरेकी थिइन् । उनले कोभिडको समयमा अग्रमोर्चामा खट्ने जनशक्तिलाई पनि धन्यवाद दिएकी छिन् । बैठकमा राष्ट्रपति भण्डारीले आफुले केही दिनभित्रै बंगलादेशको राजकीय भ्रमण गर्न लागेको समेत उल्लेख गरेकी थिइन् । 

को–को उपस्थित थिए बैठकमा ? 

राष्ट्रपति भण्डारीद्वारा आह्वान गरिएको सो बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा सो पार्टीका नेता राजेन्द्र महतो उपस्थित रहेका थिए ।

त्यस्तै बैठकमा एमालेका तर्फबाट नेताहरु रामबहादुर थापा बादल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु विमलेन्द्र निधि, डा.शशांक कोइराला, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र देव गुरुङको पनि उपस्थिति रहेको थियो । त्यस्तै मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेता जनकराज शर्मा, नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवालको पनि बैठकमा उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप