शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा विमानस्थल निर्माणसँगै अन्तर्राष्ट्रिय हवाइ उडानको तयारी थाल्न आग्रह

सोमबार, ०२ चैत २०७७, १२ : ४५
सोमबार, ०२ चैत २०७७

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै अन्तर्राष्ट्रिय हवाइ उडान संचालनको लागि तत्काल पहल गर्नु थाल्नुपर्ने आवाज उठेको छ । सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले सरोकारवालासँगको छलफलमा विमानस्थल निर्माण भएसँगै संचालनको लागि अन्तर्राष्ट्रिय हवाइ उडान गर्न तत्काल पहल गर्न आग्रह गरेका हुन् ।

पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएसँगै केही बाधा अड्चन आएकोले त्यसलाई सम्वन्धित निकायले समयमै समाधान गर्न पनि वत्ताहरुले माग गरेका हुन् ।

पोखरा विमानस्थल कार्यान्वयन इकाई परामर्श समितिका इन्जिनियर याम बहादुर भण्डारीले हालसम्म विमानस्थल निर्माणको कार्य अन्तर्गत भौतिक प्रगति ७२ प्रतिशत सम्पन्न भएको बताए । उनले तीव्ररूपमा निर्माण अगाडी बढाउनका लागि दैनिक ३ सय चाइनिज र ४ सय नेपाली कामदारले काम गरिरहेको बताए ।

पोखरामा ल्याण्ड फिल्ड साइडको ब्यवस्थापन, इन्दन डिपो स्थापना, रिट्टेपानी डाँडा कटान, विमानस्थलमा बर्खायाममा आउने भलपानीलाई ब्यवस्थापन गर्न, थप केही जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका केही समस्या रहेको इन्जिनियर भण्डारीले बताए ।

पोखराबाट अन्तराष्ट्रिय स्तरकै हवाई उडान हुने हुदा अब पोखरा विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नाम जोडि राख्नु नपर्ने उनको भनाई छ । वाइडबडी (ठुलो जहाज) ल्याउन धावन मार्ग भएर मात्र नहुने बताउँदै इन्जिनियर भण्डारीले अन्य भौतिक पूर्वाधार र चारै तर्फ थप जग्गा आवश्यक पर्ने बताए । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले देश संघीयतामा गएपनि केन्द्रीकृत सोचका कारण त्यसको मारमा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल समेत पर्न सक्ने आशंका व्यक्त गरे ।

उनले विमानस्थल निर्माण कार्य सम्पन्न भए पनि यसले अन्तराष्ट्रिय हवाई उडानमा केही समस्या आउन सक्ने भएकोेले त्यसको सामना गर्न सरोकारवाला पक्ष र मिडिया बढी चनाखो हुनुपर्ने बताए । पोखरा विमानस्थल निमार्ण भएसँगै अब छिमेकी मुलुक चाइना र भारत लगायतका देशका केही शहरबाट सिधा हवाई सेवा पोखरासम्म जोड्दा पोखरा क्षेत्रलाई धेरै फाइदा हुने प्रमुख भण्डारीले दाबी गरे ।

पोखरा र अन्नपूर्ण क्षेत्रमा बढी पर्यटक आउने हुदा पोखरा क्षेत्रमा अन्तराष्ट्रिय हवाइ उडान भएसँगै यसले उडान चलायमान गराउन सक्ने प्रमुख भण्डारीले दाबी गरे । उनले भने, ‘सिंगापुरमा पर्यटकको बसाई अवधि ३ दिनको हो, नेपालमा पर्यटकको बसाइ अवधि १२ दिन मानिन्छ, सिंगापुरमा एक करोड पर्यटक आउनु र नेपालमा २५ लाख पर्यटक आउनु नेपालमा २५ लाख पर्यटक आउनुले बढी फाइदा लिन सकिन्छ ।

पोखरा विमानस्थल निर्माणका एक अभियान्ता विश्व शंकर पालिखे अबको ४ महिना पछि पोखरा विमानस्थल निर्माण कम्पनीले सरकारलाई विमानस्थल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताए । उनले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेपनि विमानस्थल संचालन हुने केही आशंका रहेको गुनासो गरे ।

विमानस्थल निर्माण कार्य सकिन लागेपनि पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्नको लागि हालसम्म सरकारले खासै पहल नगरेका कारण अन्तराष्ट्रिय हवाई उडान हुन केही ढिलाई हुन सक्ने उनले बताए ।

३ हजार मिटरको धावन मार्ग हुने अपेक्षा गरेकोमा २ हजार ५ सय मिटरको मात्र बनेकोमा चिन्ता व्यक्त गर्दै पालिखेले पोखराको वरिपरि डाँडा काँडा भए पनि ३ हजार मिटरको रन वे भएमा अन्तराष्ट्रिय हवाई उडान हुन सक्ने दाबी गरे । 

नेपाल आउने सिमरा र नेपालगन्जको मात्र हवाई मार्ग भएकोले हवाई ट्राफिक जाम हुने हुँदा भारतसँगको सहकार्यमा हवाई उडान गर्दा समन्वय गर्नु पर्ने अबस्था रहेको पालिखेको भनाई छ । पोखराका पर्यटन व्यवसायी बासु त्रिपाठीले पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि त्यसलाई दिगो रुपमा संचालन गर्नका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए ।

पोखरामा करिब १० लाख पर्यटक भित्रिदै आएकोमा अन्तराष्ट्रिय विमानस्थल संचालन भएपछि बार्षिक २५ लाख पर्यटक भित्र्याउन सक्ने उनले दाबी गरे । जग्गा अधिग्रहण गर्ने बिषयमा पटक पटक स्थानीयलाई दुःख दिनु भन्दा आवश्यकताको आधारमा उचित मापदण्ड तयार गरी उनीहरुलाई व्यवस्थापन गर्नु पर्ने त्रिपाठीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप