शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नर्कको यात्रा, लुटको स्वर्ग, विलयको गठबन्धन

सोमबार, २३ असोज २०७४, ११ : २८
सोमबार, २३ असोज २०७४

यही आश्विन १७ गते एमाले र माओवादी केन्द्र तथा नयाँ शक्तिबीच पार्टी एकता र निर्वाचनमा तालमेल हुने घोषणाले बजार निकै तताएको छ  । चिया पसल, बजार र गल्लीहरूमा एकीकरणको तातो हवा निकै चलेको छ । जङ्गली भनिएको माओवादी र राजतन्त्रविरुद्धको सङ्घर्षमा ठेलागाडीबाट अमेरिका पुग्न सकिँदैन भन्ने पार्टीहरू एकाएक ३६० डिग्रीमा पुगेर पार्टी एकता गर्दैछन् ।

वास्तवमा यो कुनै अनौठो कुरा होइन । स्वभाविक प्रक्रिया हो । विचार र सिद्धान्त मिलेपछि दुईटा पार्टीको आवश्यकता थिएन नै । भन्न जे भने पनि हुन्छ । उनीहरूले अहिलेसम्म आफूलाई कम्युनिस्ट नाम राखेका छन् । तर उनीहरू वास्तविक रूपमा बामपन्थी होइनन् । माक्र्सवादको आधारभूतः सिद्धान्त वर्ग सङ्घर्ष र बल प्रयोगको नीति परित्याग गरेकाले उनीहरूलाई अब कम्युनिस्ट भन्न मिल्दैन । जुन कुरा विप्लवमा ओवादीले सार्वजनिक गरिसकेको थियो । अब क. मोहन वैद्य किरण र क. मोहनविक्रम सिंहबाट  पनि यही कुरा आएको छ– उनीहरू कम्युनिस्ट होइनन् ।  कम्युनिस्ट पार्टी छोडेर गएका बाबुराम भट्टराईको नयाँ शक्ति पनि सामेल हुने भएको छ । भोलि क्रान्ति चर्कंदै जाँदा नेपाली काङ्ग्रेससहित एउटै मोर्चा बन्ने छ । सिद्धान्त मिलेपछि यो कुनै आश्चर्यको कुरा भएन ।
   

नेपालमा दर्जनौँ पार्टी भए पनि सारमा दुई धु्रवीय विचारका पार्टीहरू छन् । संसदवादी पार्टी र जनवादी पार्टी । अथवा वैज्ञानिक समाजवादी पार्टी र सामन्त, दलाल पुँजीवादी पार्टी । जनवादी पार्टीमा पनि दुई फ्याक्सन छन् । निर्वाचनमा सहभागी र निर्वाचनलाई खारेज गर्ने पार्टी । आआफ्नो सङ्गठन, शक्ति र कार्यनीतिअनुसार बहिष्कार, सशक्त बहिष्कार, उपयोग र निर्वाचनमा भाग लिने कार्य हुन्छ । तर क्रान्ति र परिवर्तन चाहने हो भने खोलामा ढडिया थापेर हुँदैन ।

अबको नयाँ परिस्थितिमा संसदवादको मोहलाई त्यागेर क्रान्तिमा लाग्नुको विकल्प छैन । अब क्रान्तिारीहरू ध्रुवीकृत हुन जरुरी छ । क्रान्ति गर्ने बेला भएको छैन भन्दै दिन कटाउने हो भने पहिले आर्जन गरेको रातो इतिहास विलय हुन्छ । ढिलो वा चाँडो गोल चक्करवाद पनि एमालेकै लाइनमा पुग्छ । चुनावको क्रान्तिकारी उपयोग पनि परिस्थिति हेरेर गर्नुपर्छ तर जुन संविधानलाई कालो भनेर जलाइयो त्यसैलाई लागू गर्ने क्रममा उपयोगको नामले संसदवादी चुनावमा भाग लिनु भनेको त्यही संविधानमा सही धस्काएको कुरा ठहर्दछ । यो सामान्य रूपमा चुनावमा भाग लिएको नभएर ऐतिहासिक मोडमा भाग लिएको कुरा आउँछ । सुन्दर र असुन्दरबीच लडाइँ चलेको अवस्था छ । यसबेला चुनाव उपयोग भन्नु प्रतिकृयावादीले उपयोग गरेको महसुस हुन्छ ।

 उपयोग तत्कालीन कार्य नीति हो । तर यसले रणनीतिलाई कत्तिको सहयोग गरेको छ भन्ने हो । उपयोग गर्दैमा आँधीबेरीका साथ विरोध गरिहाल्नुपर्छ भन्ने पनि छैन । तर क्रान्तिमा नआएर उपयोगमा रमाउँदै बस्ने हो भने जनविश्वास गुम्ने खतरा आउँछ । आखिरीमा व्यवहारमा एमालेकरणको नतिजा आउनसक्छ । यो खास पार्टी विशेषको कुरा नभएर सबै पार्टीमा लागू हुने कुरा हो । अब जति सक्यो चाँडो क्रान्तिकारीहरू धु्रवीकृत हुनुपर्छ । सबैले कुर्सीलाई मात्र हेर्ने हो भने क्रान्ति हुँदैन । क्रान्ति पनि नगर्ने, कुर्सी पनि नछोड्ने हो भने यथास्थितिवादले समाजलाई अगाडि बढाउन सक्दैन । क्रान्तिन गर्ने बसिरहन्छन्, क्रान्ति गर्ने अगाडि बढिरहन्छन् । माक्र्सवाद एउटा विज्ञान हो । क्रान्तिलाई कसैले रोक्न सक्दैन । संसारको इतिहासले सावित गरेको छ । नेपालको महान जनयुद्धले प्रमाणित गरिसकेको छ । 

अहिले एमाले, माके र नयाँ शक्तिको गठबन्धनको असर सत्ताधारी नेपाली काङ्ग्रेसमा आएको छ । लोकतान्त्रिक शक्ति भनिने पार्टीमा शङ्का र खैलाबैला भएको छ । आश्विन १८ साँझ नै उनीहरूले काङ्ग्रेस र राजपासमेत ६ दलीय गठबन्धन तयार गरेर ७ सदस्यीय संयोजन समिति तयार गरिसकेका छन् । माकेका मन्त्रीहरूलाई हटाएर आफ्नै गठबन्धनबाट सरकार गठन गर्ने योजना उनीहरूको छ । २९७ भोट चाहिनेमा ३०० सय भोट तयार गरिसकेको उनीहरूको दाबी छ । जे होस् नयाँ गठबन्धन तयार भएको छ । क्षणिक लाभका लागि हिजोका खोटा आज नयाँ गठबन्धनका मुखिया बन्ने छन् । आसन्न चुनावको ध्यान राखेर बनेको गठबन्धन हो यो । एकीकृत पार्टीको बिधान र घोषणपत्रको दस्ताबेज समिति पनि बनाइसकेका छन् ।

तर बाम एकता पानीको फोका जस्तै हुनेछ । ६०÷४० प्रतिशत भने पनि उनीहरूको लडाइँ उम्मेदारीमा हुनेछ । सरकार गठनमा खिचातानी हुनेछ । देशले धान्नै नसकने भीमकाय मन्त्रिमण्डल बन्नेछ । छुट्टा छुट्टै पार्टी भएको अवस्थामा त खानेबेला तीन ठूलादलहरू मिलेर खान्थे भने एउटै दलको सरकार भएको अवस्थामा आफ्नै हातमा डाडुपुन्यो हुनेछ । खान पल्केका भ्रष्टहरूले बहुमत देखाएर लुटको स्वर्ग मच्चाउने छन् । पुँजीवादी पार्टीहरूका लागि एउटा सकारात्मक कुरा के छ भने गठबन्धनले बहुमतको सरकार हुने धेरै सम्भावना छ । 

जहाँसम्म बाम गठबन्धनको कुरा छ प्रथमतः उनीहरू बाम नै होइनन् । नाम मात्र हो ।  प्रचण्डले क्रमभङ्गको चमत्कार भनेको पुँजीवादमा जाने क्रमभङ्ग हो । माओवाद फाल्ने प्रपञ्चहो । प्रचण्ड शब्दको भार बिसाउने प्रपञ्च हो प्रतिक्रियावादमा विलय हुने छलाङ हो । कहिले रुखमा त कहिले सूर्यामा भोट । सत्तामा बसेर रमाउनपाए सबै पुग्छ । एमालेमा पनि सत्तामुखी चिन्तन छ । भ्रामक राष्ट्रवादी नारा छ । आईएनजीओबाट आर्जित धनराशि छ । यो गठबन्धन निर्माण हुनुको २, ३ कारण छन् । एउटा कारण त मधेशमा भएको निर्वाचनमा एमाले चौथो हुनपुग्यो । माओवादी केन्द्र धेरै ठाउँबाट ओह्रालो लाग्दै गयो । जनशक्ति पार्टीलाई पार्टी धान्न धौधौ भयो । डा. भट्टराईको शब्दमा पनि गठबन्धन हुनु आवश्यकता थियो । मुख्य कारण सबैको चासो र आवश्यकता चुनावको थियो । यस गठबन्धनमा चाइनाको पनि हात रहेको बुझिन्छ । भारतले पनि बामबाट भन्दा प्रजातान्त्रिक शक्तिबाट फाइदा लिन उचित ठान्यो । अर्को कारण भनेको नेकपा हो, जसले संसदवादीहरूलाई चुनौती दिइरहेको छ । यसको सामना गर्नु उनीहरूको बाध्यता हो । 

संसदवादीहरू एकातिर शक्ति सञ्चय गर्दैछन् ।  अर्काेतिर क्रान्तिकारीहरू पनि ध्रुवीकृत हुनुपर्ने बाध्यता छ ।  नेपालमा दुई ध्रुवीय धार छन् । एउटा संसदवादी छ भने अर्को क्रान्तिकारी धार छ । अहिले एमाले र माकेले तथा नयाँ शक्तिले नर्कको बाटो लागेर लुटको स्वर्गमा रमाउन लागिपरेका छन् । यो उनीहरूको स्वर्थको विषय हो । माकेको समूहमा पनि गोपाल किराँती, मातृका यादव, मणि थापा र प्रभु शाहले यस किसिमको गठबन्धनको विरोध जनाएका छन् । माकेको वरिष्ठ नेता कृष्णबहादुर महरा र वर्षमान पुनले पनि असुन्तुष्टी जनाएको कुरा छापामा आएका छन् । माकेका क्रान्तिकारीहरू देशको दलाल संसदीय पुँजीवादी व्यवस्थाको विरोधमा उत्रिएर क्रान्तिकारी लाइामा आउन जुर्मुराइ रहेका छन् ।

अब नर्कको बाटो होइन मजदुर, किसान, सर्वहारा वर्ग र उपेक्षित वर्गको मुक्ति र समाज रूपान्तरणका लागि देशभक्त, राष्ट्रवादी तथा विस्तारवाद र साम्राज्यवाद विरोधी शक्ति एक जुट भएर नयाँ जनवादी क्रान्तिको बाटो हुँदै वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्ति गर्ने बेला आएको छ । अहिले बेरोजगारी व्याप्त छ । दैनिक हजारौँ युवा विदेश पलायन हुनपुगेका छन् । देशको श्रम शक्ति विदेशमा खर्च भएको छ । महँगीले आकास छोएको छ । भ्रष्टाचार र कमिसनको खेल छ । लुट्नेले लुटिरहेका छन् । भोकै बस्ने भोक भोकै मरिरहेछन् । भूकम्पपीडित र बाढीपीडित खाली आकासमुनि जीवन व्यतित गरिरहेछन् । सहिद परिवार, अपाङ्ग, बेपत्ता परिवारले कष्टकर जीवन बिताइरहेछन् । यिनैको भर्याङ् बनाएर माके पुँजीवादमा रमाउन पुगिरहेको छ ।

अब आमूल परिवर्तनको खाँचो छ । यसमा सबै लेखक, कलाकार, विद्यार्थी, युवक, किसान, मजदुर, बुद्धिजीवी, महिला, जनजाति, दलित र राष्ट्रप्रेमीहरूको ठूलो भूमिका छ । सबभन्दा ठूला जनता हुन् । जनताको आँधीबेरी चले कसैको पनि केही लाग्दैन । न्याय, स्वतन्त्रता र शान्ति आजको आवश्यकता हो । जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधीनता देशको प्रमुख मुद्दा हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झपेन्द्रराज वैद्य
झपेन्द्रराज वैद्य
लेखकबाट थप