शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इंग्ल्याण्डको 'रेड लिष्ट' बाट पोर्चुगल हट्यो, कतारलगायतका मुलुक थपिए

मङ्गलबार, ०३ चैत २०७७, १४ : ०६
मङ्गलबार, ०३ चैत २०७७

लन्डन । कोरोना महामारीको बढ्दो प्रभावका कारण उच्च जोखिममा रहेको भन्दै  ३३ वटा ‘रेड लिष्ट’ मुलुकको सूचीमा परेको युरोपियन मुलुक पोर्चुगल उक्त सूचीबाट हट्ने भएको छ ।

यहि मार्च  १९ शुक्रबार  बिहान ४ बजेबाट हाल लागू हुने गरि  ‘रेड लिष्ट’को सूचीबाट पोर्चुगललाई हटाइने बेलायतको यातायात विभागले जनाएको छ ।

शुक्रबारबाट इंग्ल्याण्ड आउने पोर्चुगलका यात्रुहरुले अनिवार्य होटल क्वारेन्टिन वापतको १७५० पाउण्ड बुझाउनु नपर्ने र घरमै क्वारेन्टिन बस्न सक्नेछन् ।

युरोपकै एकमात्र मुलुक पोर्चुगललाई गत फेब्रुअरी १५ बाट बेलायतले ‘रेड लिष्ट’ को सूचीमा राखेको थियो ।  तर, बेलायतले पोर्चुगलका डाइरेक्ट फ्लाइटलाई भने जनवरी १५ देखि नै प्रतिबन्ध लगाउँदै आएको थियो ।

पोर्चुगललाई बेलायतको ‘रेड लिष्ट’ बाट हटाउनको लागि विश्वस्त दिलाउन  एक हप्तामा २४ हजारभन्दा बढी हस्ताक्षरसहितको निवेदन बेलायत सरकारसमक्ष  पेश गरिएको थियो ।

कोरोना भाइरसका नयाँ ‘भेरियन्ट’ पाइएका मुख्यतया अफ्रिका तथा दक्षिण अमेरिका लगायत पोर्चुगल समेत गरि  ३३ वटा मुलुकलाई रेड लिष्टमा राखेको थियो ।

कतार, ओमन र सोमालिया पनि ‘रेड लिष्ट’ मा 

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै बेलायत सरकारले यसअघि जारी गरेको ‘रेड लिष्ट’ को सूचीमा केहि मुलुकलाई हटाएको छ भने अन्य केहि मुलुकलाई थप गरेको गरेको छ ।

जसअनुसार ओमन, सोमालिया र कतारलाई भने बेलायतले ‘रेड लिष्ट’ को सूचीमा समावेश गर्ने भएको छ । कतार अन्तरराष्ट्रिय  विमानस्थल विशेषगरि एशिया र अष्ट्रेलियाका मुलुकको कनेक्टिंग फ्लाइटको लागि लोकप्रिय मानिन्छ ।

‘रेड लिष्ट’ को सूचीमा कतार परेपछि नेपालबाट कतार हुँदै इंग्ल्याण्ड भित्रिने  यात्रुहरुलाई समेत असर पर्ने देखिन्छ ।

‘रेड लिष्ट’  मुलुकबाट बेलायत फर्किएका यात्रुहरुले १० रातसम्म  अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्नेछ । होटल क्वारेन्टिन बस्दाको खर्च वापत १७५० पाउण्ड स्वयंले व्यहोर्नुपर्ने छ ।

यो नयाँ नियम लागू भएसँगै इथियोपिया,ओमन, सोमालिया र कतारबाट इंग्ल्याण्ड आउने ब्रिटिश र आइरिस बासिन्दा वा नागरिकहरुले सरकारद्वारा निर्धारित होटलमा १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ ।

यसबाहेक अन्य यात्रुहरुलाई भने प्रवेशमा रोक लगाइनेछ । स्कटल्याण्ड, वेल्स र नर्दर्न आएरल्याण्डले भने आफ्नो छुट्टै नियम लागू गर्नेछन् ।

होटेल क्वारेन्टिनबाट उन्मुक्ति पाउन आफ्नो यात्रा विवरणबारे झूटो बोलेको पाइएमा अधिकतम १० वर्षसम्मको कैद गरिने घोषणा गरिएको छ । त्यस्तै, ५ देखि १० हजार पाउन्डसम्मको जरिवाना पनि घोषणा भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप