सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

चुनावमा एमाले हारका आन्तरिक कारण

सोमबार, २३ असोज २०७४, १२ : ०७
सोमबार, २३ असोज २०७४

विगत स्थानीय तहको निर्वाचनमा एमाले पार्टीले अपेक्षाकृत जित हासिल गर्न नसकेको पार्टीले नै जनायो । अपेक्षित जित हासिल नहुने बाह्य कारण यथेष्ट देखियो । गठबन्धन सरकारले आफ्नो सम्पूर्ण शक्ति, संयन्त्र, सम्पत्ति र साधन प्रयोग गरेकाले एमालेले अपेक्षा गरेअनुसार जित हासिल नगरेको सत्य हो तर यस हारमा पार्टीको आन्तरिक कारण पनि टड्कारो रहेको देखिन्छ । एमाले पार्टी देशको सबैभन्दा ठूलो, सशक्त र सबल पार्टी हुँदाहुँदै पनि यस पार्टी सङ्गठन, नेतृत्व र मोर्चा सङ्गठनमा केही जबर्जस्त कमजोरी विद्यमान देखिन्छ । यसमा समयमै सुधार नगर्ने हो भने भोलिको चुनावको परिणाममा पनि पहिलेका कमजोरी दाहोरिन सक्छन् । 

  एमाले प्रभावशाली नेता प्रदीप नेपालले पार्टीका उपल्ला र माथिल्ला तहका नेताका गुटगत क्रियापलापका कारण स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम हात नपर्ने उद्घोष गर्नुभएको थियो । नेपालले भनेझँै एमालेका पक्षमा अपेक्षित परिणाम आएन भने यसो हुनुमा एमालेका उपल्लै तहका नेतामा रहेको गुटगत खोट नै हो । यसको स्पष्टता भर्खरै सम्पन्न पार्टीको आठौँ केन्द्रीय समितिको बैठकमा खुलस्त भयो । बैठकमा एक वरिष्ठ नेताले लवीगत दुराग्रहबस एमाले र माओवादीको एलाइन्स टुटाएर गम्भीर गल्ती गरेको फतुर आरोप ओलीलाई लगाए तर यिनको फरेबी पानीको फोका तत्काल फुट्यो । एमाले उपाध्यक्ष तथा प्रखर नेता भीम रावलले पुष्पकमल दाहालकै कारण एलाइन्स टुटेको सप्रमाण बेलिबिस्तार लगाए । अर्का केन्द्रीय सचिव भुसालले २३ पृष्ठ लामो जाली ओली–अभियोग पत्र बैठकमा पेस गरे ।

खाटा बस्न लागेको एउटै घाउ पटकपटक कोट्याएर आकासै खस्यो भनेझँै गरेर अलौना र बिलौना गर्न माहिर भुसालले पार्टी अध्यक्ष ओली पार्टीका विभिन्न निकाय र तहले आयोजना गरेका सभामा प्रमुख अतिथि भएर गएकामा समेत मूच्र्छित अभिव्यक्ति दिए । केन्द्रीय समितिमा बहुमत हुँदाहुँदै पनि सर्वसम्मतिका साथ निर्णय गर्ने ओली नेतृत्वप्रति ठाडो लाञ्छना लगाउने भुसालको भष्मासुर प्रवृत्ति स्पष्ट हुन्छ । तथापि भुसाल बेहोराको तरल असर तलतल पर्छ तर धेरै दिन यस्ता झुट र फरेबका आधारमा दीर्घकालीन राजनीति किमार्थ सम्भव हुन सक्तैन । नवौँ महाधिवेशनमा कथित गुट बचाइराख्न प्रायोजन गरिएको लवीगत स्तरहीन क्रियाकलाप पनि पराजयका कारण बनेको देखियो । नवौँ महाधिवेशनपछि पार्टी र पार्टी नेतृत्वको सरकारका सारा उपलब्धिलाई समेत खुलस्त मनले एकाध नेताले खुलस्त रूपमा खुल्ला मञ्चमा अभिव्यक्त गरेको देखिन्न । लवीगत आग्रहका कारण कतिपय एमाले स्थानीय अगुवा नेताहरू एक आपसमा मित्र जस्ता लाग्दैनन् । यसको मूल कारण माथिबाट बगेर आएको पानी र बानीको प्रभाव हो । पार्टीले सिद्धान्त सिकाउने तर संस्कार नसिकाउनाले स्थानीय नेताहरू नै जबज विपरीत जीवन शैलीका देखिन्छन् । पार्टीका स्थानीय र जिल्ला तहका नेता र कार्यकर्ताबीच अनेक खालका अन्तरविरोधले जरा गाड्दै रहेको छ । त्यसलाई साम्य पार्न स्थानीय तहको निर्वाचन समीपमा कुनै काम भएको देखिएन । धेरैजसो नगरपालिकामा एमालेले जित्ताजित्तै पनि हार खानुपरेको छ ।

मेची नगरपालिकामा हरिचरण सिवाकोटी जस्ता अनुभवी पुराना योग्य एमाले नेताले हार्ने स्थिति नै होइन तर हारियो वा हराइयो । झापा जिल्ला अध्यक्ष चिन्तन पाठकलाई सबै एक ढिक्का भएर एकल उम्मेदवारमा उठाएर षडयन्त्रपूर्वक घात गरेर हराइयो । कपटीमन जितसुकै लुकाउन खोजे पनि लुक्न सक्तो रहेनछ । गौरादह नगरपालिकामा सबै पद जित्ने तर मेयर मात्र हार्ने कारण एमाले भित्रै छ । आफ्नो क्षमताले आफैँ अग्लो हुने होइन, अरूलाई होच्याएर आफू अग्लो हुने रोग एमाले उपल्ला तहका नेतामा नै रहेपछि तलकाले त्यही सिको गर्ने नै भए । तथापि पार्टीले झापा जिल्लाको निर्वाचनमा ६७ प्रतिशत बहुमत हासिल गरेको पाइयो ।

बिन लादेन जन्माउने अमेरिकाले आखिर लादेनबाट नै आफ्नो लादी काडिएको दृश्य कपटमन एमाले नेताले सम्झिदिए मात्र हुन्छ । विराटनगर उपमहानगर पालिका वार्ड नं. १० मा प्रदेश नं. १ को पार्टीले नपत्याउने तर आम मतदाता र जनताले पत्याएका पुराना त्यागी कार्यकर्ता माधव वाग्लेले वागी उम्मेद्वार भई जित्ने अवस्था किन आइप¥यो ? वाग्लेले विगतमा त्यही वडामा सर्वस्वीकृत वार्ड अध्यक्षको आफ्नो नामसमेत फिर्ता लिएर मुरारि रेग्मीलाई अध्यक्ष पद छाडिदिएका थिए । पार्टीमा ककसको केके स्वार्थमा टिकट वितरण हुन्छ ? यसको जवाफ सम्बन्धित जिम्मेवारसित छ ? टिकट वितरणमा आर्थिक अपचलनको चर्चा बजारमा आयो । यस्ता कुरामा विशेष ध्यान दिनुपर्छ । नत्र भारतीय कम्युनिस्ट पार्टीमा यसरी नै विचलन बढ्दै गएर अपराधीकरण पार्टी र संसदीय क्षेत्रमा बलशाली भएको देखिन्छ । विगत लामो समयदेखि वैचारिक सैद्धान्तिक प्रशिक्षणका अभावमा जात, जाति, धर्म, संस्कार र जातमा अमुक थरिका बाहुनबाहुनीहरू आआफ्ना जाततिर लाग्नेसम्मको अवस्था चुनावमा देखियो । कतिपय खास जाति बहुल क्षेत्रमा कमजोर र पार्टीगत गम्भीर विचलनमा परे पनि हाम्रै जाति समुदायलाई टिकट दिनुपर्छ नदिए भन्दै दागा धर्ने र घात गर्ने काम रामधुनी नगरपालिका वार्ड नं. २ मा खुलस्त भयो ।

त्यहाँ मेयरका उम्मेद्वार नन्द बस्नेतलाई पाँच सय मत अन्तरले हराइयो । भरतपुरको माडी नगरपालिका मेयर आकांक्षीद्वय श्याम विष्ट र नारदमणि पौडेल दुवैको नाम पार्टी जिल्लाले प्रदेशमा नपठाएर षड्यन्त्र गर्यो । जिल्लाले नारदमणिको एक्लो नाम प्रदेशमा पठाइयो । तथापि विष्ट इमानदारिताका साथ चुनावमा खटिए । इटहरी उपमहानगर पालिकाका पुराना अनुभवी कार्यकर्ता गणेश खत्री मदन भण्डारी फाउन्डेसनका नगर अध्यक्ष भएकै कारण स्थानीय निर्वाचनमा पछि पारिएका छन् र मानमर्दनमा परेका छन् । इटहरीमा स्थानीय चुनावको टिकट मैले वितरण गर्ने हो तसर्थ मैले भनेअनुसार पार्टी र महिला सङ्गठनको नेतृत्व निर्माण गर्न तपाईंले सहयोग गर्नुपर्छ नत्र... भन्ने खालका आश र त्रास एमाले नेतृले दिएको पनि थाहा पाइयो । नवौँ महाधिवेशनपूर्व अध्यक्ष केपी शर्मा ओलीविरुद्ध केही जिम्मेवार नेताले नै भुइँतहमा छरेका अनकौँ भ्रम, फरेब र फतुरहरूबारे यही लेखक साक्षी रहेको छ ।

यस कारणले पनि ओलीप्रति भुइँ तहका कतिपय कार्यकर्तामा नकारात्मक सोच अलिअलि अझै विद्यमान देखिन्छ । यही चुनावका मुखमा पनि अमुक नेताको नामै तोकेर तपाईंहरू त फलाना नेताको कार्यकर्ता होइन भनेर इटहरी वार्ड नं. ४ को बैठकमा एक जिम्मेवार नेताले भनेको सेवा निवृत्त शिक्षक गुरुभक्त दाहालले यस लेखकलाई उल्लेख गरेका छन् । तथापि सचेत कार्यकर्ता धेरै दिन भ्रम र फरेबका भरमा अलमलिइरहँदैन । बिस्तारै पार्टीको आन्तरिक जीवनमा प्रायोजित गरिएका भ्रमहरू च्यातिन थालेका छन् । 

एमाले नेता र अगुवा कार्यकर्ताहरूमा देखापरेको टड्कारो दुर्गुण व्यवहारमा रहेको छ । सयौँ सिद्धान्तभन्दा एक सही व्यवहार प्रभावशाली हुन्छ । जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्ने सिद्धान्त यो दुनियाँमा कहाँ छ थाहा पाएको छैन छैन । नेपालमा जबज नामको उत्कृष्ट जनवादी तथा लोकतान्त्रिक सिद्धान्त भएको पार्टी एमाले मात्र हो । तर यतिका वर्ष जबजको स्कुलिङमा हुर्किएका भनिएका धेरैजसो एमाले नेता र अगुवा कार्यकर्ताको व्यवहार वा कार्यशैली र जीवनशैली विपरीत देखिन्छ । तिनमा अपेक्षित मिजास, मिठास, विनम्रता, फरासिलोपन, जनमैत्री तथा कार्यकर्तामैत्री जस्ता पक्षमा पर्याप्त कमजोरी देखिन्छ । यस खालका कतिपय चरित्रहरू विगत स्थानीय निर्वाचनमा देखिए । यसो हुँदा एक सही व्यवहारका कारण पनि विपक्षी पार्टीका उम्मेदवारले जित हासिल गरे । सयौँ सही सिद्धान्त कमजोर बन्यो र हार्यो । 

फेसबुकमा सीमित राजनीतिले सुनसरी एमाले अछुत छैन । वरिष्ठ हुन् वा कनिष्ठकतम वरिष्ठ यहाँका नेताहरूकै जिल्लामा लज्जाजनक हार व्यहोर्नु दुर्भाग्य हो । त्यस्ता नेताले कस्तो पार्टी, कस्तो सङ्गठन र कस्तो कार्यशैली अपनाएका रहेछन् भन्ने कुरा स्पष्ट हुन्छ । सिद्धान्तनिष्ठ नेता, कार्यकर्ता र सङ्गठन निर्माण गर्न ध्यान नदिने अमुक नेतामुखी कार्यकर्ता र पार्टी बनाउँदा यस खालको दुर्गति पटकपटक व्यहोर्नुपर्छ । चुनावका मुखमा आआफ्ना जिल्ला र क्षेत्रमा निर्वाचन केन्द्रित बहुआयामिक प्रभावकारी गतिविधि पटक्कै नगरेपछि कहाँ जित हासिल हुन्छ ? पार्टीको सारा शक्ति, क्षमता र पौरख पोख्न ध्यान दिएको देखिन्न ।

धनकुटा जिल्ला स्थानीय चुनावमा जिल्ला पार्टी अमुक लवी र लोभी मन त्यागेर एक ढिक्का हुँदा जिल्ला नै एमालेमय भएको विषय शिक्षाका रूपमा लिए हुन्छ । धनकुटा त एमाले पार्टीको धरहरा हो । धरान र इटहरी उपमहानगरले पनि पार्टीको आन्तरिक एकता मुस्किलले कायम गरे । कुनै कुनै एमाले उम्मेदरवारलाई आफ्नै पार्टीको भए पनि नितलाई भोट दिउँदिउँ नलाग्ने रहेको यही लेखकको पनि नमीठो अनुभूति छ । शक्ति, व्यक्ति र प्रतिभाको उचित रूपमा विन्यास र परिचालित गर्न सक्दा अपेक्षित जित नहुने कुरै छैन । उहिल्यै कहिले बनेको नटबल्टु खुकुलो भएको स्थानीय पार्टी समितिका आधारमा निर्वाचनमा बहुमत सोलिट भनेर मक्ख परेपछि हार अवश्यंभावी हुन्छ । बौद्धिक, प्राज्ञिक तथा वैचारिक मोर्चा सङ्गठनका अगुवाहरूले औपचारिक वा अनौपचारिक भेटघाट, चिया पसल, छरछिमेक, क्लब आदिलाई भरपुर उपयोग जनताको अगुवा समूहसित गरेर प्रत्यक्ष वा परोक्ष रूपबाट भेटेर राष्ट्रिय राजनीतिको चर्चा गर्न सकिन्छ ।

यसमा जोडेर एमाले पार्टीका सारा सकारात्मक कामको चर्चा गर्न सकिन्छ बरु एउटा टिपोटसहित एमालेका सारा सकारात्मक कामको चित्तबुझ्दो चर्चा गरेर आम सचेत जनतालाई नजिक ल्याउन सकिन्छ । यस तहका व्यक्तित्वहरूले घरदैलाका नाममा मात्र टोलछिमेकमा लखरलखर डुल्नुको खासै महत्व हुन सक्तैन, अमूल्य समय बर्बाद गर्नु हुन्न । यसपालिको स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीय सचिव योगेश भट्टराई नेतृत्वको केन्द्रीय पार्टी प्रचार विभागले निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेको थाहा भयो तथापि यसको सबै शक्ति र स्थानीय तहसमेत सिर्जनात्मक रूपमा परिचालित हुन सकेको भए प्रचार भुइँ तहमा पनि अझ प्रभावशाली हुने थियो । पार्टी मोर्चा सङ्गठनका अनेक चुनावी प्रचार प्रसार समिति गठन त भए तर तिनले जनस्तरमा पुगेर खास प्रभावकारी गरेको देखिएन ।

कतिपय एमाले नेता र कार्यकर्ताहरूलाई कतिखेर रिसाउने, कतिखेर झगडा गर्ने र कतिखेर निहुँ खोज्ने भन्ने पनि सिकाउनुपर्ने देखियो । बैरी आँगनमा आएर चाख्लास् चिन्लास्, तेरो जान्दो गर्छु भनेका बखत पनि बाँदरलेझैँ पुरानु खाटा बसेको घाउ कोट्याएर रमित देखाउनेलाई सकथेराफी गरेर नै सम्झाउनु पर्छ । प्रदेश र प्रतिनिधि निर्वाचमा पहिले झैँ अनेक षडयन्त्र, खुराफात, जालझेल गरेर एमाले उम्मेदवार हराउने एमालेहरूलाई सुधारात्मक नसिहत नदिई हुन्न । यति काम गर्न सक्दा एमालेको सारा शक्ति चुनावमा एकताबद्ध हुनेछ र आगामी निर्वाचनमा पार्टीले अपेक्षित जित अवश्य हासिल गर्नेछ । अझ निस्पक्ष र धाँधलीरहित निर्वाचन हुने हो भने त जितको पारो निक्कै माथि हुने रहेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीविशाल पोखरेल
डा. बद्रीविशाल पोखरेल
लेखकबाट थप