ad
केन्द्रीय संस्करण
स्वास्थ्य

एकसाथ धेरैजना बेहोस हुनेगरी ‘मास हिस्टेरिया’ किन र कसरी हुन्छ ?

सकेसम्म सबै विद्यालयमा बेलाबखत साइकोथेरापी दिने व्यवस्था मिलाउन सुझाव

person explore access_timeचैत ३, २०७७ chat_bubble_outline0
https://www.madinamerica.com/

काठमाडौं । गत फागुन २० गते डोटीको केआई सिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत १२ जना छात्रा एकाएक बेहोस भए । कक्षा ६, ७ र ८ मा अध्ययनरत ती छात्रा एकसाथ बेहोस हुँदा पढाइ नै प्रभावित भयो । विद्यालय प्रवेश गरेपछि काँप्ने, बेहोस हुने गरेका ती छात्रा विद्यालयबाट घर फर्केपछि आफै सामान्य अवस्थामा आए ।

यसअघि पनि दार्चुला जिल्लाको नौगाड गाउँपालिकाको गणेश विनायक माध्यामिक विद्यालयमा अध्ययरत छात्रा बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको थियो । बेलाबेलामा देशका विभिन्न भागमा सामूहिक रुपमा यसरी छात्राहरू बेहोस हुँदा केही दिनका लागि विद्यालयसमेत बन्द गर्नुपरेका उदाहरण पनि नभएका होइनन् । छात्राहरु यसरी बेहोस हुने तथा काँप्ने गर्न थालेपछि कतै झारफुक तथा कतै पूजापाठ गराएका समाचार पनि प्रकाशमा आउने गरेका छन् ।

तर, यसरी सामुहिक रुपमा किन अचानक छात्रा बेहोस हुन्छन् भनेर सम्बन्धित निकायले अध्ययन गर्न सकेको छैन । जसले गर्दा यस्ता समस्या निम्तिएमा के गर्ने, उद्धार तथा उपचारका कस्ता विधि अपनाउने भन्नेबारे पनि एक प्रकारको अन्योल नै छ । एकसाथ धेरैजनालाई यस्तो समस्या देखा पर्नुलाई ‘मास हिस्टेरिया’ भनिन्छ । समाजमा महिलालाई मात्रै हिस्टेरिया हुन्छ भन्ने मान्यता छ । यस्तो समस्या यौनकुण्ठाका कारणले हुन्छ भन्ने धारणा पनि व्याप्त छ । 

तर मनोविश्लेषक बासु आचार्य समुदायमा अज्ञानताका कारण हिस्टेरियालाई यौन केन्द्रित रोग भन्ने गरेको बताउँछन् । उनका अनुसार मनमा उत्पन्न हुने बहस, विचार, चिन्ता, तनाब शरीरमा सर्नुलाई ‘हिस्टेरिया’ भनिन्छ । हिस्टेरिया ग्रीक शब्द ‘हिस्टरोन’बाट बनेको उनी बताउँछन् । हिस्टरोन पाठेघरसँग सम्बन्धित छ । दुई हजार वर्षअगाडि हिप्पोक्रेट्स भन्ने ग्रीक चिकित्सकले महिलाको प्रजनन् अङ्ग पाठेघरसँग सम्बन्धित रोग भनेर यसलाई ‘हिस्टेरिया’ नाम दिएका थिए । यद्यपि, अनुसन्धानहरूले हिस्टेरियाको सोझो सम्बन्ध यौनसँग नभएको देखाएको आचार्य बताउँछन् । अध्ययन अनुसन्धानहरूले ‘हिस्टेरिया’ तनावसँग सम्बन्धित भएको पुष्टि गरेका छन् ।

मास हिस्टेरिया भनेको के हो ?

सामुहिक रुपमा बेहोस हुने रोगलाई ‘मास हिस्टेरिया’ भनिन्छ । हिस्टेरियाले एक जनालाई आक्रमण गरेको खण्डमा ऊसँग निकट सम्बन्ध रहेका अन्यलाई पनि प्रभाव पार्ने भएकाले सामूहिक रुपमा धेरैजना बेहोस हुँदै ढल्छन् ।

आचार्यका अनुसार हिस्टेरिया हुनेमध्ये पहिलो व्यक्तिलाई कुनै कारणवस् तनाव, पीडा हुन्छ । त्यसपछि सँगै भएका अन्य व्यक्तिलाई त्यसले प्रभाव पार्दैजाने गरेपछि ‘मास हिस्टेरिया’ हुन्छ ।

हिस्टेरिया हुने पहिलो व्यक्तिसँग भावनात्मक सम्बन्ध गाँसिएका अन्य व्यक्ति डराउने वा त्रसित हुँदा समूहगतरूपमा किशोर किशोरीहरूलाई एकैपटक ‘मास हिस्टेरिया’ हुने मनोविश्लेषक आचार्य बताउँछन् ।

‘मास हिस्टेरिया’ पैदा हुने मुख्य कारण अत्यधिक डर हो । डरलाई नियन्त्रण गर्न नसकेपछि सामुहिक रुपमा प्रभावित हुन्छन् ।

‘मास हिस्टेरिया’ किन हुन्छ ?

हिस्टेरिया अवचेतन मनको खेलसमेत भएको मनोविश्लेषक आचार्यको भनाइ छ । कामनापूर्ति नहुँदा, इज्जत तथा प्रतिष्ठाको तनाव, यौनसम्बन्धी समस्याको तनाव, प्रतिस्पर्धाको तनाव, पढाई, घरायसी झमेला आदिले किशोरकिशोरी र वयस्कमा समेत हिस्टेरिया हुने उनको भनाइ छ ।

‘मास हिस्टेरिया’को उपचार

हिस्टेरिया अवचेतन मनको खेल भएकाले मनका कुरा व्यक्त गर्न नसकेर पीडित भइ प्रतिरक्षाका क्रममा बेहोस हुने गर्दछन् । त्यसैले उनीहरूको मनको भावना बुझेर नजिकैका आफन्तहरूको सहयोग अति आवश्यक हुने उनको भनाइ छ ।

मनका भावनाहरू सहज रुपमा व्यक्त गर्ने, रमाइलो गर्ने, सहजरुपमा अगाडि बढ्ने वातावरण भएमा हिस्टेरिया नहुने मनोविश्लेषक आचार्यको भनाइ छ । ‘पहिलापहिला मास हिस्टेरिया भएर हिमाल, पहाड र तराई क्षेत्रमा बेलाबेला धेरैजना बेहोस हुन्थे,’ उनले भने, ‘क्रमशः जनचेतना फैलिदैँ गएसँगै किशोरकिशोरीले मनमा कुन्ठित भावना बाँड्न थालेपछि मास हिस्टेरिया कम हुन थालेको छ ।’ 

जहाँजहाँ जनचेतनाको अभाव छ, त्यहाँत्यहाँ मास हिस्टेरिया धेरै देखिएको उनी बताउँछन् । किशोरकिशोरी तथा वयस्कहरूमा विभिन्न कारणले हुने तनावलाई व्यवस्थापन गर्न सकेको खण्डमा हिस्टेरिया हुँदैन । हिस्टेरिया रोगको अहिलेसम्म कुनै औषधि नबनेको उनले सुनाए ।

‘हिस्टेरिया निको पार्ने मुख्य आधार भनेकै तनाव व्यवस्थापन हो,’ उनले भने, ‘सकेसम्म सबै स्कुल तथा कलेजमा बेलाबेलामा साइकोथेरापी दिने व्यवस्था मिलाउनुपर्छ, यति सम्भव नभए हिस्टेरियाको समस्या देखिएका विद्यालय तथा कलेजमा मात्र भए पनि यस्तो व्यवस्था गर्नुपर्छ ।’

स्थानीय तहहरूले पनि ‘मास साइकोथेरापी’, शारीरिक अभ्यास, योग, ध्यान, प्राणायाम आदिलाई प्राथमिकता राखेर कार्यक्रम गर्नुपर्ने उनी सुनाउँछन् । ग्रामीण भेगमा अन्धविश्वासका कारण पनि मास हिस्टेरियाको कारण पत्ता लगाउन र उपचार गर्न ढिला हुने गरेको उनको भनाइ छ । हिस्टेरिया भएका व्यक्तिको तनाव व्यवस्थापन गर्नुको साटो धामीझाँक्री आदि गर्दा मानसिक रुपमा झन् अन्य समस्या बल्झन सक्ने उनले बताए ।

मास हिस्टेरिया हुँदा यसो गर्नुपर्छ

मास हिस्टेरिया भएर बेहोस भएर ढलेकाहरूलाई सिधा सुताइदिनु पर्छ । बेहोस भएर ढलेको ठाउँमा धेरै होहल्ला गर्न हुँदैन । यसरी बेहोस भएको व्यक्ति व्युँझिएपछि उसलाई सान्त्वना दिनुपर्छ ।

‘एक पटक सामुहिक रुपमा मास हिस्टेरिया भएपछि पुनः दोहोरिने सम्भावना कम हुन्छ,’ उनले भने, ‘तर हिस्टेरिया भएको मुख्य व्यक्तिलाई दोहोरिन सक्छ ।’

हिस्टेरियाको अन्य मानसिक रोगसँग सम्बन्ध हुने भएकाले समयमै उपचार भएन भने मानसिक रोगसमेत उत्पन्न हुन सक्ने उनले बताए । हिस्टेरिया भएपछि उचित परामर्श नहुँदा हीनताबोध हुने, डिप्रेसनमा जाने, आत्तिने आदि मानसिक रोग उत्पन्न हुन सक्ने उनको भनाइ छ ।

किशोरकिशोरीमा हिस्टेरिया के कारणले भएको हो भन्नेबारे मासहिस्टेरिया हुनुभन्दा अगाडिको तनाव पहिचान गरेर सहयोग गर्नुको विकल्प नभएको उनले बताए । हिस्टेरिया भएका बिरामीको सबैभन्दा ठूलो उपचार परिवारको साथ–सहयोग, उचित परामर्श भएको मनोविश्लेषक आचार्य बताउँछन् ।

छारे रोग र मास हिस्टेरिया एउटै होइन

मास हिस्टेरियाका कारण बेहोस भएर ढल्दा छारे रोग भनेर बेवास्ता गर्ने प्रचलन पनि देखिन्छ । मास हिस्टेरिया र छारे रोगको केहीकेही लक्षण एकै हुने भएकाले धेरैले यसलाई छारे रोगका रुपमा लिने गरेको आचार्य बताउँछन् ।

उनका अनुसार हिस्टेरियाका कारण मानिस हुलमुल भएको ठाउँमा बेहोस् भएर ढल्छ भने छारे रोग लागेको व्यक्ति जनसुकै ठाउँमा वा एक्लै हुँदा पनि बेहोस हुन सक्छ । हिस्टेरिया भएको मानिस सम्हालिएर ढल्छन् भने छारे रोग हुनेहरू एक्कासी ढल्छन् । यस्तै हिस्टेरिया भएकाले जिब्रो टोक्दैनन् भने छारे हुनेहरूले जिब्रो टोक्छन् । दुवैको रोगको आपसमा कुनै पनि सम्बन्ध नरहेको आचार्यले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.