शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘भाइरल हुने होडमा विकृति’

गीत–संगीतमा पनि ‘सेन्सर’ आवश्यक भइसक्यो : गायक नविन पौडेल
मङ्गलबार, ०३ चैत २०७७, १२ : ०४
मङ्गलबार, ०३ चैत २०७७

पल्ला घरको जेठाजुले आइए बिए पढ्छन्

हाम्रा घरका नामर्द त भर्याङ चढ्दा लड्छन्

के सम्झनु छ र, जान्न म त त्यो घर

वि.सं. २०६१/०६२ मा आएको यो गीतका सर्जक हुन् –गायक नविन पौडेल । त्यतिमात्र होइन, उनले यस गीतमा स्वर पनि दिएका छन् । यो गीतबाट गायकको रुपमा स्थापित हुँदै उनी संसार घुम्न सफल भए ।

गीतमा नविनका अतिरिक्त नारायण रायमाझी, विष्णु माझी र लक्ष्मी न्यौपानेको स्वर छ । गीतका शब्द र लय भने नविनकै हो ।

पौडेलले यो गीत लोकदोहोरीको रुपमा बाहिर ल्याएका थिए । यो गीत ख्याली ​चुट्का भजन अन्तर्गतको हो । गण्डकी र लुम्बिनी अञ्चलमा गाइने भाका टिपेर आफुले लोकगीत बनाएको उनी बताउँछन् ।

यो गीत सफल हुनुको पछाडि यसमा समेटिएका शब्दको महत्वपूर्ण भूमिका छ । गीतका शब्द शब्दले महिलाको पीडा ब्यक्त गरेको छ ।

‘सानैदेखि महिलाको दुःख, पीडा देख्दा मन छुन्थ्यो । त्यो दुःख, पीडा हटाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भने, ‘महिलाले छोरी जन्माउँदा दिइने पीडा, सोही कारण उनीहरुलाई घर र समाजले हर्ने दृष्टिकोण र दिने दुःख देख्दा मन खिन्न हुन्थ्यो ।’

त्यही दुःख, पीडा र महिलाको मनमा उब्जने भावनालाई आफूले गीतमा उतारेकाले पनि गीत सफल भएको पौडेलको भनाइ छ ।

उनको यो तेस्रो गीत थियो । यस अघि पनि केही लोकदोहोरी गीत सार्वजनिक गरेका उनलाई यो गीतको सफलतापछि भने अहिलेसम्म सांगीतिक क्षेत्रमा पछाडि फर्किएर हेर्नु परेको छैन ।

त्यसपछि चेतनाको गीत

सानैदेखि गाउँघरमा गायकको रुपमा लोकप्रिय उनी गायक कहिले भए उनलाई नै थाहा छैन । सानोमा पढाइभन्दा गीत गाउँन रुचि राख्थे उनी । लोक, आधुनिक केही चिन्दैन थिए । बस्, गीत गाउन पाए पुग्थ्यो । गाएरै सबैलाई खुसीसमेत पार्थे ।

गाउँका पूजा, रत्तेउली, मेलामहोत्सव लगायत कार्यक्रम उनी छुटाउँदैन थिए । उनका बुबा लिलाधर पौडेल, नजिकै घर भएका ठुलो बा पर्ने हिमलाल गैरे, होमप्रसाद गैरे, हरिप्रसाद गैरे पनि गाउँमा गीत गाउन माहिर थिए । ‘बुबा र उहाँहरुको संगतले गीत गाउने प्रेरणा मिल्यो,’ नविनले पहिलेका दिन सम्झिए, ‘स्कुले कार्यक्रममा, मेला महोत्सवमा गीत तथा भजन रातभरी गाउथेँ ।’

गीत गाउदै र बुझ्दै जाँदा उनले गीतसंगीत भनेको ‘माया प्रिती’का कुरामात्र होइन रहेछ, यथार्थपरक र जनताको दुःख, पीडासमेत समेट्न सकिँदो रहेछ भन्ने आफूले बुझेको उनी बताउँछन् ।

‘गायनकै सिलसिलामा जब मैले जनतालाई चेतना दिने, मोटिभेसन गर्ने गीत बनाउन सके सबैको मनमा बस्न सकिँदोरहेछ भन्ने बुझँे, त्यसपछि मैले लगातार चेतनाको गीत बनाउन थाले,’ उनले भने ।

उनको अर्काे सर्वाधिक हिट चेतनामुलक गीत ‘फुलेको तोरीलाई, हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो’ पनि हो ।

निर्मला हत्याकाण्डको केही अगाडि उनले यो गीत बनाएका थिए । ‘महिलामाथि हुने अन्याय, अत्याचार, यौन हिंसा, बलात्कार लगायतका बिषय गीतमा समेटिएको छ,’ उनले भने, ‘गीतले भने झैं अहिले देशमा बलात्कारलगायत यौनजन्य आपराधिक क्रियाकलाप धेरै देख्न सकिन्छ ।’

यो गीतमा शब्द, लय र स्वरसमेत उनकै छ ।

‘स्कुल, मेलापात होस् कि मेलामहोत्सव जाँदा महिला असुरक्षित, बेलुका साझ नपर्दै घर फकर्नुपर्ने बाध्यता, यी विषयबस्तु देख्दा मनमा भित्रभित्र कस्तोकस्तो महसुस हुन्थ्यो,’ नविनले अगाडि थपे, ‘त्यही महसुस गरेर यो गीत बनाएको हो ।’

आफु स्टेज कलाकार भएकाले उनले स्टेजमा नयाँ गीत गाउनका लागि हल्काफुल्का रुपमा यो गीत बनाएका थिए । तर यथार्थपरक र चेतनामुलक विषय समेटिएका कारण यो गीतले चर्चा पायो । हाम्रो समस्या, पीडालाई गीतमा कति सजिलै ब्यक्त गरेको भनेर गीत सुन्ने धेरै ब्यक्तिले आफुलाई भनेको उनले सुनाए ।

म बल्ल गायक

सानैदेखि गीत गाउँदै आएका पौडेल आधिकारिक रुपमा भने ०५८ बाट गायक भएका हुन् । यसै वर्ष उनले ‘नरोउ धर्केर फर्किआउँछु लाहुर गएनि बस पर्खेर’ गीत रेकर्ड गराएका थिए, जो उनको पहिलो ‘रेकर्डेड’ गीत हो ।

सानैदेखि गीत गाउँदै आए पनि गीत रेकर्ड हुँदा बल्ल गायक हुन लागेँ भनेर उनी निकै खुसी थिए । लोकगायक रामप्रसाद खनाल र गुरुप्रसाद पौडेलको सहयोगमा म्युजिक नेपालबाट उनले यो गीत बाहिर ल्याएका थिए ।

त्यतिबेला म्युजिक नेपालले गीतबापत उनलाई १५ हजार रुपैयाँ दिएको थियो । ‘गायनको मेरो पहिलो कमाइ त्यही थियो,’ उनले त्यो खुसी साटे, ‘त्यो बेला १५ हजार पाउँदा १५ लाख पाएजस्तो भयो ।’

त्यसपछि अगाडि बढेको आफ्नो सांगीतिक यात्रा आजसम्म पनि निरन्तर बढिरहेको उनको भनाइ छ ।

गीत विचारको खुकुरी

संख्यात्मक हिसावले ननिनका धेरै गीत छैनन् । जति आएका छन्, ती सबै हिट र महत्त्वपूर्ण साबित भएका छन् । सबै गीत हिट भएकाले होला, उनी थोरै गीतका बाबजुद धेरै चिनिएका छन् ।

कोरोनाले धेरै कलाकारको यात्रामा ब्रेक लगायो । उनको यात्रा भने जारी नै रह्यो । कोरोना समयमा पनि उनले गीत ल्याए–

लेउ खुकुरी लेउ जनता, लेउ खुकुरी लेउ

भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ ।

देशको बेतिथि, भ्रष्टाचार लगायत आम मानिसको चासोका सबै विषयमाथि तिखो प्रहार गरिएको यो चेतनामुलक गीत हो । गीतमार्फत आफुले विचारको खुकुरी प्रहार गरेको उनी बताउँछन् ।

‘अहिले परिवर्तनका लागि फलामको खकुरी लिएर हिँड्ने अवस्था रहेन,’ उनले अगाडि भने ‘त्यसैले विचारको खुकुरीको रुपमा गीत बनाएँ ।’

गीतसंगीतको माध्यबाट देश–विदेशका थुप्रै स्टेज कार्यक्रम तताएका उनी पछिल्लो समयका स्टेज कार्यक्रमका डिमान्डेड कलाकार हुन् । ‘स्टेजका हिरो’को रुपमा चिनिएका उनले फाट्टफुट्ट मानिस भएको ठाउँमा पनि उभिएर प्रस्तुति दिन थाले भने भिड जम्मा हुने गर्दछ । यो क्षमता अहिले चलेका कमै गायकमा पाइन्छ । त्यसैले पनि उनलाई स्टेज कार्यक्रमले भ्याइ–नभ्याइ भएको उनको बुझाइ छ ।

गायकको रुपमा उनले पहिलो पटक स्टेज २०५९ मा आरआर क्याम्पसको कार्यक्रममा स्टेज प्रस्तुति गरेका थिए । इलामकी गायिका कोपिला गौतमसँग १० हजार विद्यार्थीमाझ उनले लोकदोहोरी गीत ‘कालीपारे दाइ, मेरो मायालाई नबिर्सिनु है’ घन्काएका थिए ।

त्यो समय कोपिला गौतमलाई जित्यो भनेर दर्शकले गरेको हुटिङ अहिले पनि उनको कानमा गुन्जने गर्दछ । डर र उत्साहले भरिएको त्यो कार्यक्रमपछि भने स्टेज कार्यक्रम उनका लागि सामान्य बन्यो ।

भाइरलले बिगा-यो गीत

अहिले गीतसंगीतमा भाइरल भए हिट नत्र फ्लप सम्झने परिपाटी मौलाएको छ । यसमा आपत्ति प्रकट गर्दछन् उनी । ‘पैसा तिरेर अनेक तिकडम लगाएर भाइरल हुने चलनै चलेको छ अहिले,’ उनी थप्छन्, ‘संघर्ष गरेका कलाकार, कलाकार होइनन् भन्ने मान्यताको विकास हुँदैछ ।’

भाइरलको पछाडि दौडदा गीतसंगीत बिग्रिएको बताउने उनी यो प्रवृत्तिले वास्तविक स्रष्टा र राम्रा सिर्जना ओझेलमा परेको धारणा राख्छन् ।

युट्युवमा म्युजिक भिडियो राखेर डलरको पछि लाग्नाले अहिले गीतसंगीत बिग्रियो,’ उनले अगाडि थपे, ‘आफुले के भनेँ भन्ने नै थाहा नहुनेगरी सानासाना लालाबालालाई प्रयोग गरेर द्विअर्थी शब्दका गीत बन्न थाल्यो ।’

प्रतिभा भित्र्याउनु राम्रो हो तर उनीहरुको भविष्य नै अन्धकार बनाएर लोकगीतमा केटाकेटीको खेलाजस्तो गर्न थालिएको उनको गुनासो छ ।

लोकगीतमा दुःख

पछिल्लो समय गीतसंगीतमा लाग्नेको अवस्था राम्रो देख्न सकिन्छ । रातारात हिट हुनेमात्र होइन, गीतसंगीतबाट घर र गाडी जोडेर विलासी जीवन बिताइरहेका थुप्रै छन् ।

नविनले भने लोकगीत संगीतमा कहिलै सुख महसुस गरेनन् रे । त्यसैले पनि होला उनी यसमा दुःखमात्र छ भन्छन् । ‘पहिले सीमित कलाकार भएको समय सुख थियो कि !’ उनले अनुमान लगाए ।

पुराना कलाकारले स मेत यो क्षेत्रमा संघर्ष गर्नु परिरहेको उनको भनाइ छ । भाइरलको नाममा आएका साना लालाबालसँग पौठेजोरी खेल्नु परेको छ,’ उनले गुनासो गरे, ‘हामीले गाउँगाउँ पुगेर वास्तविक विषयबस्तु खोजेर ल्याएको गीतसंगीतले कोठमा बसेर जथाभावी सिर्जना भएका कोठे गीतसंगीतसँग प्रतिस्पर्धा गर्नु परिरहको छ ।’

गाउँगाउँ हिँडेर दुःखका साथ संकलन गरेको गीतलाई कोठे गीतसंगीतले ‘बुष्ट’ गरेको भरमा, मिडियामा मोर्चाबन्दी गरेको भरमा पछि पार्ने गरेको उनको भनाइ छ ।

‘धेरै दुःख गरेर आजको दिनसम्म आउनेलाई दुःखै नगरी भाइरल हुनेले पछि पारेका छन् । गीतसंगीतको वास्तविक दुःख यही हो,’ उनले भने ।

पछिल्लो समय लोकगीत गायनमा थुप्रै नयाँ कलाकार भित्रिएका छन् । भित्रिनेमध्ये धेरैले छिट्टै हिट हुन अश्लिल लाग्ने र द्विअर्थी शब्दका गीतसंगीत बनाउने गरेका छन् । त्यो लोक गीतसंगीतको विकृति भएको नविन बताउँछन् ।

यो प्रवृत्ति अन्त्य हुनुपर्नेमा उनको जोड छ । त्यसैले पनि केही अग्रज कलाकारहरु झै उनी पनि गीतसंगीतमा अब राज्यले चलचित्र क्षेत्र झै सेन्सर ल्याउनुपर्ने माग गर्दै आएका छन् । 

‘त्यसो भएमा सेन्सर पास भएको गीत बाहिर आउँछन् । सेन्सर फेल भएको भित्रै हराउँछन्,’ उनले भने, ‘अहिलेका कतिपय गीत हेर्ने हो भने लाजमर्दाे छ ।’

सेन्सरको व्यवस्था भएमा जोसुकैलाई गीत बनाउनुअघि गम्भीर भएर सोच्न बाध्य पार्ने उनले सुनाए । उनले थपे, ‘गीतसंगीतमा सेन्सर अतिआवश्यक भयो । त्यो आवश्यकता दश वर्ष अगाडिकै हो ।’

दश वर्ष अगाडि गीतसंगीतमा सेन्सर ल्याएको भए अहिले यस्तो विकृति देख्नुपर्ने अवस्था आउँदैनथ्यो भनेर उनी दावी गर्दछन् ।

कोरोनापछि व्यवसायमा

कोरोना महामारीले प्रत्येक व्यक्तिलाई केही न केही शिक्षा दिएको छ । नविनले पनि यो अवधिमा गीतसंगीतको अलावा आर्थिक आम्दानी हुने अर्काे पाटो चाहिने महसुस गरे ।

त्यसैले उनी कोरोनापछि व्यवसायमा पनि आवद्ध छन् । युवा समाजसेवी धनबहादुर बस्नेतले लामो समयदेखि लैनचौरको चोकमै सञ्चालन गर्दै आएका स्टार अटो इन्टरप्राइजमा उनी सञ्चालकको रुपमा आवद्ध भएका छन् ।

‘कोरोनाले देश विदेशका सबै कार्यक्रम अवरुद्ध हुँदा आम्दानीको बाटो बन्द भयो । जीविकोपार्जन लागि अन्य केही गरौं भनेर व्यवसायमा आवद्ध भएको हो,’ उनले सुनाए ।

व्यवसायमा आवद्ध भए पनि जनतालाई सुसूचित गर्ने, मनोरञ्जन र चेतना दिने गीतसंगीत लगातार बनाउने सोच रहेको उनले बताए । त्यसको अलावा राज्यको पयर्टन प्रवर्द्धन गर्ने गीत पनि उनी बनाउँछन् रे ।

‘देशका हरेक पक्ष गीतसंगीतमा उजागर गर्नु लोकदोहोरी गायक गायिकाको धर्म हो,’ उनले भने, ‘लोकगीतले समग्र देश बोल्नुपर्छ ।’

‘हरेक जातजाति छौं नानाथरी’, ‘सुदूरपश्चिम घर मेरो ओई सुवा’, ‘यस्तै हुन्छ भन्ने भा’, ‘ए हजुर सुन्नु भा छ र’, ‘बुलाकी झुम्काना’ लगायतका गीत ल्याएका उनी युरोपका २८ देशसहित विश्वका ४ दर्जन बढी देशमा कार्यक्रमको सिलसिलमा पुगेको छन् ।

उनी विदेशिएका नेपालीका दुःखलाई गीतमा पस्कने गायक पनि हुन् । अहिले भने उनी छिट्टै माया प्रितीको एउटा गीत बजारमा ल्याउने तरखरमा छन्–‘सिरिङसिरिङ भो नक्कलीलाई देखेर आङनै जिरिङ भो’ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप